सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छामा पारेकोमा आपत्ति प्रकट गरेका छन्।
अख्तियारले प्रदेश २ मा थालिएको 'बेटी पढाऊ बेटी बचाऊ' कार्यक्रम अन्तर्गत करोडौँको साइकल खरिदमा करोडौँ भ्रष्टाचार भएको आरोपमा अख्तियारले बुधबार जनकपुर पुगेर छापा मारेको थियो।
अख्तियारले गत चैतमा वीरगन्जको ओम सत्यसाई प्रालिमार्फत खरिद गरिएको १७ हजार २६२ साइकलमा उत्पादक कम्पनीको नामबिना, मोडल र ब्रान्डको खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियारले छापा मारेको थियो।
अख्तियारको केन्द्रीय कार्यालय र बर्दिबाट कार्यालयबाट पुगेको टोलीले मुख्यमन्त्रीको कार्यालयबाट कयौँ कागजपत्र बरामद गरेर अनुसन्धानका लागि लगिसकेको छ।
लालले यही प्रकरणलाई लिएर अख्तियारको आलोचना गरेका हुन्। उनले अख्तियारले अनुसन्धान गर्न पाउने भए पनि मुख्यमन्त्रीको कार्यालयमा छिरेर मानहानी गरेको गुनासो गरेका छन्।
'अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरूद्ध अुसन्धान गर्न पाउने हो, तर निर्वाचित प्रदेश २ को सरकार प्रमुखको शक्ति तथा गरिमामा आघात पुग्ने गरी, छापामारी शैलीमा अनुसन्धानको प्रक्रिया थाल्नु आपत्तिजनक र दुराशयपूर्ण हो', उनले भनेका छन्, 'अख्तियारको यो कदम गलत हो भन्ने कुरामा दुईमत हुन सक्दैन।'
मुख्यमन्त्रीको कार्यालयमा छिरेर अख्तियारले अमर्यादित काम गरेको पनि उनले आरोप लगाएका छन्।
'यस्तो अमर्यादित काम कारवाहीबाट नराम्रो नजीर बस्ने हॅुदा आगामी समयमा समेत प्रदेश सरकारहरुमा हीनताबोध हुने भइ विकेन्द्रीकरण, जनसहभागिता र जनकल्याणका कार्यहरूमा प्रतिकूल प्रभाव पर्ने हुन्छ', उनले भनेका छन्।
Shares

प्रतिक्रिया