समाज


एक्ला बाबुआमालाई छोराछोरीले खोजिदिँदैछन् डेटिङ जाने साथी

एक्ला बाबुआमालाई छोराछोरीले खोजिदिँदैछन् डेटिङ जाने साथी

फाइनान्सियल टाइम्स
कात्तिक १८, २०७८ बिहिबार २२:२८, काठमाडौँ

सोलकी बासिन्दा ओह प्राथमिक विद्यालयकी शिक्षक थिइन्। पतिसँग सम्बन्धविच्छेदपछि उनले अवकाश लिइन्। तर, त्यसपछि एक्लोपनले उनलाई सताउन थाल्यो। त्यो एक्लोपनबाट उनले त्यसबेला छुटकारा पाइन्, जतिबेला उनले एक ५९ वर्षीय पुरुषलाई भेटिन्।

कपल डट नेट नामक दक्षिण कोरियाली डेटिङ एपमार्फत ती व्यक्तिसँग उनको भेट भएको थियो। यो आफ्ना अभिभावकका लागि पार्टनर खोजिदिन चाहने वयष्क छोराछोरीलाई सघाउने एप हो।

‘मेरी छोरीले डेटिङ एपको कुपन किनिदिइन्। मेरै उमेरको व्यक्तिसँग भेट्न म निकै उत्सुक थिएँ। दुई पटक दिवाभोजका लागि मैले उनलाई भेटेँ। र, मलाई राम्रो लाग्यो। हामीले अनेक विषयमा कुरा गर्यौँ। यसले मलाई एक्लोपनबाट मुक्ति दिलायो,’ ओहले भनिन्।

५५ वर्षीया ओह आफ्ना दुई कुकुरसहित एक्लै बस्छिन्।

पछिल्ला दशकमा दक्षिण कोरियाले प्राप्त गरेको आश्चर्यजनक आर्थिक वृद्धि र सामाजिक छलाङहरुको मूल्य वृद्धवृद्धाहरुले चुकाएका छन्। परम्परागत परिवारिक संरचना छिन्नभिन्न भएको छ। तर, सरकारको पर्याप्त सहयोग नहुँदा यो समस्या झनै चर्को बनेको छ। 

विकसित मुलुकमध्ये वृद्धहरुमा सबैभन्दा उच्च गरिबी दर र सबैभन्दा उच्च आत्महत्या दर दक्षिण कोरियामै छ। तर, पछिल्ला वर्षहरुमा सरकारी कार्यक्रम, नागरिक समाजको पहल र बढ्दो जनतचेतनाको मिश्रणले गर्दा अवस्थामा सुधार हुँदै आएको छ। कोरियाली युवाहरु आफ्ना वृद्ध आमाबुबालाई नयाँ र रमाइलो जीवन दिन तत्पर देखिन्छन्। तीव्र गतिमा वृद्ध हुँदै गएको जनसंख्याका लागि यसले आशाको किरण देखाएको छ। 

‘म हुर्केका छोराछोरीसँग बस्छु। तर, प्रायः म एक्लो महसुस गर्छु। त्यसैले लामो समयदेखि कसैसँग भेट्न चाहन्थेँ,’ ५६ वर्षीया किमले भनिन्। उनी एक अफिसमा काम गर्छिन्।

किमका छोराले सरकारी कम्पनीमा जागिर पाएपछि आफ्नो पहिलो तलबबाट उनलाई डेटिङ एप सेवाको कुपन किनिदिए। त्यसयता किमले दुई जनासँग डेट गरिसकेकी छन्। 

‘पहिलो व्यक्ति अलि सानो गाँठीको थियो। दोस्रोमा अलि बढी गफ हाँक्ने बानी रहेछ। उनीहरु मसँग मन मिल्ने खालका थिएनन्। तैपनि उनीहरुसँग भेट्दा रमाइलै भयो,’ किम भन्छिन्, ‘फेरि कसैसँग डेटिङ गर्ने सोचले मेरो मुटुको चाल बढ्छ। कसैलाई भेट्न पर्खिरहँदा म खुसी हुन्छु, एक्लोपनलाई पुरै बिर्सिन्छु, भलै छोटै समयका लागि किन नहोस्।’

सो डेटिङ एप सञ्चालक ली वुङ जिन भन्छन्, ‘सोल र बुसानजस्ता ठूला सहरका मान्छेले धेरै सोधीखोजी गरिरहेका छन्। हामीसँग ९३ वर्षका ग्राहक समेत छन्, जो डेटिङ गर्न चाहन्छन्।’

दक्षिण कोरियाको जन्मदर घटेर प्रतिमहिला ०.८४ मा पुगेको छ। गत वर्ष पहिलो पटक सो मुलुकको जनसंख्या घट्यो। अहिले यहाँ ६५ वर्षमाथिकाको संख्या ८५ लाख छ। २०४० मा सो संख्या बढेर एक करोड ७० लाख पुग्नेछ। २०५० सम्ममा जनसंख्याको करिब ४४ प्रतिशत हिस्सा ६५ वर्षमाथिको हुनेछ। 

तीव्र सहरीकरण, स्कुल तथा विश्वविद्यालयमा बालबच्चा भर्ना र राम्रो तलब भएको जागिर पाउन कडा प्रतिस्पर्धा गर्नुपर्ने स्थितिका कारण दक्षिण कोरियामा हुर्केका छोराछोरीले बुढा बाउआमालाई त्यागेर आफ्नै करिअर र बालबच्चाको हेरचाहमा ध्यान दिन थालेको विज्ञहरु बताउँछन्।

‘संयुक्त परिवारबाट एकल परिवार र एक व्यक्ति मात्र भएको परिवारतर्फको परिवर्तन अति तीव्र गतिमा भइरहेको छ,’ योनसेइ युनिभर्सिटीका प्राध्यापक किम जिन सु भन्छन्, ‘तर, यो परिवर्तनका लागि शारीरिक र मनोवैज्ञानिक तवरले तयार हुने समय मानिसहरुसँग छैन। त्यसमाथि मानिसहरुको आयु र आर्थिक असमानता पनि बढ्दैछ।’

खासगरी गरिब वृद्ध दक्षिण कोरियालीका लागि चुनौती चर्को छ। वृद्धमध्ये ४३.४ प्रतिशत संख्या गरिबीमा बाँचिरहेको आकलन छ। यो विश्वकै उच्च हो।

थुप्रै व्यक्ति ५० नाघ्नेबित्तिकै अवकाश लिन बाध्य हुन्छन्। तिनले मासिक तीन लाख वन (२५६ डलर) पेन्सन पाउँछन्। उपचार खर्च धेरैजसो उनीहरु आफैँले जुटाउनुपर्छ।

राष्ट्रपति मुन जे इनको प्रशासनले आधारभूत पेन्सन दुई लाखबाट बढाएर तीन लाख वन पुर्याएको हो। आगामी चुनावका उम्मेदवारहरुले आर्थिक असमानताको मुद्दालाई सम्बोधन गर्ने बाचा गरेका छन्। तर, आर्थिक समस्यामा मात्र केन्द्रित रहेर एक्लोपनको समस्यालाई समाधान गर्न नसकिने विज्ञहरु बताउँछन्। जसले धनी र गरिब दुवैलाई समानरुपले सताउँछ।

‘धेरै वृद्धहरु आर्थिक कारणले आत्महत्या गर्छन्। उदाहरणका लागि उनीहरु बिरामी हुन्छन्। उपचार खर्चको ठूलो हिस्सा उनीहरु आफैँले बेहोर्नुपर्ने हुन्छ,’ किम जिन सु भन्छन्, ‘तर, आत्महत्याको अर्को प्रमुख कारण एक्लोपन हो।’

चुङ आङ विश्वविद्यालयका प्राध्यापक सिन क्वाङ योङ भन्छन्, ‘मुलुक आर्थिक रुपले विकसित भएसँगै पारिवारिक एकताको भावना कमजोर हुँदैछ। जसले वृद्धहरुलाई एक्लो महसुस गराइरहेको छ र उनीहरुमा जीवनप्रतिको इच्छा कमजोर तुल्याइरहेको छ।’

सरकार र नागरिक समाजले अनेक पहल अघि सारेका छन्। सरकारी खर्चमा सामाजिक गतिविधि आयोजना गर्ने, नियमित रुपमा वृद्धहरुलाई फोन गरेर सोधीखोजी गर्ने र मानसिक स्वास्थ्य सेवामा पहुँच बढाउने काम भएका छन्।

आत्महत्या दर रोक्न किटनाशक विषादीमा प्रतिबन्ध लगाइएको छ। 

‘आत्महत्या दर घट्दै पनि छ। २०१५ मा ७०–८० वर्ष उमेर समूहमा आत्महत्या दर प्रतिएक लाखमा ६२.५ जना थियो। अहिले त्यो ३८.८ मा झरेको छ,’ आत्महत्या रोकथामका लागि कोरिया फाउन्डेसनका सङ दाय ग्यु भन्छन्।

क्वुन दाय योङ ग्रामीण ग्योङसाङ प्रान्तमा मार्कोरोहो नामक सामाजिक उद्यम सञ्चालन गर्छन्, जसले वृद्ध महिलाहरुलाई परम्परागत हस्तकलाका सामान उत्पादन गर्ने तालिम दिन्छ। आर्थिक उत्थानको उदेश्यले सुरु गरिएको यो उद्यम पछिल्लो समय एक्लोपन निवारणमा केन्द्रित छ।

‘पुरै जीवन गृहणीका रुपमा बिताएका हजुरआमाहरु आफ्नो पतिको मृत्युपछि कसैसँग सामाजिक रुपमा घुलमिल हुन नसकेको हामीले देख्यौँ। वृद्ध पुरुषहरुभन्दा महिलाहरु एक्लोपन र डिप्रेसनबाट पीडित हुने सम्भावना ज्यादा देखियो,’ क्वुन भन्छन्, ‘त्यसैले हामीले उनीहरुलाई गर्ने काम दियौँ। उनीहरुले नाफा पनि कमाउँछन् र आफ्ना ग्राहकसँग कुराकानी पनि गर्छन्।

डेटिङ एप सञ्चालक ली एपको बढ्दो मागले एक्लोपन कति गम्भीर समस्या रहेछ र त्यसलाई समाधान गर्न युवाहरु कति प्रतिबद्ध रहेछन् भन्ने देखाएको बताउँछन्।

‘विगतमा प्रायः बाबुआमाले छोराछोरीका लागि डेटिङ सेवामा आवेदन दिन्थे,’ उनी भन्छन्, ‘त्यो क्रम अहिले उल्टिएको छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad