समाज


महाकाली नदी गाउँ पस्यो, हजारौँ घर डुबानमा

महाकाली नदी गाउँ पस्यो, हजारौँ घर डुबानमा

गोकुल जोशी
कात्तिक २, २०७८ मंगलबार ८:३२, काठमाडौँ

आइतबार बेलुकादेखिको अबिरल वर्षाले कञ्चनपुरका अधिकांश बस्ती डुबानमा परेका छन्। महाकाली नदीमा पानीको बहाब उच्च भएपछि नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका प्रहरीले जनाएको छ।
। 
महाकाली नदी तटीय क्षेत्रमा पर्ने भीमदत्त नगरपालिको ब्रह्मदेव बजारदेखि पिपरियासम्म र दोधारा–चाँदनी नगरपालिकाको कुतियाकबर, शान्ति टोल, निसानी टोल लगायत बस्ती बाढीको कारण डुबानमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए।

‘महाकालीमा पानीको बहाब उच्च छ । नदी आसपासका बस्ती डुबानमा परेका छन्,’ उनले भने, ‘उद्धारका लागि प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ।’

महाकाली नदीमा मंगलबार बिहान ७ बजेसम्म पानीको बहाब ४ लाख ६१ हजार ७ सय २८ क्युसेक पुगेको छ । यस्तै जिल्लाका अन्य नदीमा पनि पानीको बहाब उच्च भएपछि जिल्लाका नौ वटै स्थानीय तहका बस्ती डुबानमा परेका छन्।

पहुँच मार्ग कटान
महाकाली नदीमा निर्माणाधीन ४ लेनको पक्की पुलको पहुँच मार्ग नदीले कटान गर्न थालेको छ। भीमदत्त नगरपालिका–१२ बैजनाथ मन्दिर नजिक महाकाली नदीले पुलको पहुँच मार्ग पक्की सडक कटान गर्न थालेको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष लालबहादुर शाहीले जानकारी दिए।

महाकाली नदीले पहुँच मार्ग कटान गर्न थालेपछि नदी पुरै गाउँ पस्ने खतरा बढेको छ। ‘महाकाली नदीमा पानीकोे बहाब धेरै हुँदा १०० मिटर पक्की सडक बगाएको छ । पानी पर्ने क्रम बढिरहेकाले नदीले सडक कटान गरिरहेको छ,’ उनले भने, ‘एक घण्टासम्म यस्तै अवस्था रह्यो भने महाकाली नदी पुरै गाउँ पस्ने खतरा छ।’

नदीले पहुँच मार्ग कटान गर्न थालेपछि ऐरी, ओदाली, बडैपुर, सोना टोल, विजया टोल, पिपरिया लगायत क्षेत्रमा महाकाली पस्ने खतरा बढेको हो । त्यस क्षेत्रमा करिब दुई हजार परिवारको बसोबास छ।

 ‘गाउँहरु डुबानमा परेर हामी बाहिर निस्किन सक्ने अवस्थामा छैनौँ । सडक कटान भइरहेको छ, महाकाली पुरै गाउँ पस्यो भने ठूलो क्षति हुनसक्छ,’ उनले भने, ‘त्यसैले सबैले सतर्कता अपनाउनु पर्छ । अहिले गाउँकै युवाहरुले उद्धार गरिरहेका छन् । प्रशासनले यसलाई गम्भिरताका साथ लिनु पर्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad