समाज


बेलहिया नाकाबाट नेपाल भित्रिने करिब ५ सयमध्ये दैनिक २ सयको मात्रै एन्टिजेन परीक्षण

बेलहिया नाकाबाट नेपाल भित्रिने करिब ५ सयमध्ये दैनिक २ सयको मात्रै एन्टिजेन परीक्षण

सुदीप भण्डारी
पुस ११, २०७८ आइतबार ८:३०, काठमाडौँ

 

रुपन्देहीको बेलहिया नाकामा एन्टिजेन परीक्षण बढाइएको छ । भारतका विभिन्न शहरमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएसँगै सीमानाकामा परीक्षण बढाइएको हो। 

घर आउनको लागि भारतका विभिन्न सहरबाट सीमा नाकामा आइपुग्ने करिब २ सय जतिको दैनिक कोरोना परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।

‘२ सय जति लाई परीक्षण गर्दा दुईचार जनालाई मात्र पोजेटिभ देखिने गरेको छ,’ उनले भने, ‘पोजेटिभ देखिएकाहरुलाई होटल वा होम आइसोलेसनमा बस्न सल्लाह दिने गरेका छौँ। उनीहरुको स्याम्पल कलेक्शन गरि ओमिक्रोन हो कि होइन भनेर परीक्षण गर्न प्रादेशिक प्रयोगशाला मार्फत काठमाडौं पठाउँछौ।’

बेलहिया नाकामार्फत् दैनिक चार पाँच हजार जति ओहोर दोहोर गर्दछन्। 

रुपन्देहीबाट सीमापारी सुनौली र नौतनवाम लगायतका बजारमा दैनिक उपभोग्य बस्नु किन्न जानेको भिड लाग्छ । त्यसबाहेक रोजगारको शिलसिलामा भारतमा रहेर घर फर्कनेहरु दैनिक पाँच सयको हाराहारीमा यही नाका हुँदै स्वदेश फर्किंने गरेका छन्। 

त्यसमध्ये २ सय जतिको मात्र परीक्षण भइरहेको छ। ‘बजारको लागि वारपार गर्नेलाई हामीले परिक्षण गर्दैनौ.ं। जो पिसिआर गरेर आएका हुन्छन्, भ्याक्सीन लगाएर आएका हुन्छन्। उनीहरुलाई पनि परीक्षण गरिँदैन,’ उनले भने, ‘परिक्षण गरेको र खोप लगाएको प्रमाण नभएकालाई मात्रै हामीले एन्टिजेन परीक्षण गर्ने गरेका छौँ।’

भारतमा ओमिक्रोन फेला पर्नुअघि सीमानाकामा दैनिक ४०–५० जना जतिको मात्र परीक्षण हुने गरेको थियो। 
बेलहिया नाकामा विहान ६ बजेदेखि राति १० बजेसम्म स्वास्थ्यकर्मी खटाएर परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

यो अवधिमा पालैपालो २० जना जति स्वास्थ्यकर्मी खटिने गरेका छन्। 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले परीक्षणको दायरा बढाउँदै लैजाने बताए । ‘एन्टिजेन परीक्षणलाई बढाउने गरि हामीले तयारी गरेका छौं। कति बढाउन सकिन्छ बढाउँछौं,’ उनले भने, ‘रुपन्देहीका अरु नाकामा पनि परीक्षण सुरु गर्छौ । नाकाहरुमा निगरानी पनि बढाउँदैछौं।’ 

कोरोनाका कारण लामो समय बन्द रहेको बेलहिया नाका खुलेपछि भारतीय पर्यटकहरु पनि आउने क्रम बढेको छ। बुद्ध जन्मस्थल लुम्बिनीसँगै अन्य पर्यटकीय स्थलमा जानको लागि भारतबाट पर्यटक नेपाल भित्रिने क्रम बढेको हो।   
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .