ad ad

समाज


महाकालीमा भारतको मनपरी, नदीको बहाव नेपालतर्फ फर्काएर धमाधम तटबन्ध निर्माण

महाकालीमा भारतको मनपरी, नदीको बहाव नेपालतर्फ फर्काएर धमाधम तटबन्ध निर्माण

गोकुल जोशी
फागुन २२, २०७८ आइतबार २१:२४, काठमाडौँ

दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नदीमा भारतीय पक्षले पक्की तटबन्ध निर्माणको कार्यलाई तीब्रता दिएको छ। नेपाली प्रशासनसँग समन्वय नै नगरेर भारतीय पक्षले एकतर्फी तरिकाले महाकालीमा पक्की तटबन्ध निर्माणको कार्य गरिरहेको हो। 

महाकाली नदीको बहाव सदरमुकाम खलंगातिर धकेलिने गरी भारतले महाकाली नगरपालिका–४ स्थित महाकाली पारी मनलाग्दी तरिकाले पक्की तटबन्ध निर्माण गरेपछि स्थानीय सशंकित भएका छन्।

नेपाली प्रशासनसँग समन्वय नै नगरी संरचना निर्माण गरिरहेको भारतले तटबन्ध निर्माणमा नेपाली भूभागतर्फबाट ढुङ्गा उत्खनन् गरेर प्रयोग गरिरहेको स्थानीय बताउँछन्। 

‘महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी भारतीय पक्षले तटबन्ध निर्माणको काम गरिरहेको छ,’ महाकाली नगरपालिका–४ का एक स्थानीयले भने, ‘त्यसमा अहिले नेपालतर्फको नदीको भूभागबाट ढुङ्गा उत्खनन् भएको छ। त्यहीँ ढुङ्गा तटबन्ध निर्माणमा प्रयोग गरिरहेका छन्।’

महाकाली नदीको बिच भागबाट ढुङ्गा संकलन गरेर भारततर्फ तटबन्ध निर्माण भइरहेको भन्दै भारतीय ज्यादती रोक्न महाकाली नगरपालिका–४ बंगाबगडका स्थानीयले प्रशासनको ध्यानाकर्षण समेत गराएका छन्। 

भारतीय पक्षले पुरानो तटबन्धसँगै महाकाली नदीमा ८ देखि १० मिटर चौडाइ र १० मिटर उचाइको तटबन्ध निर्माण गरिरहेको हो। 

तटबन्ध निर्माणसँगै झोलुङ्गे पुल क्षेत्र, बंगाबगड र डुमपानी क्षेत्रमा नदीको भाग साँघुरो हुने र महाकाली फर्किने खतरा बढेको स्थानीय बताउँछन्। 

‘महाकाली हामीतिर फर्काउने संरचना यसअघि नै बनेका छन्। वर्षातमा नदीमा पानीको बहाव बढी भएका बेला नदी हाम्रोतिर आउँछ,’  महाकाली नगरपालिका–४ का स्थानीय रामदत्त भट्टले भने, ‘अझै भारतले तटबन्ध बनाइरहेकाले यो क्रम बढ्ने जोखिम छ।’

अन्तर्राष्ट्रिय सन्धि–सम्झौता अनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाइँदैन। तर दार्चुलामा भने नेपाली पक्षलाई जानकारी नै नदिएर भारतीय पक्षले नदीको बहाव परिवर्तन हुने किसिमले आफूखुसी पक्की तटबन्ध निर्माण गरिरहेको छ।

भारतीय पक्षलाई तटबन्धका बारेमा जानकारी दिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले पटक पटक पत्राचार गरेको थियो। भारतीय पक्षले नेपाली प्रशासनलाई बेवास्ता गर्दै अहिलेसम्म तटबन्धका बारेमा जानकारी गराएको छैन।

गत माघमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले नेपाल भारतका अधिकारीहरुको बैठकमा तटबन्धको विषयमा भारतीय पक्षलाई जानकारी दिन ध्यानाकर्षण गराएका थिए।

बैठकमा तटबन्धले नेपाली भूभागतिर केही असर नगर्ने प्रतिबद्धता जनाउँदै भारतीय पक्षले केही समयभित्रै तटबन्ध बारे विस्तृत जानकारी दिने भनेको थियो। 

बैठक सम्पन्न भएको एक महिना बितिसक्दा पनि अझै पनि भारतीय पक्षले तटबन्धको बारेमा कुनै जानकारी नदिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। 

‘भारतले महाकाली नदीमा तटबन्ध निर्माण गर्दा हामीसँग समन्वय गर्नु पर्ने हो। तर समन्वय नै गरेको छैन,’ उनले भने, ‘भारतले तटबन्धको बारेमा विस्तृत जानकारी दिने भनेको भए पनि अझै दिएको छैन।’

आफूहरुसँग समन्वय नै नगरी तटबन्ध निर्माण गरिरहेको भारतले तटबन्ध निर्माणको कार्य गर्न महाकालीको पानी नेपालतर्फ फर्काएको सीडीओ उपाध्याय बताउँछन्।

‘हाम्रोतर्फ उत्खनन् गरेर ढुङ्गा लगेको देखिँदैन। तटबन्धको काम गर्न पानीलाई नेपालतर्फ पठाएको निरीक्षणका क्रममा पाइएको छ,’ उनले भने, ‘सुख्खा बनाएर काम गर्न पानी यतातिर फर्काएका छन्। यसका लागि पनि हामीसँग कुनै समन्वय भएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .