आज (शनिबार) देशको उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा जाने तथा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पश्चिमको उच्च हिमाली तथा राति देशभरकै उच्च हिमाली भेगमा हिमपातको सम्भावना छ।
शनिबार बिहान २४ घण्टे चेतवानी जारी गर्दै महाशाखाले भनेको छ : उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकाले ती स्थानमा सामान्य सतर्कता अपनाउन अनुरोध छ।
महाशाखाका अनुसार यतिबेला (शनिबार बिहान) पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली भएको छ भने बाँकी भूभाग सामान्यतया सफा छ।
यसैगरी दिउँसो पश्चिमी र पहाडी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।
‘साथै पश्चिमी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र पश्चिमकै उच्च हिमाली भूभागमा हिमपात हुने सम्भावना पनि छ,’ नेपालखबरसँग उनले भनिन्।
यस्तै राति पनि पहाडी भेगका एक-दुई स्थान हल्का वर्षा र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् कँडेलले बताइन्।
आज काठमाडौंमा उपत्यकामा पनि आंशिक बदलीको अवस्था छ तर पानी पर्ने सम्भावना नरहेको उनले बताइन्।
यस्तै आइतबार दिउँसो पनि पहाडी भूभागका एकर दुई स्थानमा हल्का वर्षा र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
यसैगरी सोमबार दिउँसो पनि पहाडी भेगकै एकर दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
माैसमविद्का अनुसार हाल देशमा पश्चिमी वायुको प्रभावले मौसम बदली भएको हो।

प्रतिक्रिया