समाज


पाक्न आँटेको धान हात्तीबाट जोगाउन रातभर सुत्दैनन् किसान

पाक्न आँटेको धान हात्तीबाट जोगाउन रातभर सुत्दैनन् किसान

नेपालखबर
असोज १७, २०७८ आइतबार ९:४७, काठमाडौँ

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका बासिन्दा जंगली हात्तीबाट धानबाली जोगाउन रातभर जाग्राम बस्न थालेका छन्। 

धान खान आउने हात्तीको बथान भगाउनका लागि स्थानीय रातभर जाग्राम बस्ने गरेका हुन्। पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धान बाली खाएर नोक्सान पु¥याउन थालेपछि स्थानीयले राति सुत्नसमेत पाएका छैनन्। 

नगरपालिकाको चुरे क्षेत्र फेदीका धान बालीमा हात्तीको बथानले बढी नोक्सानी पु¥याउन थालेको छ। ट्रयाक्टरको ठूलो आवाज निकालेर, आगो बालेर, पटाका पड्काएर, उज्यालो पारेर र होहल्ला गरेर हात्तीको बथान भगाउँदै आएको शुक्लाफाँटा नगरपालिका ८ का अध्यक्ष बहादुरसिंह महराले जानकारी दिए।

‘दर्जनौँको सङ्ख्यामा साँझ नपर्दै खेतबारीमा हात्तीको बथान पस्ने गरेको छ,’ उनले भने, ‘स्थानीय बासिन्दा हात्ती भगाउनका लागि एक हप्तादेखि राति सुत्न पाएका छैनन्।’ स्थानीयवासीले हात्ती धपाउन रातमा पालैपालो पहरा दिने गरेका वडाध्यक्ष महराले बताए।

जङ्गली हात्तीले स्थानीय किसानको छ बिघा बढी जग्गामा लगाएको धान बाली खाएर सखाप पारिसकेको छ। बेलडाँडी, पारिफाँटा, पिल्लरीफाँटा, कसरौल, गर्जुमनी, खजुवा, पिपलाडीलगायतका क्षेत्रमा हात्तीले बढी क्षति पु¥याएको किसानले बताएका छन्।

साँझपख कुन ठाउँमा हात्ती आउन थालेका छन् त्यसबारे एक गाउँका बासिन्दाले अर्को गाउँका बासिन्दालाई जानकारी दिई सजग बनाउने कार्यसमेत गर्दै आएका छन्। सोहीअनुसार सतर्कता अपनाइ हात्तीलाई भगाउने गरिएको स्थानीयवासी मदन धामीले बताए। 

हात्तीकै डरले धेरै किसानले पाक्न नपाउँदै धान काटेर थन्क्याउनसमेत थालेका छन्। हात्तीको बथान विगत सात वर्षदेखि निरन्तररूपमा यस क्षेत्रमा आउने गरेको छ।

बथानले खेतमा लगाएको धान बालीसँगै घरभित्र राखेको अन्न खाने र घर नै भत्काइदिने गरेकाले स्थानीय बासिन्दा निकै त्रसित भएका छन्। दुई वर्षअघिमात्रै नगरपालिकाको बन्साहका एक व्यक्तिको हात्तीको आक्रमणमा परेर मृत्युसमेत भएको थिय ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र चुरे फेदीका बस्तीमा हात्तीले बढी क्षति पु¥याउँदै आएको छ।

यसैगरी हात्तीले बेदकोट र भीमदत्त नगरपालिका तथा लालझाडी गाउँपालिकाका किसानले खेतमा लगाएको धान बालीमा समेत नोक्सन पु¥याउँदै आएको छ । हात्ती भगाउनकै लागि सुरक्षा निकायसमेत परिचालन हुने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad