समाज


महानगरको ‘पिक एन्ड ड्रप’ कार्यक्रम भएन प्रभावकारी

महानगरको  ‘पिक एन्ड ड्रप’ कार्यक्रम भएन प्रभावकारी

शर्मिला पाठक
कात्तिक २७, २०७६ बुधबार ५:५०,

काठमाडौँ महानगरपालिकाले टुँडिखेल आसपास क्षेत्रमा सुरु गरेको सार्वजनिक सवारी साधनले यात्रु कुरेर बस्न नपाउने ‘पिक एँड ड्रप’ कार्यक्रमको प्रभावकारिता न्यून देखिएको छ।

काठमाडौँ महानगरपालिकाले गत पुस १ गतेदेखि टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, शहीदगेट, आरएनएसी र जमलमा सुरु गरेको उक्त कार्यक्रमको प्रभावकारिता अत्यन्तै न्यून देखिएको हो।

कार्यक्रम सुरु भएको एक वर्ष बित्नै लाग्दा सवारी चालकहरु ट्राफिक प्रहरीका आँखा छली सवारी साधन रोकी यात्रु कुर्ने प्रवृत्तिमा कमी हुन सकेको छैन। जसका कारण जामको समस्या ज्यूँका त्यूँ देखिन्छ। आफ्नो गन्तव्यमा पुग्न लामो समयसम्म कुरेर बस्नुपर्दा यात्रुलाई पनि सास्ती र चालकले पनि लामो समय एकै स्थानमा बिताउँदा ट्राफिक जामसँगै समयको बर्बाद हुने हुँदा कामपाले यस किसिमको व्यवस्था गरेको थियो।

‘पिक एन्ड ड्रप’ कार्यक्रमले जामको समस्या कम भएको छ। यसको पूर्णरूपमा कार्यान्वयन हुनका लागि समय लाग्ने कामपाको प्रवक्ता ईश्वरमान डंगोल बताउछन्। काठमाडौँको मुटु मानिने यस क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु कुरेर लामो समयसम्म बस्दा सवारीको पर्खाइमा बसेका यात्रु, पैदलयात्रु र वातावरणसमेत प्रदूषित हुने भएकाले यस किसिमको व्यवस्था गरिएको डंगोलको भनाइ छ।

कार्यक्रम लागू भएपछि त्रिपुरेश्वरदेखि सुन्धारा, रत्नपार्क, भोटाहिटीलगायतका स्थानमा सवारी जाम कम भएको पनि प्रवक्ता डंगोलको दाबी छ। नियमको पालना नगर्ने चालक वा सहचालकलाई कारवाही गर्ने जनाए पनि उनीहरूले इमान्दारीपूर्वक पालना गरेकाले अहिलेसम्म कोही पनि कारवाहीमा नपरेको पनि महानगरले बताएको छ।

काठमाडौँ उपत्यकाभित्रै सञ्चालन हुने लामो तथा छोटो दूरीको सवारी साधन यी स्थानमा लामबद्ध हुँदा पैदलयात्रुलाई समेत समस्या भएको यात्रुको गुनासो छ। यात्रु हिँड्ने स्थानहरुमा पनि सवारी नै रोकेर राखेको हुन्छ। कार्यक्रम सुरुवातीको चरणमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो व्यवस्था काठमाडौँ उपत्यकाको अन्य स्थानमा पनि लागू गर्ने जनाए पनि शुरु गरेको स्थानहरुमा समेत प्रभाकारी कार्यान्वयन हुन नसक्दा यसतर्फ ध्यान जानसकेको छैन।

काठमाडौँमा कल.की, बालाजुचोक, चावहिल चोक, कोटेश्वर सातदोबाटो, माइतीघर थापाथलीलगायतका स्थानमा आवतजावत गर्दा नागरिकले जामको समस्या भोग्नु नौलो होइन। हरेक दिन घण्टौँ जाम खेपेर नागरिक आफ्नो कामकाज धान्न बाध्य भएका छन्। त्यति मात्रै कहाँ हो र धेरै स्थानमा पैदलयात्रुका लागि बाटो काट्न आकाशे पुल छैनन् भने भएका जेब्राक्रसिङ पनि स्पष्ट देखिँदैन।

गत साउनमै कामपाले आठ स्थानमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने तयारी गरे पनि उक्त कार्यले अहिलेसम्म गति लिनसकेको छैन। कामपाभित्र करीब एक हजार ४५० किलोमिटर पक्की सडक छ। कामपालाई आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्ने अधिकार छ। त्यसभन्दा माथिका सडकमा काम गर्न सडक विभागसँग सहकार्य गरेर काम गर्नुपर्दछ।

कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ। कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad