ad ad

समाज


ब्रह्मदेव–टनकपुर लिंक रोडः नेपालले काम सक्नै लाग्दा भारतले अझै सुरु गरेन

ब्रह्मदेव–टनकपुर लिंक रोडः नेपालले काम सक्नै लाग्दा भारतले अझै सुरु गरेन

गोकुल जोशी
कात्तिक २८, २०७६ बिहिबार ६:४०,

भारतीय सीमावर्ती बजार टनकपुर जोड्ने कञ्चनपुरको ब्रह्मदेव लिंक रोड निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

भीमदत्त नगरपालिका–१ भाँसीदेखि ब्रह्मदेव तथा सीमावर्ती भारतीय सहर टनकपुर जोड्ने लिंक रोडको नेपाली पक्षले गर्ने काम १२.२ किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेकोे सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ। तर, भारतीय पक्षले गर्ने काम भने अझै सुरु भएको छैन।

‘लिंक रोडको काम अन्तिम चरणमा पुगेको छ। हाल दोस्रो चरणको कालोपत्रे गर्ने काम सुरु भएको छ’, सडक डिभिजन महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले नेपालखबरसँग भने, ‘यो महिनाभित्र हामी हाम्रो तिरबाट हुने काम पूरा गर्छौँ।’ उनले नेपालका तर्फबाट हुने ९७ प्रतिशत काम सकिएको दावी गरे।

हाल ब्रह्मदेव लिंक रोडमा दोस्रो चरणको कालोपत्रे गर्ने काम भइरहेको छ। पहिलो चरणमा २०७६ जेठमा सडकको बेस, सब–बेस र सामान्य कालोपत्रको काम भएपछि सडक सञ्चालनमा ल्याइएको थियो। दोस्रो चरणको कालोपत्रे अन्तर्गत हाल सडकमा गिट्टी बिछ्याउने काम सकिएको छ। महाकाली सन्धिअनुसार ब्रह्मदेव नजिक टनकपुर ब्यारेजदेखि भाँसीसम्म १३ दशमलव २ किलोमिटर सडक भारतीय पक्षले मात्र निर्माण गर्नुपर्ने हो। तर, लामो समयसम्म भारतीय पक्षले चासो नदिएपछि आर्थिक वर्ष २०७३-०७४ देखि निर्माण सुरु गरेर नेपाली पक्षले १२.२ किलोमिटर सडक निर्माण गरेको छ। टनकपुर ब्यारेजदेखि नेपाली सीमासम्मको १.५ किलोमिटर सडक निर्माणको काम भारतीय पक्षले अझै सुरु गरेको छैन।

आर्थिक वर्ष २०७३-०७४ देखि निर्माण सुरु भएको यो रोड निर्माणको जिम्मा लामा राजेन्द्र जेभीले पाएको थियो। संघीय सरकारको २३ करोड ६७ लाख ४९ हजार (भ्याटसहित) को लगानीमा सडक निर्माण भएको हो। भाँसी–ब्रह्मदेव–टनकपुर जोड्ने लिंक रोडअन्तर्गत कानीकाटे–१, कानिकाटे–२, र तिलाचौर–तिलकेनी क्षेत्रमा गरी तीन वटा ठूला पुल निर्माण भएका छन्।

काममा ढिलाइ
आर्थिक वर्ष २०७५-०७६ को भदौ ८ गतेसम्म लिंक रोड निर्माण सम्पन्न गर्नुपर्ने म्याद हो। सो समयमा सडक निर्माणको काम विविध कारणले प्रभावित भएपछि नेपाली पक्षले निर्माण गर्ने काम समेत केही समय ढिला भएको सडक डिभिजन महेन्द्रनगरले जनाएको छ।

‘बन्द हडताल, चुनाव, बिरोध लगायतका विभिन्न कारणले सडक निर्माणको काम केही समय प्रभावित भयो, भदौ ८ गतेसम्म काम सक्नुपर्ने म्याद हो’, सूचना अधिकारी जोशीले भने, ‘म्याद थपका लागि निवेदन आएको छ। काम प्रभावित भएको प्रमाण पेस भएपछि म्याद थप हुन्छ।’

नेपाली पक्ष जुट्यो
यस क्षेत्रको समृद्धिसँग जोडिएको भीमदत्त नगरपालिकाको यो रोडको प्रमुख उद्देश्य भारतीय सीमावर्ती सहर टनकपुरलाई ब्रह्मदेव, भाँसी तथा महेन्द्रनगरसँग जोड्नु हो।

हाल यो रोडको भाँसीदेखि १२.२ किलोमिटर नेपाली पक्षले निर्माण सम्पन्न गरेको छ। ‘सो सडकले हालसम्म पनि ब्रह्मदेव जोड्न सकेको छैन। १२.२ किलोमिटर सडक दशगजा क्षेत्रसम्म मात्र पुगेको छ। त्यहाँबाट १.५ किलोमिटर भारतले बनाउने पर्ने हो’, जोशीले भने, ‘ब्रह्मदेवसम्म जोड्न नसके उक्त सडक बनेको कुनै औचित्य नै छैन।’

भारतले निर्माण गर्नु पर्ने सडकमध्येको दशगजा क्षेत्र हुँदै ब्रह्मदेव जोड्ने १.५ किलोमिटर सडक निर्माणमा मौन रहँदा नेपाली पक्षनै उक्त सडक निर्माणमा जुटेको हो। ब्रह्मदेव–टनकपुर जोड्नका लागि बनाइएको सडकले ब्रह्मदेवलाई पनि जोड्न नसकेपछि नेपाली भूमिबाट नै घुमाएर ब्रह्मदेवसम्म लिंक रोड जोडिने तयारी भइरहेको सडक डिभिजन महेन्द्रनगरले जनाएको छ। त्यसका लागि आठ करोड ६५ लाख बजेट समेत आएको छ। यद्यपी ब्रह्मदेवदेखि टनकपुर ब्यारेज जोड्ने सडकमा नेपाली पक्षलाई भारतले सडक निर्माण अवरोध सृजना गर्दै आएको छ। भारतले भने दशगजा क्षेत्रसम्म नै सडक निर्माण गरेको छ।

५० किलोमिटर सडक कालोपत्रे
कञ्चनपुर–कैलालीमा एक वर्षको अवधिमा झण्डै ५० किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भएको छ। सडक डिभिजन महेन्द्रनगरका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा ४८.५ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ। ‘कञ्चनपुर र कैलालीमा हामी काम गछौँ, गत वर्ष कञ्चनपुर र कैलालीमा गरी ४८.५ किलोमिटर सडकमा कालोपत्रे गरिएको छ’ सूचना अधिकारी जोशीले भने।

यस्तै तराई–मधेश सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत कञ्चनपुर र कैलालीमा ३७ किलोमिटर सडकमा कालोपत्रे गरिएको छ। तराई–मधेश सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत ५४ करोडको लागतमा सडक कालोपत्र गरिएको हो। चालु आर्थिक वर्ष २०७६÷०७७ मा पूर्व–पश्चिम महेन्द्र राजमार्गको गड्डाचौकी–भाँसी सडक खण्डमा रि–सिलिङ (कालोपत्रेमाथि अर्को कालोपत्रे) गर्ने काम सुरु हुने सूचना अधिकारी जोशीले बताए। ‘यस वर्ष त्यस्तो ठूलो कालोपत्रे गर्ने योजना छैन। फाटफुट कहीँ कतै कालोपत्रे हुने बाँकी रहेको हुनसक्छ। पूर्व पश्चिम राजमार्गमा रि–सिलिङ गरिन्छ’, उनले भने।

प्रत्येक ४÷५ वर्षमा पूर्व–पश्चिम महेन्द्र राजमार्गमा रि–सिलिङ गर्ने गरिन्छ। यस्तै बेदकोट नगरपालिकाको कार्यालयदेखि महेन्द्रनगरको शिव मन्दिरसम्म सडकको अतिक्रमण हटाएर सडक फराकिलो बनाउने योजना छ। अहिलेसम्म महेन्द्र राजमार्गको गड्डाचौकीदेखि भाँसीसम्मकोे सडक अतिक्रमण भने हटाइएको छ।

सो सडकखण्डलाई फराकिलो बनाइनुका साथै ग्राभेलिङ गर्ने काम तत्काल सुरु हुने सूचना अधिकारी जोशीको कथन छ। त्यसका लागि २ करोड बजेट रहेको छ। ‘महेन्द्र राजमार्गको बेदकोट नगरपालिकाको कार्यालयदेखि शिव मन्दिरसम्म सडक फराकिलो बनाउनुदेखि ग्राभेलिङ गरिने छ’, उनले भने, ‘तर त्यसका लागि ठेक्का भएको छैन। तत्काल नै ठेक्काको काम भएर काम सुरु हुन्छ।’ ठेक्का दिने आशयको सूचना आह्वान गरिएपछि झण्डै १५ वटा फर्म आएको उनले बताए। मूल्याङ्कनका आधारमा तीमध्ये एउटा फर्मले ठेक्का प्राप्त गर्नेछ।

यस्तै कञ्चनपुरको पर्यटकीय क्षेत्र झिलमिला ताललाई सडक सञ्जालमा जोड्नका लागि चालु आर्थिक वर्ष २०७६÷०७७ मा एक करोडको लागतमा सात सय मिटर सडक कालोपत्रे गरिने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .