ad ad

समाज


कोरोनाको तेस्रो लहर : भारत फेरि महामारीतर्फ, नेपालमा कस्तो छ तयारी?

स्थलमार्गबाट आउनेमा भेटिँदैछ संक्रमण
कोरोनाको तेस्रो लहर : भारत फेरि महामारीतर्फ, नेपालमा कस्तो छ तयारी?

फाइल तस्बिर


यज्ञराज जोशी
पुस २२, २०७८ बिहिबार १७:३१, काठमाडौँ

पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीबाट भित्रिएकामध्ये मंगलबारमात्रै १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयो। 

त्यसबाहेक पश्चिमकै अर्को शहर धनगढीसँग जोडिएको त्रिनगर हुँदै नेपाल भित्रिएकामध्ये १६ जनाको नतिजा पोजेटिभ आयो।  

मंगलबार भारतबाट गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएका यात्रुको संख्या ४८२ थियो। त्रिनगर हुँदै नेपाल फर्किएका यात्रुको संख्या ३०९ थियो। 

अर्को दिन बुधबार सुदूरपश्चिम प्रदेशमा ५५ मा कोरोना पुष्टि भयो। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार तीमध्ये अधिकांश भारतबाट भित्रिएका नागरिक छन्। 

पछिल्लो समय भारतमा कोरोनाभाइरस संक्रमण गति तीव्र बनेसँगै त्यहाँबाट नेपाल भित्रिनेहरुमा पनि संक्रमण देखिने क्रम बढ्दो छ। 

कोभिडको तेस्रो लहर तीव्र गतिमा फैलिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ। 

देउवा यही पुस २५ गते भारत जाने तयारी थिए। देउवा सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात सम्मेलन पनि स्थगित भएको छ। 

ह्वात्तै बढ्यो 

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो आठ दिनमा त्यहाँ ६.३ प्रतिशत कोरोनाभाइरस संक्रमित थपिएका छन। ०.७९ प्रतिशत रहेको त्यहाँको संक्रमणदर डिसेम्बर २९ देखि जनवरी ५ सम्म ह्वात्तै बढेर ५.०३ प्रतिशत पुगेको छ। 

नेपालको प्रदेश १ मा बुधबार २१ जना देखिएका संक्रमितहरु अधिकांश भारतबाट भित्रिएको पाइएपछि मुख्यमन्त्री राजेन्द्रकुमार राईले कोरोनाको तेस्रो लहर फैलनसक्ने भन्दै सम्बन्धित निकायसँग छलफल गरेर सचेतना अपनाउन निर्देशन दिएका छन। 

प्रदेश सरकारले बुधबार कोभिड–१९ को तेस्रो लहरको वृद्धि, रोकथाम, नियन्त्रण र सम्पूर्ण व्यवस्थापन सम्बन्धमा आयोजित छलफल एवम् सुझाव सङ्कलन कार्यक्रममा उनले तेस्रो लहर नियन्त्रण गर्न बेलैमा तयारीका लागि सर्तक रहन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

‘छिमेकी मुलुकमा ओमिक्रोन तीव्र गतिमा फैलिएकाले खुला सीमाको आवश्यक अनुगमनका साथै स्वास्थ्य जाँचलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्छ,’ उनले भने, ‘सम्बन्धित मन्त्रालयले कोरोना नियन्त्रणका लागि आवश्यक योजना बनाउन निर्देशन दिएको छु।’

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो साता नेपालमा ४९ हजार ५९५ को पीसीआर परीक्षण भएकोमा एक हजार ८७९ जनामा संक्रमण पुष्टि भएको छ। हाल नेपालमा ३.८ प्रतिशत संक्रमणदर छ। जुन अघिल्लो साताभन्दा ०.९ प्रतिशत बढी हो। 

पछिल्लो एक सातामा संक्रमित संख्या समेत दोब्बर बढेका छन्। पुस १४ गते २२० जना संक्रमित भेटिएको नेपालमा बुधबार ४३५ जनामा संक्रमण भेटिएको छ। 

गतवर्ष भारतमा संक्रमण देखिएको एक महिनापछि नेपालले पनि त्यही ट्रेन्ड पछ्याएको थियो। उक्त आधारमा हेर्दा नेपालले सचेतना अपनाउने बेला आएको इपिडियोमोलोजिस्ट (महामारी विज्ञ) डा. अर्चना श्रेष्ठ बताउँछिन्। 

‘ओमिक्रोन प्रभावका कारण पछिल्लो हप्ता भारतमा संक्रमणदर तीव्र बनेको छ। खुला सिमानाबाट निर्वाध ओहोरदोहोरका कारण भारतको प्रभाव नेपाल पर्छ नै,’ महामारी विज्ञ डा. श्रेष्ठले भनिन्, ‘गतवर्ष कोरोना महामारीमा नेपालमा भारतभन्दा एक महिना पछि प्रभाव परेको थियो। त्यही तथ्यलाई आधार मानेर अघि बढ्ने हो भने नेपालले सम्भावित जोखिमको तयारी थाल्नुपर्ने बेला भइसकेको छ।’

मन्त्रालय नै भन्छ : बढ्दैछ

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्राले भारतमा संक्रमण बढ्दै जानु, खुला सिमाना, जनस्वास्थ्यका मापदण्ड पालना नगर्नु तथा ओमिक्रोन भेरियन्टका कारण संक्रमणदर बढ्दै गएको बताइन्। 

‘भारतमा संक्रमित बढ्दै गएपछि त्यसको प्रभाव नेपालमा पनि पर्ने विगतको अनुभव छ। अहिले पनि भारतबाट आउनेमा संक्रमण देखिएको छ,’ मिश्राले नेपालखबरसँग भनिन्, ‘हामी सबै सतर्क भएर जनस्वास्थ्यका मापदण्ड कडाइसाथ पालना गर्नुपर्ने देखिन्छ।’

ओमिक्रन भाइरस भारतमा तीव्रगतिमा फैलिएकाले नेपालमा पनि संक्रमणदर बढेको हुनसक्ने मिश्राले बताइन्। 

‘छिमेकी मुलुकसँगै विश्वमै अन्य भेरियन्टको तुलनामा ओमिक्रोन संक्रमण तीव्ररूपमा फैलिएको छ। अस्पतालहरू भरिँदै गएका छन्,’ उनले भनिन्, ‘स्वास्थ्यकर्मी र अन्य बिरामी पनि बढ्दै गएका छन। त्यसले स्वास्थ्य प्रणाली दबाबमा पर्छ। यसले दीर्घरोगी र रोगप्रतिरोधी क्षमता कम भएकालाई अफ्ठ्यारो पार्छ।’ 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सुझावअनुसार संक्रमणको अवस्था पत्ता लगाउँदै रोकथाम र नियन्त्रणका उपायका लागि हप्तामा कम्तिमा प्रतिहजारमा एउटा न्यूनतम पीसीआर परीक्षण गर्नुपर्छ। नेपालमा न्यूनतम परीक्षणले उक्त मापदण्ड भेट्टाए पनि केही प्रदेशमा बढाउनुपर्ने उनले बताइन्। 

‘न्यूनतम् सिफारिस अनुसार परीक्षणको लक्ष्य हासिल गरेमा मात्रै सबै जनसंख्यालाई निगरानीको दायरामा ल्याउन सकिन्छ। त्यसो भए संक्रमण चक्र तोड्न मद्दत गर्छ,’ उनले भनिन्, ‘मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ, नाकाहरुमा परीक्षण वृद्धि र सामुदायिक निगरानी बढाउनेतर्फ कदम चालिरहेको छ।’ 

प्रवक्ता डा. मिश्रका अनुसार खोपको उपलब्धता सुनिश्चित गर्ने, प्रवेश नाकामा जाँचको वृद्धि गर्ने, क्वारेन्टिनको व्यवस्थापन गर्ने, अक्सिजन, आइसीयू, भेन्टिलेटर, स्वास्थ्यकर्मीको उपलब्धता सुनिश्चित गर्न र अन्य तयारीका लागि मन्त्रालय निरन्तर लागिरहेको छ। 

‘लकडाउन गर्नुपर्ने बाध्यात्मक स्थिति आउन नदिन खोपको पूरा मात्रा लगाउन र जनस्वास्थ्यका मापदण्डको पालना गर्न नागरिक जिम्मेवार बन्नुपर्छ,’ उनले भनिन्, ‘शंका लागेमा क्वारेन्टिन बस्न र नजिकको स्वास्थ्य परीक्षण गराउन अनुरोध गर्दछौँ। नेपालमा उपलब्ध सबै खोपहरू सुरक्षित, प्रभावकारी भएकाले लाउन अनुरोध गर्दछौं।’

मन्त्रालयले यहीबीच दीर्घरोगी र कमजोर रोग प्रतिरोधी क्षमता भएका नागरिकलाई तेस्रोमात्रा खोप लगाउने निर्णय गरेको थियो। तर संक्रमणदर बढ्दै गएपछि उक्त कार्यक्रमलाई रोक्दै सुरुमा दुईमात्रा खोप सबै लगाउने निर्णय लिएको छ। 

‘संक्रमण बढ्दै गएपछि सबै नागरिकलाई पूर्णमात्रा सुरुमा लगाइसक्न महत्वपूर्ण भएकोले केही लक्षित वर्गलाई थप मात्रा दिने कार्यक्रम हाललाई स्थगित गरिएको छ,’ मिश्राले भनिन्, ‘थप प्रावधिक विषयमा छलफल र तयारी गरि आगामी माघ महिनामा थपमात्रा लगाउने विषयमा निर्णय लिनेछौँ’

मन्त्रालयको तथ्यांकअनुसार कुल जनसंख्याको १८ वर्षभन्दा माथिका ७५ प्रतिशतलाई कम्तीमा पहिलोमात्रा र ५४ प्रतिशतलाई पूर्णमात्रा खोप लगाइसकेको छ। 

पुस मसान्तसम्म १८ वर्षभन्दा माथिका दुईतिहाइलाई खोप दिइसक्ने लक्ष्यअनुसार बागमती र गण्डकी प्रदेशमा यो लक्ष्य हासिल गरिसकेको र बाँकी प्रदेशमा खोप लगाउने क्रम बढाउनुपर्ने आवश्यक देखिएको मिश्राले बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .