समाज


हेलम्बु २० वर्ष पछाडि परेको छैन भन्दै विश्वास बाँडिरहेका गाउँपालिका अध्यक्ष

हेलम्बु २० वर्ष पछाडि परेको छैन भन्दै विश्वास बाँडिरहेका गाउँपालिका अध्यक्ष

समर्पण श्री
असोज ६ , काठमाडौँ

सम्पर्क टुट्यो। हेलिकोप्टर नै बेपत्ता भएझैँ लाग्यो। 

बाढी र पहिरोले सिंगो गाउँ नै सोहोरिरहेको बेला हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भेम्राथाङको डाँडामा हेलिकोप्टर लिएर उक्लिएका थिए। आफन्तहरू त्राहित्राहि थिए।

‘नजानू भनेका थियौँ, जानुभयो। अहिले सम्पर्क पनि टुट्यो!’  उनीहरु त्रसित् थिए।

अध्यक्ष निमाको समूह अनुगमन गरेर सकुशल फर्कियो।

पहिलो पटक असार १ गते हेलम्बु र मेलम्चीका बस्ती नै विस्थापित हुनेगरी अनपेक्षित बाढी आयो। घर, पुल, बाटो, व्यवसाय, पानीका मुहान केही बाँकी रहेनन्।

उचाइमा रहेको भेम्राथाङबाट आएको थियो पहिरो। निमा असार ३ गते निजी हेलिकोप्टर लिएर जान खोजे। तर, त्यो दिन बादल लाग्यो। जान नसकेपछि बीचबाटै फर्किए। 

दोस्रो पटक असार १६ गते ठूलो पहिरो र बाढी आयो। जनजीवनलाई थप अस्तव्यस्त बनायो। 

मेलम्ची र हेलम्बुमा चिताउँदै नचिताएकोे विपत्ति हुनुको कारण के थियो त? निमा यसको कारण पत्ता लगाउन चाहन्थे। उनी पुनः भेम्राथाङ जान तम्सिए। 

शुभचिन्तकहरूले भने, ‘अध्यक्षज्यू, नजानुस्। ज्यान जोखिममा छ।’

उनले निडर भएर भने, ‘जान्छु। केही हुन्न। पत्ता लगाएर आउँछु।’

त्यसपछि पाइलटसहित ३ जनाको टोली भेम्राथाङको डाँडामा गयो। डाँडामा हेलिकोप्टर अवतरण गर्ने ठाउँ नै भेटिएन। एउटा कुनामा अवतरण भयो। त्यतिबेला सबै सम्पर्क टुट्यो र गाउँमा मानिसहरू आत्तिए। झण्डै एक घण्टा बसेका थिए त्यहाँ उनीहरू। पछि भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेपछि बाढी देखेरै मान्छेहरू आत्तिए। 

‘लेकबाट हिमपहिरो लडेर ठूलो चौरमा बसेछ। अनि चौरको छेउको भाग लडेर तल आएको रहेछ,’ उनले भने, ‘जेरो डिग्री सेल्सियसमा हिउँ जम्ने ठाउँमा पहिरो गएको समय तापक्रम ५ डिग्री सेल्सियसमा पुगेको रहेछ। त्यसैको कारण माथिबाट पहिरो आएको मैले निक्र्यौल गरेँ।’

त्यहाँबाट फर्केपछि उनले सीडीओ, गृहमन्त्री लगायतलाई आफूहरूले तयार पारेको भिडिओ देखाए। पहिरो जानुको प्रारम्भिक अध्ययनमा त्यो भिडिओले सहयोग गर्‍यो। त्यसपछि विज्ञहरूको टोली पनि भेम्राथाङतर्फ गए। 

बाढी र पहिरोमा परी १६ जनाको मृत्यु भयो। शव एक जनाको मात्र भेटियो, १५ जना अझै बेपत्ता छन्। २ सय २७ घर क्षतिग्रस्त छन्। बस्ती विस्थापित छन्। धेरैको अनुमान छ, ‘हेलम्बु अब २० वर्ष पछाडि धकेलियो।’

तर, अध्यक्ष निमा प्रतिप्रश्न गर्छन्, ‘कसरी पर्‍यो २० वर्ष पछाडि?’

पहिरो गएको केही दिनपछि उनको एउटा भिडियो सामाजिक सञ्जालमा छायो। जसका कारण असल जनप्रतिनिधिको आवाज भन्दै उनको प्रशंसा गरियो। 

उनले भनेका थिए, ‘हेलम्बु जुन ठाउँमा पुगेको थियो, हिउँदोमा त्यही ठाउँमा पुर्‍याउँछु। म बस्तीबस्तीमा गएर जनतालाई उत्साह जगाउने गर्छु, त्यो घर त्यो सम्पत्ति हामीले बनाएको होइन? यदि त्यो बचेर हामी नरहेको भए कसले खान्थ्यो?’

सिंगो हेलम्बु नै निराश भएको बेला यतिबेला निमा ग्याल्जेन शेर्पा भने त्यहाँका बासिन्दामा आशा भर्दै हिँडिरहेका छन्। इमान्दार जनप्रतिनिधिको रुपमा चिनिएका निमा गाउँपालिकालाई पुनः पहिल्यकै स्वरुपमा ल्याउन सकिने विश्वास बाँडिरहेका छन्। विपत्तिले दिएको चोटबाट मुक्त गर्ने प्रयास गरिरहेका छन्।

विनाशबाट पुनः उठेका देशका उन्नतिबारे उनले पढेका छन्। नियालेका छन्। हामीसँगको भेटमा निमा उही कुरा दोहोर्‍याइरहेका थिए, ‘हिउँद त आओस्, पुनः हेलम्बु जाग्नेछ।’

बाढी आएको दिन नै जनतालाई सुरक्षित स्थानमा सारेर हेलम्बु गाउँपालिकाले तत्कालै टेन्टको व्यवस्था गरेको थियो। 

‘त्यसपछि तत्काल अस्थायी जस्ताको टहरामुनि राखिदियौं। अब केही बस्ती सुरक्षित स्थानमा सारेर घर बनाउने प्रक्रिया अगाडि बढाउँदै छौँ,’ निमा भन्छन्। 

हेलम्बुमा अहिले विद्युत, टेलिफोन सञ्चालनमा आइसकेका छन्। यतिबेला सबैभन्दा ठूलो समस्या बाटोको सम्पर्क टुटेको छ। त्यो पनि दसैँअघिसम्म तयार गर्न आफूहरू लागि परेको निमाको भनाइ छ।

हेलम्बु र मेलम्चीमा यति ठूलो विपत्ति आइसकेपछि धेरैलाई लागेको छ– अब मेलम्चीको पानी काठमाडौंका धाराहरूमा झर्दैन। 

तर, निमा दाबी गर्छन्– ‘मेलम्चीको पानी दसैँभन्दा अगाडि काठमाडौँबासीलाई खुवाउन सकिन्छ।’

‘डोजर लगेर पुरेको भागलाई पन्छायो र मुहानमा बाटो पुर्‍याएर पुरेको ठाउँलाई सफा गर्‍यो भने मेलम्चीको पानी आउँछ,’ निमा भन्छन्। 

आपत्को बेला काठमाडौँबासीले हेलम्बुलाई सहयोग गरे पानी खुवाउन सकिने प्रतिबद्धता निमाको छ। 

‘छाती ठूलो बनाएर काठमाडौंबासीले सयहजार सहयोग गरे कति हुन्छ? ५० करोड उठ्छ। यसले त हेलम्बुलाई उठाउन सकिन्छ,’ उनी भन्छन्। 

काठमाडौं महानगरपालिकाले ५० लाख दिने निर्णय गरेको थियो। तर हेलम्बु गाउँपालिकाले अस्वीकार गरिदियो। 

किन त?

‘चित्त दुखाइ के हो भने काठमाडौँ महानगरले ५० लाख दिएर हुने केही होइन। सबैभन्दा ठूलो क्षति नै खानेपानीको मुहान रहेको मेलम्चीमा भएको छ। यतिबेला महानगरले अग्रसरता लिएर अलि धेरै सहयोग गर्नुपर्ने हो,’ निमा भन्छन्।

उदाहरणीय काम
निमालाई एक जना साथीले एक दिन भने, ‘हेलम्बुमा कर्मचारी जानै मान्दैनन्।’

‘किन?’

जवाफमा ती साथीले भने, ‘तपाईं दायाँबायाँ गर्नै दिनुहुन्न रहेछ, अनि कहाँ आउँछन् त?’

जनताबाट कमिसन लिने कर्मचारीलाई निमा तत्काल एक्सन लिन्छन्। उनी चाहन्नन्, आफ्नो गाउँपालिकाभित्र कमिसनको खेल होस्। 

‘म आफू पनि एक पैसा खान्नँ। कमिसन लिने र भ्रष्टाचार गर्ने जो कोहीलाई पनि छाड्दिनँ,’ निमाको प्रतिबद्धता छ।

तर, असल कर्मचारी पनि आफूले हेलम्बुमै भेटेको उनी बताउँछन्।

‘नेपालमा कर्मचारीले कामै गर्दैनन् भन्ने छ। तर हेलम्बुमा गरिरहेका छन्। म भन्छु, ‘हेलम्बुमा अमेरिकाबाट ल्याएको त होइन कर्मचारी! हामीले काम लगाउन जान्नुपर्यो। हाम्रोमा कति असल काम उनीहरूले गरिरहेका छन्,’ निमा भन्छन्।

हेलम्बुमा निमाले केही उदाहरणीय काम गरेका छन्। सुत्केरी महिलालाई नेपाल सरकारले तीन हजार रुपैयाँ दिन्छ। हेलम्बु गाउँपालिकाले अर्को तीन हजार थपेर ६ हजार दिने गरेको छ। एम्बुलेन्स निःशुल्क छ। 

राज्यले नीति बनाउँदा काठमाडौँ केन्द्रित भएर मात्र बनाएको उनको निक्र्यौल छ। 

‘सुत्केरी आमा तीन दिनमा एकचोटी स्वास्थ्यचौकी आउनुपर्छ। फलोअपका लागि सात दिनभित्र आमा दिदीबहिनीलाई चार दिन हिँड्नुपर्ने बाध्यता छ। त्यसलाई अन्त्य गर्न कर्मचारी सुत्केरी आमाको घरमै जाने गरेका छन्,’ उनी भन्छन्।

कोभिड महामारीको बेला निमा आफैँ डाक्टर लिएर गाउँगाउँ पुगेका थिए। कतिपयले भने, ‘‘अध्यक्षज्यू पहिला आफू बच्ने हो त्यसपछि जनता बचाउने हो।’

तर, उनको मनले मानेन। 

‘चुनावमा तपाईंहरूलाई हरेक समस्या पर्दा साथमा हामी हुन्छौँ भनेँ यतिबेला चाहिँ आफू लुकेर बस्ने त हुन्न नि,’ उनले जवाफ दिए।

दुई जना डाक्टर र औषधि लिएर गाउँमा गए। गाउँमा ठूलो संख्यामा दीर्घरोगी देखे। लकडाउनमा गाउँमा औषधि नहुँदा दीर्घरोगीले मृत्युवरण गर्नुपर्ने बाध्यता देखे। त्यसपछि उनले औषधि लगेर दिर्घरोगीलाई निशुल्क वितरण पनि गरे।

किसानहरूले देशभर मल अभवा बेहोरिरहँदा उनले कृषि सामग्री संस्थानकै मूल्यमा स्थानीयलाई मल उपलब्ध गराए। 

चुनावको बेला निमाको नारा थियो– हेलम्बु गाउँपालिकालाई देशकै नमुना गाउँपालिका बनाउँछु। 

उनले भनेका थिए, ‘म कुनै व्यक्ति बनाउन सक्दिनँ। तर हेलम्बु गाउँपालिका नै बनाइदिएँ भने त त्यहाँभित्र बस्ने सबै बने नि। हेलम्बु गाउँपालिकालाई दैशकै धनीहरू बस्ने गाउँपालिका बनाइदिन्छु।’

यसो भन्दा ‘अध्यक्ष पागल भयो’ भनेर टिकाटिप्पणी भए। तर, उनी चिन्तित भएनन्।

‘काठमाडौंमा जग्गा हुनेहरूको धेरैमा होला एक रोपनी, अनि चार आना, एक आना, ६ आना होइन त! एउटा घर बेच्यो भने तीन करोडसम्म होला। तर हेलम्बुलाई पर्यटकीय गन्तब्यको रुपमा अघि सारेर मूल्य त्यहाँ कन्भर्ट गरिदियो भने हेलम्बुमा त रोपनीका रोपनी जग्गा छन्। को धनी हुन्छ भन्नुस् त?’ उनी आफ्ना योजना सुनाउँछन्।

हेलम्बुमा ग्रेट वालको झल्को दिनेगरी बनिरहेको ग्रेट ट्रेल ६० किलोमिटर लामो छ। वर्षमा तीन चोटी हिउँ पर्छ। धेरै सुन्दर र रमाइला दृश्य नियाल्न सकन्छि। प्राकृतिक सौन्दर्यलाई पर्यटकीय गन्तब्यको रुपमा स्थापित गर्न सकिए त्यो सम्भव हुने उनको दाबी छ। 

‘हामीले बन्जी, प्याराग्याइडिङ टेस्ट गरिसक्यौँ। संरचना बनायो भने सम्भावना धेरै छ,’ उनी भन्छन्। 

भिडिओ :

असोज ६, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad