यही कात्तिक २९ र ३० गते काठमाडौंको टुँडिखेलमा अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी सम्मेलन हुने भएको छ।
बाबा जय गुरुदेव धर्मविकास संस्थाको आयोजनामा उक्त सम्मेलन हुने भएको हो।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा सम्मेलनका व्यवस्थापक एवं संरक्षक नन्दकुमार चौधरीले ऋषिमुनिको देश नेपालमा सो सम्मेलन गर्न लागेको जानकारी दिए।
दोस्रो अन्तर्राट्रिय नशामुक्त शाकाहारी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी पनि उनले दिए।
उनका अनुसार सम्मेलनमा विश्वका ३२ राष्ट्रबाट भक्तजन तथा शान्तिप्रेमी नागरिकको सहभागिता रहनेछ। उद्घाटनकै दिन दिउँसो २ बजे सत्संग सुरु हुने उनले जानकारी दिए।
सम्मेलनमा उपस्थितिका लागि सम्मेलन व्यवस्थापक चौधरीले शिक्षक, कर्मचारी, राजनीतिककर्मी, किसान, मजदुर र समाजसेवीहरूलाई आग्रह गरेका छन्।
कार्यक्रम संयोजक शालिकराम पराजुलीका अनुसार उक्त समागममा ६० हजारभन्दा बढी भक्तजन सहभागी हुनेछन्। सहभागी सबै भक्तजनलाई खाना, बस्न र एक्युप्रेसर शिविर पनि निःशुल्क आयोजना गरिनेछ।

प्रतिक्रिया