समाज


तिहारका तीन दिन यस्तो रहनेछ मौसम

तिहारका तीन दिन यस्तो रहनेछ मौसम

नेपालखबर
कात्तिक १०, २०७६ आइतबार २:४०,

तिहारका तीन दिन अर्थात् आज (आइतबार) देखि पर्सि (मंगलबार) भाइटीकाका दिनसम्म देशैभर मौसम पूरै सफा नरहे पनि एक/दुई स्थानबाहेक वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार बिहान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आगामी तीन दिन पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाबाहेक अन्य स्थानमा पानी पर्ने सम्भावना छैन।

मौसमविद् राजु प्रधानांगका अनुसार यतिबेला (आइतबार बिहान) देशका पूर्वी र मध्य क्षेत्रमा मौसम आंशिक (थोरै) बदली भएको छ भने पश्चिमी भेगमा करिब–करिब मौसम सफा छ। आज दिनभरजसो मौसमी अवस्था यस्तै रहने उनको अनुमान छ।

‘अपराह्नतिर देशका मध्य तथा पूर्वी पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना देखिन्छ,’ नेपालखबरसँग मौसमविद् प्रधानांगले भने, ‘अन्य स्थानमा आज पानी पर्ने सम्भावना छैन।’

अहिले काठमाडौं उपत्यकालगायत आसपासको मौसम पनि सफा नै रहेको उनले जानकारी दिए। उपत्यकाको मौसम पनि दिनभर यस्तै रहने उनको अनुमान छ।

अरब सागरमा चक्रवात, नेपालमा असर पार्दैन
मौसमविद् राजु प्रधानांगका अनुसार अरब सागरको उत्तर-पूर्वी भागमा अहिले ‘क्यार’ नामक चक्रवात अवस्थित छ र यो उत्तर-पश्चिमी दिशातर्फ (ओमन तर्फ) बढिरहेको देखिन्छ। तर यस प्रणालीको प्रभाव नेपालमा पर्ने सम्भावना छैन ।

बंगलादेश तथा भारतको पश्चिम बंगालआसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीका कारण नेपालमा मौसम बदली भइरहेको उनले बताए।

हेरौं महाशाखाले जारी गरेको तीन दिनको मौसमी अनुमान :
कार्तिक १० गते आइतबार
दिउँसो : देशका मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका मध्य तथा पूर्वी पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति : देशका पूर्वी तथा मध्य भूभागमा आंशिकदेखि सामान्यसम्म बदली र पश्चिमी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कार्तिक ११ गते सोमबार
दिउँसो : देशभर आंशिक बदली रहनेछ। पूर्वी पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति : देशभर आंशिक बदली रहनेछ।

कार्तिक १२ गते मंगलबार
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad