काठमाडौँ महानगरको आर्थिक सहयोगमा बनेको बज्रयान विहार उद्घाट्न गर्दै राष्ट्रपतिले भन्नुभयो– बुद्ध नेपालमा जन्मिएका हुन्
लुम्बिनी। गौतमुबद्धको जन्मथललो लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको आज सम्माननीय राष्ट्रपतिले उद्घाटन गरेकी छन्।
विहारको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गौतमबुद्ध नेपालमै जन्मिएको भन्दै नेपाल र नेपालीको गौरव भएको बताइन्।
‘म एउटै कुरा भन्छु, गौतमबुद्दको जन्म नेपालमै भएको हो,’ उनले भनिन्, ‘गौतम बुद्धले आफ्नो लामो तपस्याबाट ज्ञान आर्जन गरेर विश्व समूदायलाई अमूल्य विचार दिनुभयो। बुद्ध दर्शनको मर्म र भावना अनुसार हामी चल्न सक्नुपर्छ।'
उनले बुद्ध दर्शनको मर्म र भावना अनुसार चल्न सकेमा देशको विकास हुने पनि बताइन।।
विश्वमा कुनै पनि देशले कुनै न कुनै रुपमा बुद्धको सोच र दर्शनलाई अपनाएकै हुने उनले बताइन्।
‘नेपालमा विकास गर्न पैसाको कमी होइन,’ उनले भनिन्, ‘लुम्बिनीको विकास गर्न गुरुयोजना बनेर पनि किन रोकिएको छ? आन्तरिक कारण के-हो ? यो विषयमा पनि सबैले गम्भीर भएर सोच्नुपर्ने हुन्छ।’
उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूहरुको आर्थिक सहयोगमा विहार बन्दा खुशी लागेको बताए।
‘काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि लुम्बिनी भ्रमणका सिलसिलामा आउँदा मौलिकरुपमा बनिरहेको तर अपूरो विहार देखेपछि काठमाडौँ महानगले केही सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो, ‘उनले भने, ‘त्यही अनुसार सहयोग गरेका हौँ।’
उनले राष्ट्रपतिबाट उद्घाटन हुँदै गर्दा खुशी लागेको पनि बताए।
‘अन्य विहार बनाउन विभिन्न देशले सहयोग गरेको हामीले देख्यौँ,’ प्रमुख शाक्यले भने, ‘तर, नेपाली विहारमा नेपाल सरकारको कुनै सहयोग नभएर पूर्णता प्राप्त गर्न नसकेको अवस्थामा काठमाडौँ महानगरपालिकाले उपत्यकाको संस्कृति झल्किने गरी बनाइरहेको विहालाई सहयोग गरेको हो। हाम्रो पनि सहयोगमा मौलिकता झल्किने गरी विहार बनेको देख्दा गौरव लागेको छ।’
परम्परागत नेपाली वज्रयान महाविहार समितिका अध्यक्ष डाक्टर नरेशमान बज्राचार्य नेपालमा विहार बनाउने कुरा हरेक नेपालीको कर्तव्य रहेको स्मरण गराए।
‘काठमाडौँ महानगरपालिकाले आफूले बोलेको कुरा पूरा गरेरै छाडेको छ, खुशी लागेको छ,’ उनले भने, ‘काठमाडौँ महानगरपालिकाको करीब चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डल द्वार निर्माण भएको छ।’
उहाँले अझै थप रकम खर्च हुने भन्दै थप सहयोगको अपेक्षा गर्नुभयो। ‘लुम्बिनी विकास कोषमा गुरुयोजनामा लुम्बिनीमा नेपालको उपस्थिति जनाउने उदेश्यले वज्रयान विहान निर्माण गरेको हो,’ उनले भने, ‘यो विहार निर्माणका लागि हामीले कुनै पनि विदेशीको सहयोग लिएका छैनौँ। यो हाम्रो आदर्श र सपना हो, यो पूरा हुँदैछ।’
उहाँले नेपाली बौद्ध कला, वास्तुकलालाई निरन्तरता दिने अर्को उदेश्य रहेको पनि बताए। ‘नेपालमा यस्तो कलाकृतिको विहार बन्न छाडेको ३ सय ७२ वर्ष भयो,’ उनले भने, ‘३ सय ७२ वर्षपछि अहिले यो विहार बनिरहेको छ। हामीले बास्तुकलालाई पनि ध्यान दिएका छौँ।’ उहाँले यहाँको गतिविधिलाई जीवन्त बनाउने अर्को उदेश्य रहेको बताए। ‘स्वदेशकै लगानीमा यो विहार बन्ने कुरा ठूलो स्वाभिमान हो,’ उनले भने।
नेपाल परम्परागत बौद्ध धर्म संघका उपाध्यक्ष मानिकरत्न शाक्यले अहिलेसम्म करिब १६ करोड खर्च भएको भन्दै २० करोडको लगानीमा सम्पन्न हुने अपेक्षा लिएको बताए।
कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री डाक्टर अजयक्रान्ति शाक्य, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत उपस्थित थिए।
Shares

प्रतिक्रिया