समाज


प्रहरी हिरासतमै एक थुनुवाको मृत्यु, सुनसरीको इनरुवा तनावग्रस्त

प्रहरी हिरासतमै एक थुनुवाको मृत्यु, सुनसरीको इनरुवा तनावग्रस्त

नेपालखबर
असोज २४, २०७८ आइतबार १२:२९, सुनसरी

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक जना झुन्डिएको अवस्था फेला परेपछि स्थानीयले आन्दोलन गरेका छन्। 

स्थानीयबासीले नाराबाजी गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेपछि इनरुवा बजार तनावग्रस्त भएको छ। 

अभद्र व्यवहारको मुद्दामा थुनामा रहेका भोक्राहा नरसिंह गाउँपालिका-५ का मोहम्मद हाकिम मन्सुरीको मृत्यु भएको थियो।

पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरी माथि आक्रमण थालेपछि झडप समेत भएको छ। ढुङ्गामुढा भएपछि प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रु ग्यास प्रहार गरेको छ ।

झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन्। प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन्। उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छन्।

उता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताए। उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानबिन हुने बताए।

प्रहरीले प्रदर्शनकारीलाई हटाउन पटक पटक प्रयास गरेपनि उग्र बनेको समूह प्रहरी माथि जाई लागेको थियो। झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति समेत पुगेको छ।

कार्यालय र इनरुवा बजार क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्धामा पक्राउ परेका मोहम्मद हाकिम मन्सुरी अनुसन्धानको क्रममा थुनामा थिए।

पीडित पक्षले भने केटाकेटी राजीखुशीले भागेको विषयमा राजनीति लादिएको बताएका छन्। उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन । 

प्रहरी स्रोतका अनुसार मियाले खत्वे थरकी एक युवतीलाई भगाएका थिए । तर, केटी पक्षले उजुरी गरेपछि मिया र खत्वेलाई प्रहरीले धनकुटाको हिलेबाट नियन्त्रणमा लिएको थियो ।

हिलेबाट सुनसरी सदरमुकाम इनरुवा ल्याएर खत्वेलाई परिवारको जिम्मा लगाइयो। तर, मियालाई अभद्र व्यवहार भन्दै थुनामा राखिएको थियो।

भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad