कैलालीको टीकापुर नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्यामा संलग्न २१ जनालाई जन्म कैद माग गर्दै प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरेको छ।
हत्यामा संलग्न नवीन, धीरज, आर्यन, मदन, निशान्त, विकास, प्रवीण, रोहित, सोहन, चिरञ्जीवी, हिमाल, विकास खड्का, रोशन, अशोक र हेमन्त शाहीलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम जन्म कैद माग गरिएको कैलाली प्रहरीले जनाएको छ।
उनीहरुलाई बाँचुन्जेल कैद हुनुपर्ने प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
यस्तै लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७ (२) बमोजिम जन्म कैद माग गरिएको छ।
लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६ (३) (क) बमोजिम कसुर गरे सो सरह जन्म कैद सजाय हुनुपर्ने माग प्रहरीले गरेको छ। यस्तै प्रतिवादीबाट जाहेरवालालाई क्षतिपूर्ति भराउन समेत माग गरिएको छ।
२०७८ कात्तिक २३ गते राति ८ : ५२ बजे टीकापुरको सिद्धार्थ होटल नजिकै कौशी देवी विष्टको घरको आँगनमा भूपेन्द्रको हत्या भएको थियो।
धारिलो हतियार प्रहार गरी उनको हत्या भएको थियो। धारिलो हतियार प्रहारपछि तत्काल उपचारका लागि प्रहरीले टीकापुर अस्पताल लगेको थियो। तर उनको त्यहीँ मृत्यु भएको थियो।
हत्यामा २१ जना संलग्न रहेकोमा हालसम्म १२ जनालाई पक्राउ गरिएको कैलाली प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ चिसापानीका २३ वर्षीय महेश रावल, त्यही ठाउँका २० वर्षीय धीरज भन्ने दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, वडा नं १ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय दिपक र गोलु भन्ने निशान्त मल्ल, वडा नं ५ का २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका १ का २३ वर्षीय प्रवीण रिमाल, बर्दिया राजापुर नगरपालिका ७ का २१ वर्षीय रोहित आले, २५ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका–२ झगढपुरका २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ गोदानाका २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाही पक्राउ परिसकेका छन्।
९ जना अझै फरार रहेको कैलालीका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
फरार हुनेमा लम्कीचुहा नगरपालिका–३ चिसापानीका २७ वर्षीय नवीन रावल, त्यही ठाउँका २६ वर्षीय अनुज भन्ने चिरञ्जीवीजंग शाही, २६ वर्षीय हिमाल शाही, जानकी गाउँपालिका ६ जगतपुरका २८ वर्षीय जयन्द्र शाह, टीकापुर नगरपालिका का २७ वर्षीय विकास शेरचन, लम्की चुहा नगरपालिका ४ का २४ वर्षीय रोशन बहादुर शाही, टीकापुर–६ का ३५ वर्षीय अशोक रावल, लम्की चुहा ३ का ३२ वर्षीय लोकजंग शाही र बर्दिया गरुवा गाउँपालिका–५ का २२ वर्षीय हेमन्त शाही फरार छन्।
यस्तो छ अपराधको श्रृंखला
लम्की, चिसापानी, टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेकापट्टामा आफ्नो बर्चस्व कायम गर्न लोकजंग शाही समेतले युवाहरुको समूह बनाई अपराधिक लाभको लागि परिचालन गर्ने गरेको खुलेको छ।
यो समूहलाई अशोक रावलले संरक्षण प्रदान गर्ने गरेको पाइएको कैलाली प्रहरीले जानकारी दिएको छ।
सुरुमा एकै समूहमा रहेका जयन्द्र शाह र नविन रावलबीच मनमुटाव तथा आपसी वैमनस्यता उत्पन्न भएपछि दुई समूहका युवाबीच पटक पटक झगडा हुन थालेको थियो।
यी समूहका सदस्यविरुद्ध कैलाली र काठमाडौँमा समेत ६ वटा ज्यान मार्ने उद्योग र २ वटा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता भएको पाइएको डीएसपी जोशीले जानकारी दिए।
२०७८ भदौमा काठमाडौँको कालीमाटी क्षेत्रमा जयन्द्र शाहको समूहले नवीन रावल समूहका हिमाल शाहीलाई पेटमा खुकुरी प्रहार गरी मार्ने प्रयास गरेको खुलेको छ।
त्यसपछि कपिल श्रेष्ठले जयन्द्र समूहको तर्फबाट नविन रावल र निजको समूहमाथि आक्रमण गर्ने योजना बनाएका थिए। २०७८ कात्तिक १७ गते काठमाडौँबाट मोटरसाइकलमा गएर २० गते लम्की पुगी मुनमुन होटलमा बसेका थिए।
२१ र २२ गते बौनियास्थित अनुकूल होटलमा बसी नवीन रावललाई आक्रमण गर्ने योजनासहित पर्खिरहेको पाइएको छ।
२३ गते नवीन समेतको समूह लम्कीमा आयोजित फुटबल खेल हेर्न आएको थाहा पाएपछि कपिल श्रेष्ठले आफ्ना समूहलाई खबर गरी लम्की खेल मैदानमै आक्रमण गर्न खोजेका थिए।
तर उनको समूह समयमै लम्की पुग्न नसकेका कारण त्यस ठाँउमा आक्रमण गर्ने योजना असफल भएको थियो।
मदन शाहीले त्यहाँबाट पहिले नै लम्की विद्युत् कार्यालय नजिकको बाटोबाट टीकापुर हिँडेका नवीन रावल समेतलाई भेटी जयन्द्रको समूह हातहतियार सहित आक्रमणको तयारीमा रहेको जानकारी दिएका थिए।
त्यसपछि नविन रावलले आफ्ना समूहका आर्यन, हिमाल, हेमन्त, मदन, चिरञ्जीबी, रोशन, निशान्त, धीरज, रोहित, सोहन, विकास शेरचनलाई रोड साइड क्याफेमा जम्मा गरी जयन्द्र समूहका जुनसुकै व्यक्ति फेला पारे पनि आक्रमण गर्न भनेका थिए।
कपिल श्रेष्ठ एक्लिएपछि नयाँ टीकापुर क्षेत्रमा लुकी बसेका थिए। त्यहाँबाट लम्कीमा रहेका मिल्ने साथी भुपेन्द्र बडुवाललाई फोन गरी आफूलाई लिन बोलाएपछि भूपेन्द्र निजलाई लिन टीकापुर गएका थिए।
यता नवीनको समूह जयन्द्र समूहका व्यक्तिलाई आक्रमण गर्न हतियारसहित खोजीमा हिँडेका थिए। उक्त समूहमा सबैभन्दा अगाडि त्यस ठाउँका स्थानीय रोहित आलेसँग आर्यन देवकोटा पहिलो स्कूटीमा र उनको पछाडि अर्को स्कूटीमा चिरञ्जीवी शाही र रोशन शाही निस्किएका थिए। उनीहरु भन्दा पछाडि नवीन रावलसमेत निस्केका थिए।
टीकापुरको जमरा पुल नजिक आर्यन देवकोटा समेतले भूपेन्द्र बडुवाललाई फेला पारी हामीविरुद्ध टीकापुरमा आएको हो भन्दै करीव २ किलोमिटर लखेटी सिद्धार्थ होटल नजिक पु¥याएका थिए।
भूपेन्द्र बडुवालले मोटरसाइकल छोडी आफन्तको घरतर्फ जाँदा पछाडिबाट लखेटी आर्यन देवकोटा, चिरञ्जीवी शाही, रोशन शाही र रोहित आले समेतले कौशी देवी विष्टको घरको पेटीमै भूपेन्द्र बडुवाललाई नियन्त्रणमा लिई पेट र छातीको भागमा २ पटक हानेका थिए।
त्यसपछि पिठ्युँको भागमा ३ पटक र टाउकोको पछाडि एक पटक धारिलो हतियार खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारपछि उनीहरु त्यहाँबाट भागेका थिए।
हत्यामा संलग्न विष्ट आयल स्टोर नजिक खुकुरी फालेर रोहित आलेलाई आफ्नो घर तर्फ जान भनेका थिए।
नवीन रावल, हेमन्त शाही, हिमाल शाही, रोशन शाही, चिरञ्जिवी शाही र आर्यन देवकोटा पशु हाट बजारको बाटो हुँदै जोशीपुर पुगी एकजनाले अपराध स्वीकार्ने र अरु भागी फरार रहने योजना बनाएका थिए।
त्यही योजना अनुसार २४ गते बिहान बौनिया बजारमा पुगी अपराध आफूले मात्रै गरेको हो भन्ने पार्न आर्यन देवकोटा बौनिया बजारमै बसे।
नवीन रावल, हेमन्त शाही, हिमाल शाही, रोशन शाही, र चिरञ्जिवी शाहीहरु लोकजंगले बनाएको योजना अनुरुप लोकेन्द्र कुँवरले बौनिया बजार भन्दा उत्तर तर्फको चायाँभावर गाउँमा लगी एक स्थानीयको घरमा लुकिछिपी बसेका थिए।
लोकजंगकै योजना अनुरुप चायाँ भावर गाउँमा रहेका फरार प्रतिवादीहरुलाई खाने बस्ने ब्यवस्थापन गर्ने, खर्च रकम दिने र २५ गते उनीहरुलाई भगाउन सविनजंग शाहीले कार भाडामा लिई चायाभावर गई त्यही कारमा जुगेडासम्म ल्याएका थिए।
२६ गते भारतीय बोलेरो जीप भाडामा व्यवस्था गरी नवीन समेतलाई भारतको ढकिया गाउँसम्म पुर्याई आफू फर्किएका थिए।
नवीन रावलसमेतले प्रयोग गरेको २ वटा मोटरसाइकल लोकेन्द्र कुँवरले बौनियामा ल्याई नम्बर प्लेट चेन्ज गर्न लगाई बर्दिया भुरीगाउँस्थित रोयल एडभेन्चर रिसोर्टमा लुकाएर राखेका थिए।
२६ गते बिहान सविनजंग शाहीले नविन रावल लगायतलाई भारत तर्फ पठाइसकेपछि उनीहरुका ५ वटा मोबाइल आफूले लिई बनबेहेडा बस्ने डेबिड चन्द्र कडायतलाई राख्न दिएको खुलेको छ।
Shares
प्रतिक्रिया