समाज


कर्णालीमा बेपत्ताहरूको कुश शव बनाएर अन्त्येष्टि

कर्णालीमा बेपत्ताहरूको कुश शव बनाएर अन्त्येष्टि

नेपालखबर
असार ५, २०७६ बिहिबार ७:३४,

हुम्लामा तीन दिनअघि कर्णाली नदीमा जीप खस्दा बेपत्ता भएका ११ जनाका परिवारले कुशको शव बनाएर सदगत गरेका छन्। उनीहरू जीवित भेटिने सम्भावना नरहेपछि कुश शव बनाएर अन्त्येष्टि गरिएको हो।

दुर्घटनामा बेपत्ता रहेकी खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीको प्रतीक शव कुशलाइ राष्ट्रिय झन्डा ओडाइएर अन्तिम श्रद्धाञ्जली दिइएको गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए।

बेपत्ताहरूको चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरीका गोताखोरहरुले बुधबारदेखि खोजी गरिरहेका छन्। घण्टौ खोज्दा पनि बेपत्ता रहेको जीप र यात्री भेटिएका छैनन्।

‘तीन दिनदेखि वेपत्ताहरुका खोजी चलिरहेको छ। स्थानीय बासिन्दा, सुरक्षाकर्मीले पहिलेदेखि नै खोजी गरिरहनु भएको छ। काठमाडौंबाट आएका गोताखोरले खोज्दा पनि केही भेटिएन’, खार्पुनाथ गाउँपालिकामा अध्यक्ष कर्ण रावलले नेपालखबरसँग भने, ‘परिवारका सदस्यहरुले बेपत्ता व्यक्ति मरेको ठानेर कुशको प्रतीक बनाइ दाहासंस्कार गरेका छन्।’

अन्य मृत्यु संस्कार पनि गरिने उनले जानकारी दिए। मंगलबार मध्यान्ह हुम्लाको खार्पुनाथको बेडुबिसौनीमा लु १ ज ७१६६ नम्बरका जीत दुर्घटना कर्णाली नदीमा खसेको थियो। सो स्थानको कर्णाली नदीको बहाब एकदमै तीव्र रहेकाले जीप र यात्रु भेटिन नसकेको हुम्लाका प्रतिनिधिसभाका सांसद छक्कबहादुर लामाले बताए।

‘पानी बहाव निकै तीव्र छ र पानी चिसो पनि छ। काठमाडौंबाट आएका गोताखोरहरुले पनि पानीभित्र बसेर धेरै खोज्न सक्नु भएको छैन,’ लामाले नेपालखबरसँग भने, ‘बाहिर नदेखिए पनि नदी भित्र दुई तीन तल्ला अग्ला ठूला ढुंगा छन् जसले खोज्न निकै समस्या भइरहेको छ।’

दुर्घटना तीन दिनपछि सो जीपमा ११ जना सवार रहेको खुलेको हो। लामाले डोजरका वेल्डिङ गर्ने राजु श्रेष्ठसँगै एक भान्से पनि जीपमा सवार भएको खुलेसँगै जीपमा सवारको संख्या ११ पुगेको हो।

दुर्घटनामा गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही, चन्द्र हमाल, नैनसिंह भण्डारी, मणि साही, बसन्ती शाही, नन्दादेवी सिंह, गोकुल सुनार, कौंरा दमाई र कौंराको दुई छोरा बेपत्ता भएका छन्। त्यसैगरी राजु श्रेष्ठ र उनीसँगै रहेकाे भान्से हराइरहेका छन् ।

यसैबीच स्थानीय बासिन्दाले खोजतलास गर्दा जीप बेपत्ता भएको स्थानभन्दा केही किलोमिटर पर उपाध्यक्ष शाहीको ब्याग भेटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .