भारत प्रशासित जम्मु कस्मिरमा हिमपहिरो जाँदा चार भारतीय सेनासहित ६ जनाको मृत्यु भएको छ।
मृत्यु हुने अन्य दुई व्यक्ति भरिया भएको सेनाका अधिकारीहरुले बीबीसीलाई बताएका छन्।
६ सेना सम्मिलित टोली हिमशृङ्खलाको करिब १९,००० फिटको उचाइमा गस्ती गर्दै थिए। उनीहरुले दुई भरिया पनि लगेका थिए।
गस्तीका क्रममा सियाचिन ग्लेसियर क्षेत्रमा पहिरो गएको जनाइएको छ।
हिमपहिरोका कारण सुरुवातमा आठै जना घाइते थिए। हेलिकप्टरको टोली उनीहरुलाई उद्धार गर्न पुगेको थियो।
तर ६ जनाको हाइपोथर्मियाका कारण मृत्यु भएको हो। सियाचिन ग्लेसियर क्षेत्र विश्वको सबैभन्दा अग्लो स्थानको युद्धभूमिको रुपमा विश्वमा परिचित छ।
भारत र पाकिस्तानले त्यस क्षेत्रबाट सेना फिर्ता बोलाउन सकेका छैनन्।
सन् १९८४ देखि भारतले उक्त क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ। त्यसयता धेरै सेनाहरुको ज्यान गइसकेको छ।
सन् २०१६ को फेब्रुअरीमा पनि सोही क्षेत्रमा हिमपहिरो जाँदा १० भारतीय सेनाले ज्यान गुमाएका थिए।
Shares

प्रतिक्रिया