ad ad

समाज


पत्रकारलाई अवार्डका नाममा व्यापार : बहिष्कारसँगै विवादमा महासंघ

ड्रिम हाइ प्रमुख भन्छन्ः होटल सोल्टीमा गर्न लागेको अवार्ड पत्रकारलाई पचेन, चल्लाहरुको बहिष्कारले केही हुँदैन
पत्रकारलाई अवार्डका नाममा व्यापार : बहिष्कारसँगै विवादमा महासंघ

नेपालखबर
पुस २३, २०७८ शुक्रबार १५:५४, काठमाडौँ

पत्रकारका नाममा पहिलो पटक वितरण गर्न लागिएको अवार्ड विवादमा परेको छ। ड्रिम हाइ नेपाल नामक संस्थाले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा वितरण गर्न लागेको भनिएको अवार्डमाथि पत्रकारहरुले नै प्रश्न उठाएका छन्। आयोजक संस्थासँगै नेपाल पत्रकार महासंघसमेत विवादमा तानिएको छ।

महासंघ अध्यक्ष विपुल पोखरेलले सो संस्था सहकार्य गर्ने बचन दिए पनि महासचिवसहित अन्य सदस्यले भने आपत्ति जनाएका छन्। 

‘पत्रकारिता हाम्रो सान, अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ भन्दै आगामी शनिबार ‘एलआईसी नेपाल मिडिया अवार्ड २०७८’ वितरण कार्यक्रम आयोजकले तय गरेको छ।

आयोजकले पत्रकारहरुलाई नै प्रोत्साहित गर्न कार्यक्रम राखिएको बताए पनि पत्रकारहरुले भने सो संस्थाले कमाउने धन्दा गरेको बताएका छन्। 

लाइफ इन्स्योरेन्स कम्पनी मुख्य प्रायोजक रहेको अवार्डको सह–प्रयोजक ब्लु चिप इन्भेस्टमेन्ट नामक दुबईको कम्पनी छ। यस्तै अवार्डका लागि भन्दै नेपालका केही संस्था र सरकारी कार्यालयबाट समेत आयोजकले रकम उठाएको पाइएको छ।

मुख्य गरी ७ वटा कम्पनीले आर्थिक सहयोग गरेको आयोजक ड्रिम हाइ नेपाल नामक संस्थाका प्रमुख कमल जिसीले बताए। यसअघि यो कम्पनीले कलाकारहरुलाई समेत अवार्ड दिएको उनले बताए। त्यतिबेला पनि सो कम्पनी विवादमा परेको थियो। 

पत्रकार महासंघ विवादमा 
यही अवार्डका कारण नेपाल पत्रकार महासंघ समेत विवादमा तानिएको छ। महासंघले तीन लाख रुपैयाँ लिएर सहकार्य गरेको खुलेपछि सदस्यहरुले असन्तुष्टि जनाएका छन्। 

महासचिव रोशन पुरी झण्डै दुई महिनादेखि काठमाडौंबाहिर भए पनि उनको समेत हस्ताक्षर दुरुपयोग गरेर महासंघले ड्रिम हाइसँग सम्झौता गरेको बताइएको छ। यस विषयमा आफूले पनि सुनेको तर स्पष्ट बुझ्न बाँकी रहेको पुरीले बताए। 

‘महासंघको संस्थागत निर्णय जे हुन्छ त्यो अध्यक्षले पनि पालना गर्नुपर्छ। अरुले पनि पालना गर्नुपर्छ। कतिपय कुरा व्यक्तिगत हुनसक्छन्। तर, अध्यक्षले महासंघको लोगो प्रयोग गर्न दिएको जस्तो मलाई लाग्दैन। यो हुँदैन पनि,’ महासचिव पुरीले भने, ‘महासंघका नाममा आर्थिक सहयोग उठाउने कुरा गलत हो। यो महासंघको संस्थागत निर्णय होइन। यसबारे ३० गते बस्ने बैठकमा छलफल हुन्छ नै।’

महासंघका केन्द्रीय सदस्य मणि दाहालले पनि यस विषयमा अब बस्ने बैठकमा छलफल हुने बताए। 

‘अपारदर्शी अवार्डमा महासंघको लोगो प्रयोग गर्न दिइएको हो कि होइन? हो भने के उदेश्यले दिइएको छ बैठकमा कुरा उठाउँछौँ,’ दाहालले भने। 

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कलाकारलाई अवार्ड दिएजस्तै पत्रकारलाई पनि अवार्ड दिन्छौँ भनेकाले अगाडि बढ्न अनुमति दिएको स्वीकार गरे। 

‘यसले विभिन्न इभेन्ट गरिरहन्थ्यो। कलाकारलाई अवार्ड दिएजस्तै पत्रकारलाई गर्छौँ भनेर कन्सेप्ट ल्यायो। गर्छौ भने गर हाम्रो आपत्ति हुन्न अगाडि बढ भनेको हो,’ पोखरेलले भने, ‘हामीले आर्थिक भार नबेहोर्ने र छनोट समिति बनाएर पारदर्शी गर्ने कुरा राखेका थियौँ।’

आयोजकले महासंघको कोषमा सहयोग गर्ने अध्यक्ष पोखरेलले बताए। आयोजक संस्थाका प्रमुख जिसीले पत्रकार महासंघलाई एक लाख रुपैयाँ दिइसकेको बताए। 

‘मैले पत्रकार महासंघको कोषमा तीन लाख रुपैयाँ राखिदिन्छु भनेको छु। एकलाख दिइसकेँ, अब दुई लाख राख्दिँदैछु। दुःख परेका पत्रकारलाई सहयोग होस् भनेर राखिदिएको हो,’ जिसीले नेपालखबरसँग भने। 

मनोनयनमा परेका पत्रकारले नै गरे बहिष्कार
अवार्ड अपारदर्शी भएको भन्दै त्यसमा मनोनित पत्रकारहरुले नै बहिष्कार गरेका छन्। आयोजकले हरेक विधामा ५ जनाका दरले मनोनयनमा परेका पत्रकारको सूची सार्वजनिक गरेको थियो। तर सूची आएलगत्तै केही पत्रकारले अवार्डमा सहभागी नहुने जानकारी गराएका हुन्। 

आर्थिक पत्रकार समाज सेजनका अध्यक्ष जनार्दन बराल, रवि मिश्र, यम बम र शिल्पा कर्णले संयुक्त रुपमा सूचना जारी गर्दै अवार्ड बहिष्कार गरेका छन्। 

‘कसले दिने, को को निर्णायकले कुन आधारमा छनोट गर्ने केही टुंगो नभएको यस किसिमको अवार्डमा सहभागी नहुने जानकारी गराउँछौँ,’ उनीहरुको सूचनामा भनिएको छ, ‘नेपाल पत्रकार महासंघको समेत नाम जोडिएको यस्तो अवार्ड आयोजना गर्दा अवार्ड तथा छनोट मापदण्डबारे अग्रिम जानकारी गराउने कर्तव्य पनि पुरा नगराई नाम सार्वजनिक गरेकोमा हाम्रो आपत्ति छ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मणि दाहालसहित ९ जनाले पनि यो अवार्डमा सहभागी नहुने बताएका छन्। मनोनयनमा परेका पत्रकारहरू कृष्ण आचार्य, जनकराज सापकोटा, अर्जुन पौडेल, अविन श्रेष्ठ, प्रकाशचन्द्र तिमिल्सेना, अंगद ढकाल, रिना मोक्तान र सुरज राजथलाले अवार्डमा सहभागी नहुने बताएका हुन्। 

‘कुनकुन समाचार, कस्तो निर्णायक समिति र के मापदण्डका आधारमा नोमिनेसन तयार पारेको हो भन्ने स्पष्ट नभएकाले हाम्रो नाम राख्नुहुन सम्बन्धित सबैलाई आग्रह गर्दछौँ। यस्तो अपारदर्शी इभेन्टमा हाम्रो नाम समावेश भए सहमति नरहने पनि स्पष्ट पार्दछौँ,’ उनीहरुले उल्लेख गरेका छन्। 

यस्तै अरु केही पत्रकारले पनि सामाजिक सञ्जालमार्फत अवार्ड बहिष्कारको घोषणा गरेका छन्। 

सेजनका अध्यक्ष बरालले अपारदर्शी भएकाले अवार्डमा सहभागी नहुने निर्णय गरेको बताए।

‘हामी पत्रकारितामा पारदर्शिताको कुरा गर्छौं। यो कसले दिने, के आधारमा दिने, थाहा नभएको पुरस्कार हामीले लिनु उचित होइन,’ बरालले भने।

दाहालले पनि आयोजक र छनोट प्रक्रियामाथि प्रश्न उठाए। 

‘जुन तरिकाले पुरस्कार दिने भनिएको छ, यो गलत छ। पत्रकारको मूल्यांकन गर्ने भनेको पाठकले हो। नोमिनेशन गर्ने बेलामा कुन तरिकाले गरियो? के मापदण्डका आधारमा छानियो? मैले लेखेको समाचारका आधारमा हो कि? समाचार हो भने कुन समाचारले हो? यो बाहेक अरु कारण भए के हो त खुलाउनु पर्यो नि,’ उनले भने, ‘अरु अवार्ड गर्नु र मिडिया अवार्ड गर्नु फरक कुरा हो। प्रायोजकहरू पनि विवादास्पद छन्।’

आयोजकले २० विधामा अवार्ड दिने जनाएको छ। लाइफटाइम एचिभमेन्ट अवार्ड दिन लागिएका वरिष्ठ पत्रकार किशोर नेपालले सम्मान गर्नु राम्रो कुरा भएको बताए। तर, यो विवादबारे जानकारी नभएको भन्दै उनले यस्ता कार्यक्रम पत्रकार आचारसंहिताअनुसार गर्नु राम्रो हुने सुझाव दिए।

जिसीले भने मनोनयनको सूची सार्वजनिक गर्दा केहीसँग अनुमति लिए पनि कतिपयसँग नलिइएको बताए। कतिपयले अवार्ड वितरण गर्न लागिएकोमा खुसी व्यक्त गरेको र कतिपयले असन्तुष्टि जनाएको उनले सुनाए। 

आयोजकका तर्फबाट कमजोरी भएको उनले स्वीकार गरे। तैपनि अवार्ड गरेरै छाड्ने भन्दै उनले ‘चल्ला’ पत्रकारले बहिष्कार गर्दैमा आफूलाई केही फरक नपर्ने पनि बताए।

‘दुई जना भए पनि अवार्ड त गर्नु पर्यो। कमाउँछु नै भन्ने हिसाबले गरेको भए त चार जनालाई बोलाएर पनि गर्न सक्थेँ नि,’ बिहीबार साँझ उनले नेपालखबरसँग भने, ‘भैरव रिसाल, नीर शाह, किशोर नेपालहरुले स्वीकार गर्दै हुनुहुन्छ। उहाँहरूकै चल्लाहरूले बहिष्कार गरेर केही फरक पर्दैन मलाई।’

अवार्ड लिनेहरू कसरी छान्नु हुन्छ? भन्ने प्रश्नमा जिसीले भने, ‘हामी हाम्रो जुरीहरुसँग मिलेर हाम्रै तरिकाले छान्छौँ। भाग्ने भागिहाले, लिनेहरूलाई सोध्छौँ, उहाँहरुलाई लिन मन छ आउनुहुन्छ, मन नलागे आउनुहुन्न।’

पत्रकार अवार्डका नाममा रकम उठाउँदै ड्रिम हाइ
पत्रकारलाई अवार्ड दिने नाममा ड्रिम हाइ नामक संस्थाले रकम असुलिरहेको पाइएको छ। अवार्ड वितरण गर्दा करिब ५५ लाख रुपैयाँ खर्च लाग्ने संयोजक जिसीले बताए। 

उनका अनुसार यसअघि बढी रकमको अनुमान गरिए पनि अहिले लागत घटाइएको छ। सो रकम जम्मा गर्न विभिन्न कम्पनी र सरकारी कार्यालयबाट सहयोग उठाइरहेको उनले बताए।

मुख्यगरी ७ वटा कम्पनीले अवार्ड वितरणमा आर्थिक सहयोग गरेको जिसीले बताए। एलआईसी नेपाल, ब्लु चिप, बराह ज्वेलरी, होटल हिल्टन, आईएमई, कोकाकोला लगायत कम्पनीको सहयोग छ। 

आयोजकले पत्रकार अवार्डका नाममा बूढानीलकण्ठ, कागेश्वरी, टोखा, चन्द्रागिरि, गोकर्णेश्वर, चाँगुनारायण नगरपालिकाबाट समेत सहयोग उठाएको छ। तर कहाँबाट कति सहयोग लिएको भन्ने खुलिसकेको छैन। 

यीबाहेक धेरै संघसंस्थाले आर्थिक बाहेकको सहयोग पनि गरेको जिसीले बताए। 

लाइफटाइम अचिभमेन्ट अवार्डमा १ लाख ५५ हजार खर्च हुने जिसीले बताए। पाँच जनामध्ये एक जनालाई पुरस्कृत गर्ने र बाँकी चार जनालाई प्रमाण पत्र दिने उनले बताए। 

विज्ञापनदाताहरुलाई अत्याउने, तर्साउने प्रयास भइरहेको बताउँदै उनले बहिष्कार गर्नेलाई सोल्टी होटलमा स्ट्यान्डर्ड तरिकाले वितरण गर्न लागेको अवार्ड नपचेको आरोप पनि लगाए। 

प्रमुख अतिथि नै नजाने
आयोजकले अवार्ड वितरणको प्रमुख अतिथि भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पोस्टर सार्वजनिक गरेको थियो। तर अवार्ड विवादमा परेपछि प्रचण्ड अवार्ड वितरण कार्यक्रममा नजाने भएका छन्। 

उनको सचिवालयले बिहीबार साँझ कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी गराइसकेको बताएको छ। 

‘यस्तो विवादित कार्यक्रममा प्रचण्ड सहभागी हुनुहुन्न। अहिले साँझ हामीले म्यासेज गरिसकेका छौँ,’ उनको सचिवालयले नेपालखबरलाई जानकारी दियो। 

अवार्डमाथि प्रश्न उठाउँदै पत्रकारहरुले नै बहिष्कार गरेपछि प्रचण्ड पनि सहभागी नहुने भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .