ad ad

समाज


जहाँ १० रुपैयाँमै लुगा किन्न पाइन्छ (भिडिओ)

जहाँ १० रुपैयाँमै लुगा किन्न पाइन्छ (भिडिओ)

यज्ञराज जोशी
पुस ३, २०७८ शनिबार १८:१२, काठमाडौँ

रौतहटकी सुखिना यादव भक्तपुरबाट गाडी चढेर सामाखुसी टाउन प्लानिङस्थित सुखावती स्टोर पुगेकी थिइन्। त्यहाँ पुग्नुको उनको उदेश्य थियो– एकदमै सस्तोमा परिवारलाई पुग्नेगरी लुगा किन्नु। 

दुई बच्चालाई तलमाथिको लुगा, आफूलाई एकजोर साडी, श्रीमानलाई दुइटा प्यान्ट किनिन्। सोचेकी थिइन्, कम्तीमा एक हजार रुपैयाँ त खर्च होला। तर, पैसा तिर्दा उनको खुसीको सीमा रहेन।

‘मैले आफन्तबाट यहाँको बारेमा सुनेकी थिएँ र म पनि जान्छु भनेर आएँ,’ सुखिनाले भनिन्, ‘४५० मा बजारमा एक जोर लुगा आउँदैन, मैले घरभरिलाई जाडोमा लाउने लुगा पाएँ।’ 

१० वर्ष कोरिया बसेर नेपाल फर्केपछि कास्कीका चीजमान गुरुङको समूहले सुरु गरेको सुखावती स्टोरमा १० रुपैयाँमै लुगा किन्न पाइन्छ भन्दा धेरैलाई पत्याउन गाह्रो हुन्छ। यहाँ सबैभन्दा बढी महँगो लुगा नै २५० को छ। तर यी नयाँ लुगा भने होइनन्। एक चोटि प्रयोग भइसकेका र दानमा आएका, लगाउने मिल्ने लुगाहरु यो स्टोरमा किन्न पाइन्छ।

नेपालखबरर्मी पुग्दा प्रायः निम्न आय भएका र श्रमिकहरुले स्टोर भरिभराउ थियो। सस्तो मूल्यमै चाहिने लुगा पाएपछि प्रायले झोला भरेर लुगा लिएर जाँदै थिए। स्टोरमा लुगा मात्रै होइन, भान्सा, इलोक्ट्रोनिक्स, किताबलगायतका सामग्रीहरु समेत सस्तो मूल्यमा राखिएका थिए। 
 

‘३–४ सय रुपैयाँमा थरिथरिको लुगा किन्ने हो भने झोला भरिन्छ। मानिसहरु एकपटकमा झोला भरिभरि लुगा लिएर जान्छन्,’ स्टोरका अध्यक्ष चीजमान भन्छन्, ‘लुगाको मूल्य यति सस्तो राख्दा पनि दैनिक १०–१५ हजारको कारोबार भइरहेको छ।’

यसरी बेचेका पैसा उनीहरु खल्तीमा समेत राख्दैनन्। बेचेको पैसाले बाल आश्रम, वृद्धाआश्रममा नियमित सहयोग गर्दै आएका छन्। 
चीजमान सुखावतीलाई सामाजिक उद्यमशीलता भन्छन्। दोस्रोपल्ट २००७ मा कोरिया पुग्दा उनले यस्तै संस्थामा काम गर्न पाएका थिए। कोरियामा पुराना सामग्रीहरु संकलन गर्दै सस्तोमा बेच्ने स्टोरलाई ब्युटीफुल स्टोर भन्दो रहेछ।  

साढे २ वर्ष त्यस्तो स्टोरमा काम गरेपछि चीजमानलाई नेपालमा पनि निम्न आय भएका र गरिबहरुलाई लक्षित गर्दै यस्तै स्टोर खोल्ने सोच आएको हो। 


२०१२ मा उनी नेपाल फर्के। उनको आफ्नै रेस्टुरेन्ट थियो। तर उनको मन रेस्टुरेन्टमा रमाएन। कोरिया छँदै बुनेको योजनामा पनि काम गर्न थाले। सुरुमा आफूजस्तै सोच भएका मान्छेहरु खोज्न गाह्रो थियो। 

‘चिनजान, साथीभाइ गरेर ६ महिनाको मेहनतपछि ९ जनालाई कन्भिन्स गराएँ,’ चीजमान भन्छन्, ‘पुरानो समान बेच्ने भन्दा कसले किन्छ र सामान कहाँबाट ल्याउने भन्ने प्रश्न नै सुरुमा तेर्सिन्थ्यो।’

आफ्नो अनुभव र उत्साहले बाँकीलाई पनि विश्वस्त गराएपछि २०१४ मा सुरुमा बसुन्धरा चोकमा टेबुल राख्दै, ह्याङ्गर झुन्डाएर, पाल ओछएर पुरानो सामग्री बेच्ने काम उनीहरुले सुरु गरेका थिए। 

पहिलो लटमा ९ जनाले आआफ्नो घरमा भएका लुगाहरु संकलन गरेका थिए। १३४ केजी समान भयो।

‘हामी मंगोलियन अनुहारका थियौँ। सबैजनाले चिनियाँहरु आएर सस्तोमा समान बेच्न लागेको ठान्थे,’ चीजमानले हाँस्दै भने।

चीजमानले कोरियामा यही काम गरेकाले पुराना कपडा बेच्न बस्दा उनलाई केही अप्ठेरो लागेन। तर संस्थामा आबद्ध ६ जना महिलाहरु भने पहिलोपल्ट पुरानो कपडा बेच्न लाग्दा लजाउँथे। पछि बिस्तारै लुगा किन्नेहरु खुसी भएर गएको देख्दा सबै जना समर्पित भएर लाग्न थाले। 

‘एकदमै सस्तोमा लुगा पाउँदा खुट्टामा चप्पल पनि नलगाएकाहरुको अनुहारमा जुन खुसी देखिन्थ्यो, त्यसले सबैलाई भावुक बनाउँथ्यो,’ चीजमान भन्छन्, ‘पछि कोही पनि हिच्किचाउनु भएन। बसपार्कबाट चामलको बोरा पनि बोकेर आउनुहुन्थ्यो।’

सडकपेटीपछि अलि व्यवस्थित ढंगले काम गर्न २०१५ मा म्हैपीमा ७ हजारको सटर लिए र त्यहीँबाट सामान बेच्न सुरु गरे। अहिले सामाखुसी टाउनप्लानिङमा उनीहरुले ३५ हजारमा ४ कोठा लिएका छन्। अगाडि सटर छ, एउटा कोठा कार्यालय, एउटा कोठा स्टोर र एउटा कोठा प्रोसेसिङका लागि प्रयोग गरिएको छ।

‘सुरुमा प्रयोग भएका सामाग्रीहरु दान कसले देला, कसले किन्ला भन्ने नै चुनौती थियो। तर विस्तारै मान्छेहरुले थाहा पाउन थालेपछि दान आउने र किन्नेको भीड छ,’ पुराना लत्ताकपडा र सामग्रीले भरिएको स्टोर देखाउँदै चीजमानले भने। 

पुराना लुगा संकलनका लागि उपत्यकाका विभिन्न ५ ठाउँमा उनीहरुले ड्रपबक्स राखेका छन्। मानिसहरुले नख्खिपोट, थसीखेल, हात्तीवन, वनस्थली, भैँसेपाटीमा रहेका बक्समा आफूले प्रयोग गरिसकेका सामान राखिदिन्छन्।

त्यहाँबाट संस्थामा आवद्ध स्वयमसेवकले लुगा संकलन गर्दै स्टोरमा पुर्याउँछन्। स्टोरमा ल्याएपछि लुगाको अवस्था र भ्यालु हेर्दै प्राइस ट्याग राखिन्छ। 

‘समानको अवस्था हेरेर १० देखि २५० को मूल्यसुची राख्छौँ,’ चीजमान भन्छन्, ‘५० देखि २५० सम्म राम्रो सारीहरु पाउन सकिन्छ। पाँच सय रुपैयाँमा परिवारका सबैलाई पुग्ने सारी, जिन्स प्यान्ट, जुत्ता, टि–सर्ट, सल र बच्चाको लुगा लिन पाइन्छ।’

चन्दामा आउने लुगाको कमी नरहेको उनी बताउँछन्। 

‘कोरोना र भूकम्पमा पनि नेपालमा भोकमरी भएन। हामी नेपालीहरुको मन ठूलो छ,’ उनी भन्छन्, ‘अहिले काठमाडौंको १ प्रतिशतमान्छेले पनि डोनेसन दिएको छैन। काठमाडौँका आधाले मात्रै डोनेसन दिए भने ४–५ वटा यस्ता पसल खोल्न सकिन्छ।’ 

सुखावती खोल्नुको उदेश्य पुराना सामान बेच्ने मात्र होइन। महिला उद्यमीले बनाएका अचार, टोपी, मोजालगायतका सामग्री किन्ने र ग्राहकसम्म पुर्याउँने लक्ष्य भएको उनी बताउँछन्। अहिले पनि सुखावती स्टोरमा कार्यरत ६ जना कर्मचारी महिला नै छन्, जसमध्ये एक सुन्न र बोल्न सक्दिनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .