बझाङको कालंगा हाइड्रो पावरको सुरुङभित्र फसेका चारैजना मजदुरको मृत्यु भएको छ। मृतक मजदुरमध्ये तीनजनाको शव सशस्त्र प्रहरीले निकालेको छ भने एक जनाको शव निकाल्न सकिएको छैन।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरज श्रेष्ठले मृतक मजदुरको शव नजिकै उद्धारकर्ता पुगेपनि अक्सिजनको अभावले शव निकाल्न नसकिएको बताए। सशस्त्रले शव निकाल्ने प्रयास गरिरहेको छ।
बझाङ जिल्लाको बुङ्गल नगरपालिका–२ दाडिम दहबगरमा रहेको कालंगा जल विद्युत् को निर्माणाधीन इनलेट सुरुङभित्र ति चार जना कामदार आइतबार दिउँसोदेखि फसेका थिए । प्रहरी र स्थानीयले हिजैदेखि उद्धार प्रयास गरेपनि जिवीतै उद्धार गर्ने प्रयास सफल हुन सकेन।
सशस्त्र प्रहरीको विशेष उद्दार टोलीले सुरुङको ६ सय मिटर भित्रबाट तीनजनाको शव निकालेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार छ जना कामदारहरु तीनवटा ट्रयाक्टर र एउटा जिपसहित सुरुङमा काम गर्न गएकोमा दुई जना बाहिर निस्किए पनि अरु चार जना सुरुङबाट फर्किन सकेका थिएनन्।दैलेखका कर्णबहादुर शाही, महेन्द्र बहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी सुरुङभित्रै फसेका हुन्।

प्रतिक्रिया