बैतडीमा गएराति जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ।
बैतडीको दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जीप आइतबार राति साढे ८ बजे दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द –४ कलुवाड मोडमा दुर्घटनामा परेको हो।
जीपमा सवार सात जनामध्ये पाँच जनाको घटनास्थलमै र एकजनाको उपचारको लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि गम्भीर घाइते भएका जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीलाई उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएसँगै मृतकको सङ्ख्या छ पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनामा दशरथचन्द –६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
घटनास्थलमै मृत्यु भएका पाँच जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडी र बाटोमा मृत्यु भएका चालकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
दुर्घटनामा दशरथचन्द ६ का ४८ वर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका छन्। चन्दको जिल्लामा उपचार हुन नसक्दा धनगढी रेफर गरिएको छ।
जिप सडकबाट ७०० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन्। द्रुत गतिमा रहेको जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने अुनमान प्रहरीले गरेको छ। रासस
Shares

प्रतिक्रिया