समाज


घर फर्किन नपाउँदा २९ वटा दसैं भारतमै

घर फर्किन नपाउँदा २९ वटा दसैं भारतमै

विद्यानाथ अधिकारी
असोज २८ , काठमाडौँ

रातो भाले करायो होला, घरैमुनि सुकेको बाँसैमा
यसपालि त यस्तै भो आमा अर्को साल आउने छु दसैँमा...

भारतको चण्डिगढ सेक्टर–२८ मा जनगायक जीवन शर्माको दसैँ गीत बज्न थाल्छ। त्यहाँ भेला भएका नेपाली नाच्न थाल्छन्। दसैँको शुभकामना आदानप्रदान गर्छन्। अनि ठूलाले सानालाई टीका लगाइदिन्छन्। र, सामूहिक खानपान गर्छन्।

वर्षौंदेखि परदेशमा रहेका यी नेपाली हरेक दसैँमा यसरी नै अर्को साल घर फर्किने आशमा उतै दसैँ मनाउँछन्। तर अर्को सालमा पनि सबैलाई घर फर्किने साइत कहाँ जुर्छ र! परिवार पाल्न परदेशिएका उनीहरु हरेक दसैँ–तिहारमा सामूहिक रुपमा नाचगान, खानपिन गरेर गाउँघरको न्यास्रो मेट्ने प्रयास गर्छन्। यसरी एक वर्ष, दुई, तीन गर्दै वर्षौं बित्छ।

गुल्मीको मालिका गाउँपालिका–६ अर्जैका खिमराज चालिसे कयौं वर्षदेखि भारतमै दसैँ मनाइरहेका छन्। सन् १९८९ मा १५ वर्षको कलिलो उमेरमै मजदुरी गर्न भारत भासिएका चालिसे झन्डै  ३२ वर्षको अवधिमा आक्कलझुक्कल मात्रै दसैँ मनाउन घर फर्किन पाएका छन्। तीन दशकभन्दा लामो समयसम्म परदेशी जीवन बिताएका चालिसेले २९ वटा दसैँ भारतमै मनाइसकेका छन्।

भारतमा कति नेपाली मजदुरी गर्न जान्छन्, त्यसको यथार्थ तथ्यांक सरकारसँग छैन। हरेक वर्ष सयाैँको संख्यामा नेपाली भारतका विभिन्न सहरमा कामका लागि जान्छन्। यसरी काम गर्न जानेहरुको संख्या लाखौं छ। तीमध्ये कैयौं नेपाली चाडपर्वमा घर फर्किन्छन्, कतिपय फर्किन पाउँदैनन्। 

घर फर्कन नपाए पनि नेपाली समुदायले आफ्नो परम्परा र चाडपर्व नमनाइरहन भने सक्दैनन्। जहाँ जस्तो अवस्थामा छन्, भेला भएर दसैँ, तिहार, छठजस्ता पर्व मनाउने गर्छन्। आफ्नो सबैभन्दा ठूलो पर्व दसैँमा पनि वर्षाैंसम्म घर फर्किन नपाउने नेपालीहरु मनमा पीडा भए पनि एकै ठाउँमा भेला भएर दुःखसुख साट्ने र रमाइलो गर्ने गर्छन्।

 

खिमराज चालिसे ती प्रतिनिधि पात्र हुन्, जो बाध्यताले मुग्लान पसे, तर वर्षौंसम्म भनेका बेला घर आउन पाएनन्। विदेशी भूमिमै वर्षौं बिताए र प्रायः सबै चाडपर्व उतै मनाए। 

चालिसे भन्छन्, ‘३२ वर्षअघि भारत आएपछि तीनपकट मात्रै दसैँमा घर फर्किएको छु। २०६७ सालपछि त हरेक दसैँ यतै (भारत) मै मनाउने गरिएको छ।’

चालिसेलाई दसैँमा घर फर्किन र आमाको हातबाट टीका लगाउने इच्छा नभएको भने होइन। १५ वर्षको उमेरमा घरबाट हिँडेका उनले अनेकौं हण्डर सहे। कोठी, अफिस ब्वाई, चौकिदारीदेखि धेरै खालका मजदुरी गरे। त्यही मजदुरीले उनलाई चाहेको बेला घर फर्किन दिएन। मजदुरी छाडेर आउन उनले घरको अवस्था सम्झे। 

प्यारालाइसिसले थलिएका बुवा जयरामको नौपटक त अपरेसन नै भयो। घरको आर्थिक अवस्था कमजोर। मजदुरी नगरी बुवाको उपचार सम्भव थिएन। ६ जना भाइबहिनीको गर्जो टार्ने जिम्मा पनि उनैको काँधमा थियो।

चालिसे भन्छन्, ‘घरको जेठोबाठो छोरो कलिलो उमेरमै सबै जिम्मेवारी काँधमा आयो। न चाडपर्वमा घर आउन पाइयो, न त, गाउँका साथीसँग खेल्न रमाउन नै पाइयो।’

लामो समय प्रवासमा बिताएका नेपाली चाडपर्वमा घर फर्किन नपाउँदा खिन्न हुन्छन्। चालिसेलाई पनि सुरुका वर्षहरुमा त्यस्तै भयो। आफूले काम गरेको आसपासमा नेपाली बोल्ने मानिस पाउन पनि मुस्किल हुन्थ्यो। तर, काम गर्दै जाँदा उनले आफूजस्तै सयौं नेपालीहरु भेटे। र, दुःखसुख साट्न थाले। अनि उनी पनि प्रवासमै रमाउन थाले। 

उनी भारतस्थित नेपालीहरुको संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध छन्। समाजका केन्द्रीय सल्लाहकार रहेका चालिसे समाजका अन्य सदस्यसँगै नेपालीबीच भेटघाट, रमाइलो गर्ने, सामूहिक रुपमा चाडपर्व मनाउने गर्छन्। त्यति मात्र होइन, जहाँ नेपालीलाई समस्या परेको थाहा पाउँछन्, उनकाे टोली तत्काल उद्धार र सहयोगमा खटिन्छ।

केही वर्षयता उनको पनि आफ्नै पसल छ। पसलमा साथ दिएकी छन्, श्रीमती जुनाले। दुई छोरा सुरज (२२) र दीपक (१९) ले बुबा आमालाई मद्दत गर्छन्।

परिवारकाे साथमा खिमराज

खिमराज र जुनासँगै चण्डिगढ सेक्टर–२८ मा ८/१० परिवार नेपाली बस्छन्। अर्घाखाँचीका दिनेश खड्का, अर्घाकै सरस्वता भुसाल, गुल्मीका विष्णु अर्याल, कास्कीका रुद्र अधिकारी र लक्ष्मी अधिकारीलगायत नेपाली त्यहाँ कार्यरत छन्। ती सबै नेपाली मजदुरीसँगै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध छन्। दिनेश खड्का समाजका केन्द्रीय सदस्य हुन् भने अरु नगरस्तरका कार्यकर्ता। 

दसैँ, तिहार, तीजजस्ता चाडपर्वमा यी नेपाली मूल प्रवाहले नै आयोजन गर्ने कार्यक्रममा भेला भएर, टीका लगाउने, खानपान र नाचगान गर्ने, देउसीभैलो खेल्ने गरेर रमाइलो गर्छन्। 

चालिसे भन्छन्, ‘हामी नेपाली समुदायमाझ चाडपर्व मनाउँछौँ। सामूहिक रुपमा भेला भएर गरिने रमाइलोले गाउँघरको न्यास्रो मेट्छ। आफ्नो संस्कृतिको पनि संरक्षण हुन्छ। नेपालीहरुको एकता र गतिविधि देखेर यहाँका स्थानीय नागरिकहरु समेत छक्क पर्छन्।’

मूल प्रवाहले चाडपर्व मनाउने र रमाइलो मात्रै गर्ने नभई नेपालीलाई पर्ने हरेक समस्यामा साथ दिने गरेको उनको भनाइ छ। भारतमा सामान्य मजदुरी गर्न जाने नेपालीले अनेक दुःखकष्ट सहनुपरेको चालिसे बताउँछन्।

‘मजदुरी गर्न आउने नेपालीका अनेकौं समस्या हुन्छन्,’ उनी भन्छन्,  काम नपाएर भोकै बस्नुपर्ने, समयमा तबल नदिने, बेखर्ची भएर भौँतारिनुपर्ने कुटपिट, लुटपाट गर्ने वा ठगीमा पर्नेजस्ता समस्या छन्। मूल प्रवाहले सम्भव भएसम्म नेपाली समूदायलाई हरेक समस्यामा मद्दत गर्छ।’

सुरुका वर्षहरुमा भारतमा नेपाली बोल्ने मान्छेसमेत पाउन गाह्रो हुने गरेकोमा एकता समाजमा सामेल भएपछि अहिले त्यस्तो समस्या नरहेको चालिसे बताउँछन्। बरु त्यहाँका स्थानीय भारतीयहरु पनि नेपाली समुदायसँगै रमाइलो गर्न आउँछन्।

सामूहिकतामा रमाउँदा नेपाली ठगिने, लुटिने वा हेपिनुपर्ने बाध्यता पनि कम भएको छ। नेपालीहरु केवल ‘लेबर’ र चौकिदार मात्र होइन, व्यापार/व्यवसाय गर्न र राम्रो स्तरका काम गर्न पनि सक्षम छन् भन्ने सन्देश स्थानीयलाई दिएका छन्। कहीँ नेपाली अलपत्र परे वा समस्यामा परेको थाह पाए भने भारतीयहरुले नै नेपाली समाजलाई खबर गर्ने गर्छन्।

कलिलो उमेरमा चौकिदारी गर्न भारत पसेका खिमराजले नेपालीलाई हुने सबै पीडा सहेका छन्। र, त उनी अहिले कुनै नेपालीलाई समस्या पर्नासाथ साथ मद्दत गर्न पुगिहाल्छन्। गुल्मीको अर्जै माविबाट एसएससी दिएर हिँडेका चालिसेले भारतमा आफ्नो अध्ययनलाई अगाडि बढाउन प्रयास गरे। तर कामको चापले सोचेजस्तो भएन। तैपनि मूल प्रवाह एकता समाजले आफूलाई चेतना दिएको र आफ्नो लागि यही संगठन नै विश्वविद्यालय बनेको चालिसे बताउँछन्।

चालिसे भन्छन्, ‘एकता समाज हाम्रो विश्वविद्यालय हो, यसले नै हामीलाई राजनीतिक चेतना दियो। समस्यामा परेका नेपालीलाई मद्दत गर्न सिकायो। अनि कमाउँदै रमाउन पनि सिकायो।’

अहिले लाखौं नेपालीहरु भारतलगायत विभिन्न देशमा छरिएर बसेका छन्। कामको चाप र अरु विभिन्न समस्याले ती नेपाली चाहेको बेला चाडपर्व मनाउन घर फर्कन पाउँदैनन्। चालिसेले भनेजस्तै चाडपर्वमा घर फर्कन नपाउने नेपालीहरु अत्यन्त पीडाको महसुस गर्छन्।

स्वदेशमा नेपालीहरु परिवारसँग दसैँ मनाउँदै रमाइरहेका बेला समेत कैयौं युवा हातमा पासपोर्ट र झोला बोकेर रुँदै बाहिरिएका कारुणिक दृश्य देखिन्छ।

जनगायक जेवी टुहुरेको यो गीतजस्तै- 

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदछ, 
लाखौंको लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ....

असोज २८, २०७८, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad