नेपाल पर्वतारोहण संघ (एनएमए) ले सोलुखुम्बुको मेरा पिक (६,४७० मिटर) आरोहण गरी फर्कने क्रममा बाटामै फसेका पाँच आरोहीको उद्धार गरेको छ।
प्रतिकूल मौसमको कारण हिमालमा फसेका चार विदेशी र एक जना नेपाली पथप्रदर्शकलाई हेलिकप्टरमार्फत् उद्धार गरी काठमाडौँ ल्याएको संघले जनाएको छ।
एनएमएका अध्यक्ष सन्तवीर लामाले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन्। ‘पछिल्ला केही दिनको खराब मौसमका कारण मेरा पिक आरोहण गरी फर्कने क्रममा बाटामै फसेकामध्ये स्वदेशी आरोही तथा स्वदेशी पथप्रदर्शकलाई सम्बन्धित कम्पनीको पहलमा उद्धार गरी काठमाडौँ ल्याइएको छ,’ विज्ञप्तिमा भनिएको छ।
एनएमएबाट आरोहण अनुमति लिएर मकालु एडभेन्चार प्रालिमार्फत आरोहणका लागि गएका उनीहरु सबैको अहिले काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।
पिक आरोहण गरी फर्कँदै गर्दा खराब मौसम र ठूलो हिमपातका कारण बाटोमै रोकिएका शेर्पा इभेन्ट्स अर्गनाइजरका सदस्यहरुलाई पनि खोजीका लागि पैदल गएको टोलीले सुरक्षितरूपमा लुक्ला ल्याएको छ।
यस्तै एड्भेन्चर भिक्टोरी टिममार्फत आरोहणका लागि गएको उक्त टोलीका सदस्य छेतेन शेर्पा भने पछिल्लो चार दिनदेखि सम्पर्कविहीन रहेका संघले जनाएको छ।
उनको खोजीका लागि एनएमएले सम्बन्धित कम्पनीसँगको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, जिल्ला प्रशासनका कार्यालय सोलुखुम्बु, नेपाल प्रहरी र नेपाली सेनासँगको समन्वयमा खोजी जारी राखिएको संघले जनाएको छ।
टोलीनेता नुरु शेर्पा र क्लाइम्बिङ गाइड कामी शेर्पाको नेतृत्वमा उनीहरुको पैदलयात्रामार्फत पनि खोजी जारी छ। रासस
Shares

प्रतिक्रिया