ad ad

समाज


कुमार पौडेल हत्या: बादल र सर्वेन्द्रसहित १२ जनाविरुद्ध सर्लाहीमा जाहेरी दर्ता

कुमार पौडेल हत्या: बादल र सर्वेन्द्रसहित १२ जनाविरुद्ध सर्लाहीमा जाहेरी दर्ता

उजिर कार्की
असोज २०, २०७८ बुधबार १८:१२, काठमाडौँ

कुमार पौडेलको हत्या अभियोगमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र पूर्वआईजीपी सर्वेन्द्र खनालसहितलाई जोडेर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता भएको छ।

२०७६ असार ५ गते प्रहरीको गोलीबाट मारिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही इन्चार्ज कुमार पौडेलका परिवारले बुधबार जाहेरी दर्ता गरेका हुन्।

सर्वोच्च अदालतको आदेशअनुसार जिल्ला सरकारी वकिल कार्यालयको रोहबरमा जाहेरी दर्ता भएको पीडितका कानुन व्यवसायी इन्द्र अर्यालले बताए।

कुमारकी आमा दुर्गादेवी पौडेलले दिएको जाहेरीमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र पूर्वआईजीपी सर्वेन्द्र खनाल पनि जोडिएका छन्।  उनीहरुविरुद्ध किटाणी जाहेरी नभए पनि उनीहरुको निर्देशनमा पौडेलको हत्या भएको परिवारको दाबी छ। 

उनीहरुविरुद्ध अनुसन्धान गरेर कारबाही गर्न सकिने अधिवक्ता अर्यालले बताए। 

पौडेलको लालबन्दी नगरपालिका १ स्थित लखन्देही जंगलनजिकै हिरापुरतर्फ जाने कच्ची सडकको बाँसघारीमुनि २०७६ असार ५ गते दिउँसो हत्या भएको थियो।  

हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो। तर, प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो। 

२०७६ माघ २३ गते जिल्ला सरकारी वकिल कार्यालयमा समेत परिवारले जानकारी गराएको थियो। घटनाको हालसम्म सत्य तथ्य अनुसन्धान नभएको र किटानी जाहेरी पेस गरे पनि अनुसन्धानको प्रक्रियाबारे केही जानकारी नदिएको भन्दै पौडेलकी आमा दुर्गादेवीले निवेदन दिएकी थिइन्। 

वकिल कार्यालयमा निवेदन दिएपछि पनि कारबाही अगाडि नबढेपछि दुर्गादेवीले सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन्। 

कुमार पौडेलको हत्या गरिएको दाबीसहित उनकी आमा दुर्गादेवीले कर्तव्य ज्यानको कसुरमा किटानी जाहेरी दिएकी छन्। 

जाहेरीमा तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, सर्लाहीका तत्कालीन प्रहरी प्रमुख एसपी गोपाल भट्टराई, तत्कालीन प्रदेश प्रहरी प्रमुख डीआईजी हरिबहादुर पाल, इलाका प्रहरी कार्यालय लालबन्दीका निरीक्षक किरणप्रसाद न्यौपाने, इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत नायब निरीक्षक सूर्यकुमार कार्कीको संलग्नता रहेको दाबी गरिएको छ।

यस्तै जिल्ला अस्पताल सर्लाहीमा कार्यरत डा. वीरेन्द्रकुमार मण्डल, प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी हवल्दार सत्यनारायण मिश्र, सोही कार्यालयमा कार्यरत हवल्दार विनोद शाह, प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह, बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको नाममा पनि किटानी जाहेरी छ। 

तर, जिल्ला प्रहरी कार्यालयमा त्यतिबेला दिइएको जाहेरीमा पूर्वगृहमन्त्री थापा र पूर्वआईजीपी सर्वेन्द्र खनालको आदेशमा भएको भनिएको छ। संलग्नको बयानबाट खुलेपछि सोही अनुसार संलग्नहरुलाई सजाय गर्न माग गरिएको छ। 

आवश्यक परे पुरक निवेदन दिने र थापा र खनालविरुद्ध पनि किटान गर्ने उल्लेख छ। तर, त्यो जाहेरी प्रहरीले दर्ता नै गर्न अस्वीकार गरेको थियो। 

राष्ट्रिय मानवअधिकार आयोगले पौडेललाई प्रहरीले पक्राउ गरेर ९ राउन्ड गोली हानी हत्या गरेको निष्कर्ष निकालेको थियो। 

आयोगले सरकारलाई ८ बुँदे निर्देशनसमेत जारी गरेको थियो। जसमा घटनामा प्रहरीलाई निर्देशन दिने तालुकदार निकायका पदाधिकारी तथा आदेश दिने अधिकारी समेतलाई कानुनको दायरामा ल्याउन भनिएको थियो। 

प्रतिवादीहरुलाई संलग्नताका आधारमा मुलुकी अपराधसंहिता २०७४ को दफा ३३, दफा ३५, दफा ३६ साथै मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ अन्तर्गत अनुसन्धान गरी सजाय गर्न माग गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .