‘कीर्तिपुर पाँगाको चौधारानिर आइपुग्नुस्। म लिन आउँछु,’ टेकबहादुर सुनारले हामीलाई ठेगाना दिए।
चौधारा पुगेर केहीबेर कुरेपछि उनी हामीलाई लिन आए। त्यहाँबाट पूर्वपट्टिको सानो बाटो हुँदै केही मिनेट हिँडेपछि टिनले छाएका, टिनैले बारेका गुचमुच्च परेका तीन छाप्रा भएको स्थानमा हामी पुग्यौँ। जहाँ टेकबहादुरकी आमा अमृता सुनार थिइन्।
हुम्ला, अदानचुली–४ की वडा सदस्य अमृता सुनारसँगको तस्बिर केही दिनअघि उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसालले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। हुम्लेली पहिरन लगाएकी महिलाले मन्त्रीसँग सिंहदरबारमा कुम जोडेर खिचाएको तस्बिर सार्वजनिक भएपछि उनीबारे चासो चुलिएको छ।
तस्बिरमा मन्त्री र वडा सदस्य एकअर्काको कुममा हात राखेर खुलेर हाँसेका देखिन्छन्। मानौँ, दुवैबीच वर्षौँको चिनजान होस्। तर, अमृताले उनलाई पहिलो पटक भेटेकी हुन्।
विकट गाउँकी अमृताले प्रौढशिक्षा मात्रै पढेकी छन्। हस्ताक्षर गर्न खोज्दा पनि उनका औँलाहरु काँप्छन्। मोबाइल बोक्दिनन्।
पाँगाको छाप्रोमा उनका आफन्तहरु तरकारी खेती गरेर गुजारा चलाउँदा रहेछन्। अमृता त्यहीँ बसेकी थिइन्। पहिलो पटक काठमाडौँ पसेकी हुम्लाकी दलित जनप्रतिनिधिको भोगाइ सुन्न हामी उनको वरिपरि बस्यौँ।
भिडियो
२०५९ सालदेखि नै उनी माओवादी पार्टीमा आबद्ध थिइन्। उनको छोरा टेकबहादुर १६ वर्षको उमेरमै जनमुक्ति सेनामा भर्ती भएका थिए। त्यसपछि उनी पनि त्यही पार्टीमा लागिन्।
‘छोरो माओवादीमा लागेपछि हामी अरु पार्टीमा कह्या जान्या भया त!’ उनले भनिन्।
स्थानीय तहको निर्वाचनमा कांग्रेस, एमालेकी प्रतिस्पर्धीलाई पछाडि पार्दै अमृताले वडा सदस्यको चुनाव जितिन्। वडासदस्यमा निर्वाचित भएको पनि साढे ४ वर्ष पुग्न लाग्यो। अब कार्यकाल ६ महिना मात्रै बाँकी छ।
तर, आफ्नो कार्यकालमा उनले जे गरौँला भन्ने सोचेकी थिइन, त्यो कहिल्यै गर्न पाइनन्। गाउँमा पानीको समस्या छ। त्यो समस्या समाधान गर्ने उनको लक्ष्य थियो।
गाउँमा एक घण्टा लगाएर खानेपानी बोकेर ल्याउनुपर्छ। तर, वडासदस्य भए पनि उनलाई न कहिल्यै गाउँपालिकाले योजनाबारे छलफलमा बोलाउँछ, न त बजेट नै दिन्छ। आफ्नो कुराको सुनुवाइ कहिल्यै नभएको उनको गुनासो छ।
कार्यकाल सकिने दिन नजिकिँदै गर्दा आफ्ना गाउँठाउँका लागि केही गर्न नसकेको कुराले उनको मन खाइरहन्थ्यो। त्यही छटपटीका कारण पहिलोपल्ट काठमाडौँ आउने हिम्मत उनले जुटाइन्।
उर्जामन्त्री भुसाललाई भेटेर उनले आफ्नो कार्यकाल सकिनुअघि गाउँमा केही काम गर्न चाहेको भन्दै बजेट छुट्याइदिन अनुरोध गरिन्।
‘लेखापढी आउँदैन। सिग्नेचर गर्न पन हामीकन राम्रोसँग आउँदैन। बोल्न राम्रोसँग आउँदैन। अब समय (कार्यकाल) टुंगिदै आयो। नाप नाप चेतना झाई बढ्यो,’ हुम्लेली लवजमा उनले भनिन्, ‘अब चेतना (केही गर्नुपर्छ भन्ने) बढिकन के गद्दा अब अर्कै मान्छे आउने समय (नयाँ निर्वाचन) आइसक्यो। त्यहीभर रुँदै, कहीँ खाना खाइकन, कहीँ भोकै रहँदै, कही नांगै रहँदै मु यहाँसम्म पुग्याँ।’
मन्त्रीसँग भेट्न अमृतालाई हुम्लाका सांसद छक्कबहादुर लामाले सहजीकरण गरिदिएका हुन्। त्यसपछि सिंहदरबार छिर्न उनका लागि पासको व्यवस्था भयो र छोरा र श्रीमानलाई साथ लिएर उनी भित्र पसिन्।
अमृता पहिलोपल्ट सिंहदरबार छिरेकी थिइन्। त्यहाँ ठुल्ठूला घर, चिल्लो बाटो देख्दा उनलाई निकै रमाइलो लाग्यो।
‘रमाइलो मान्यौँ। कुनाकान्द्रा बसेका मान्छे स्वर्ग देख्दा रमाइलो मान्यौँ,’ उनले सिंहदरबारभित्र पहिलोपल्ट पस्दाको अनुभव सुनाइन्।
मन्त्रालय पुगेपछि भुसालको व्यस्तताका कारण उनले केही समय कुर्नुपर्यो। १५–२० मिनेट कुरेपछि मन्त्री भुसाल बाहिर आइन्। सुरुमा मन्त्री देख्दा उनलाई डर लागेको थियो रे। कसरी बोल्ने भन्ने लागेकै बेला मन्त्री भुसालले उनलाई सजिलो पारिदिइन्।
‘तमु पनि महिला मु पनि महिला, दिदी (भुसाल)ले भन्नुभयो। अनि कुरा राख्यौँ,’ अमृताले सुनाइन्, ‘हामी नानोतिनो केही गरौँला। तमि दुविधा नमान्नुहोला। तम्रा नाममा हामी पठाइ दिउँला(योजना) भनेकी छिन्।’
अमृताका श्रीमान् बिरामी छन्। ऋण काढेर उपचार गराइरहेकी छन् उन। तर, मन्त्रीलाई भेट्दा उनले आफ्नो लागि केही मागिनन्।
अमृतालाई मन्त्रीसँग एउटै मात्र आशा छ। मन्त्री भुसालले गाउँमा एउटा सिँचाइ योजना पारिदिऊन्। त्यही योजना र बजेट पाए नासोका रुपमा लिएर गाउँ फर्किने उनको इच्छा छ।
‘ठूलो नदिए पनि यतयतो नासो। फलानी अमृता सुनारको नाममा फलानीले दिएको भनेर दिनुपर्यो। माथि गइकन फलानीले ल्याई। फलानीले ल्याएको भनेर नाम राखान्ना भनेर मात्रै आएकी हुँ,’ अमृता भन्छिन्, ‘सिँचाइको व्यवस्था मिलाइदिए तरकारी लगाउने थियौँ, कृषि गर्ने थियौँ, खाने थियौँ। पानी छैन। खेतिसेती केही छैन। दुई महिना मात्रै खानलाई पुग्दो छ।’
उनको गाउँभन्दा माथि खोल्सा छ। खोल्साबाट कुलो बनाएर पानी ल्याई गाउँको सिरानमा ट्यांकी बनाउन सके बाह्रैमास सिँचाइ गर्न सकिने उनको भनाइ छ।
कुराकानीपछि मन्त्री भुसालले अँगालो हालेर फोटो खिच्न अनुरोध गर्दा अमृताको मुटु ढुकढुक भएको थियो। तर भुसालले एउटै पार्टीका मान्छे, दुवै महिला हौँ भनेपछि अमृताले अँगालो हाल्ने आँट जुटाइन्।
अन्त्यमा मन्त्री भुसालले ‘नाम पनि राम्रो रैछ बहिनी’ भन्दै तारिफ गरेपछि अमृता खुसी हुँदै सिंहदरबारबाट बाहिरिइन्।
तर, मन्त्री भुसालले बोलेका कुरा पुरा गर्छिन् कि गर्दिनन् भन्नेमा उनलाई अझै धुकचुक छ। यो भन्दा अगाडि पनि थुप्रैले यसो गर्छु उसो गर्छु भनेर आश्वासन दिएको तर, काम कसैले नगरेको उनले धेरै पटक भोगिसकेकी छन्।
‘मुखले त गर्छु बहिनी चिन्ता नगर्नुहोस् भनेकी छिन्। कामले हुन्या हो कि नहुन्या हो क्या था?’ उनले भनिन्, ‘पार्टीगत रुपमा कुरा राख्यौँ। दिए पनि दिन्नी नदिए पनि नदिन्नी। दिए पन राम्रै भयो। नदिए पन केही दुःख होइन।’
‘गाउँमा राणा शासनै छ’
पहिले गाउँमा हुनेखानेको रजगज थियो। दलित, कमजोरमाथि थिचोमिचो हुन्थ्यो। राज्यको स्रोत, साधनको उपभोग गरेर हुनेखानेहरु मोटाउने, सहरमा घर बनाउने हुन्थ्यो।
संघीयतापछि सिंहदरबारका अधिकार गाउँगाउँमा पुगेको भने पनि हुम्लामा राणा शासन कायम रहेको अमृताको भोगाइ छ। अझैसम्म आफूलाई गाउँमा योजना के के छन्, के के आउँछन् भन्नेबारे केही थाहा नदिइने उनले बताइन्।
आफ्नो चारवर्षे कार्यकाल गाईबाख्रा चराउँदैमा बितेको उनले बताइन्। गाउँपालिकाले वडाअध्यक्ष, सदस्यलाई गन्दै नगन्ने गरेको उनी बताउँछन्।
‘केही छलफल हुँदैन। क्या छ, कसो छ। कति योजना आएका छन्। कति राखेका छन् केही थाहा छैन।,’ उनले भनिन्, ‘दरबारको अधिकार गाउँघरमा गए पन राणा शासन नै छ हाम्रा हुम्लामा। डोम भन्ने छेडिएनाइँ। योजना लिए सक्नेले खान छडिएनाइँ। कोठे राजा पैदा भयाका छन्। आफू काठमाडौं घर हाल्ने, नेपालगञ्ज घर हाल्ने राजाहरु पैदा भए। हामी उस्ताका उस्तै छौँ।’
मन्त्रीसँग तस्बिर खिचाइसकेपछि पनि रित्तै हात फर्किनुपर्ला कि भन्ने डर उनलाई छ।
‘काठमाडौँ गई, मन्त्रीसँग फोटामात्रै खिची, केही ल्याइन भन्छन्। कुरा काटिहाल्छन् त गाउँलेले। अँगालो मारिछ केही योजना ल्याउन सकिन भन्या हुन्। क्षमता भए पो ल्याउने हो भन्या हुन्,’ उनले भनिन्, ‘मन्त्रीले कुरा गरेको जस्तो काम पनि गरे म आएजसो होला। नत्र आई फलानो मन्त्री भेट्न गई। फेसबुकमा फोटासोटा हाली। पम्फा भुसालसँग फोटामात्र खिचिछ केही ल्याइनछ भन्ने मात्र भया।’
Shares
प्रतिक्रिया