आठ लाख रुपैयाँ घुस लिएको एकवर्ष बित्दासमेत धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीमाथि कारबाही भएको छैन।
राजनीतिक पहुँच र शक्तिको आडमा गाउँपालिका अध्यक्ष क्षेत्री हालसम्म कानुनी कारबाहीबाट जोगिन सफल भएका हुन्।
क्षेत्रीले एकवर्ष अघि आजकै दिन १७ फागुन २०७८ मा गाउँपालिकाकै प्रशासनिक भवन निर्माण सम्पन्न भएबापतको भुक्तानी दिँदा सेवाग्राहीबाट ८ लाख रुपैयाँ घुस लिएको खुलेको थियो।
क्षेत्रीले घुस लिन लागेको गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलिले धनुषाको क्षिरेश्वर नाथ नगरपालिकास्थित महेन्द्रनगरबाट पछ्याएको थियो।
सो क्रममा फालेको रकम ८ लाख र सवारी चालक वीरबहादुर मगरलाई वटेश्वर गाउँपालिका ४ बाट अख्तियारले नियन्त्रणमा लिएको थियो। अख्तियारले भोलिपल्टै प्रेस विज्ञप्ती जारी गर्दै सोको जानकारी गराएको थियो।
फरार गाउँपालिका अध्यक्ष क्षेत्री पावर र पहुँचकै सहारामा तीन महिना पश्चात अख्तियरमा हाजिर भएका थिए । राजनीतिक शक्तिकै आडमा उनलाई अख्तियारले जमानतमा छाडेको थियो। पावर र पहुँचकै कारण हालसम्म अख्तियारले उनीविरुद्ध मुद्दा दायर गर्न प्रमाण नपुगेको भन्दै कारबाही अगाडी बढाउन इन्कार गर्दै आएको छ।
मुद्दा चलाउन उनको घुस मागेको अडियो कल, भिडियोसहितको प्रमाणहरु पर्याप्त रहेको अख्तियार श्रोतको भनाइ छ। ‘गापा अध्यक्ष क्षेत्रीमाथि मुद्दा चलाउन सेवाग्राहीसँग लाख घुस लिएको पर्याप्त प्रमाण छ । मुद्दा चलाएको भए उनी गाउँपालिका अध्यक्षबाट स्वतः निलम्बित हुन्थे । पहुँचकै आडमा उनीमाथि विशेष अदालतमा मुद्दा चलाइएको छैन’ स्रोतले भन्यो, ‘उनको फाइल कार्यालयमै तामेल गरिएको छ।’
सो प्रकरणको फाइल तामेल भएको विषय आफूलाई जानकारी नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। सो प्रकरणको अहिले पनि अनुसन्धान जारी रहेको बताउँदै उनले अब निष्कर्षमा पुग्ने दाबी गरे। ‘बटेश्वर गाउँपालिकाको घुस प्रकरणमा अनुसन्धान जारी नै छ । अब एउटा निष्कर्षमा पुग्ला,’ प्रवक्ता भण्डारीले भने।
‘एक वर्षसम्म निष्कर्षमा पुग्न नसक्नुको कारण के हो, मुद्दा चलाउन प्रमाण पुगेन कि?’ भन्ने जिज्ञासामा प्रवक्ता भण्डारीले भने, ‘कुनै कुनै केसको अनुसन्धानमा लामो समय लाग्छ । प्रमाण पुगिरहेको हुँदैन । एक एक प्रमाण केलाउनु पर्छ । पत्र मार्फत जवाफ माग्दा समयमा जवाफ आइरहेको हुँदैन । त्यस कारण निष्कर्षमा पुग्न समय लागेको हुन सक्छ।’
घुस काण्डमा परेका गाउँपालिका अध्यक्ष क्षेत्री तत्कालिन नेकपा एमालेको माधव नेपाल पक्षबाट टिकेट लिएर चुनाव जितेका थिए । पछि कानुनी डण्डाबाट बच्न उनी एमाले अध्यक्ष केपी शर्मा ओली पक्षमा लागेका थिए।
उनी अख्तियारमा हाजिर भएर सो बेलाका उपप्रधामन्त्री रघुवीर महासेठसँगै बटेश्वर आएका थिए । एमालेका स्थानीय नेताकार्यकर्ताले युद्ध जितेर आएको शैलीमा उनलाई भव्य स्वागत गर्दै गाउँपालिका कार्यालयमा हाजिर गराएका थिए।
उनले आफूलाई अख्तियारले फसाएको भन्दै सार्वजनिक कार्यक्रमहरुमा अभिव्यक्ति दिँदै हिँडेका छन्।
Shares

प्रतिक्रिया