ad ad

समाज


किन भासिन्छन् राजमार्गका पुल?

किन भासिन्छन् राजमार्गका पुल?

सुदीप भण्डारी
भदौ १४, २०७८ सोमबार १५:७, काठमाडौँ

लगातारको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–बर्दघाट खण्डका २ वटा पुलमा क्षति पुग्यो।

रुपन्देहीको देवदह नगरपालिकामा रहेको घोडाहा पुल र नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा रहेको तुरिया खोलाको पुल भासिँदा शुक्रबारबाट बुटवलबाट पूर्व तर्फ जाने यातायात सुचारु हुन सकेको छैन। केही सवारी साधन भने भैरहवा परासी हुँदै भुमही निस्केर गएका छन्। 

राजमार्ग निर्माण हुँदा निर्माण भएका यी पुल ५० वर्ष पुराना हुन्। तर पुरानो भएर मात्र पुल कमजोर भएका भने होइनन्। यी पुल भासिनुमा मानवीय कारण नै प्रमुख हुन्। 

सडक विभाग अन्तर्गतको पुल महाशाखाका उपमहानिर्देशक दिपक श्रेष्ठ, एडीबी निर्देशानलयका प्रमुख शुसिलबाबु ढकाल, डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनी लगायतको टोलीले भासिएका पुलहरुको आइतबार अनुगमन गरेकाे थियाे।

अनुगमनका क्रममा खोलाको सतह तल गएको पाइएको थियो। अर्थात पुलको जग कम भएको थियो। खोला गहिरिनु र पुल कमजोर हुनुको मुख्य कारण नदीजन्य सामग्रीको उत्खनन भएको पुल महाशाखा प्रमुख श्रेष्ठले बताए। 

‘उतिबेला ३ मिटर जग खनेर बनाएको पुल हो। अहिले गहिरिएर जग खोलाको लेबलमा छ’ उनले भने ‘नजिकै त्यतिका नदीजन्य सामग्री निकालिएको रहेछ। पुल कमजोर त हुने नै भयो नि।’ 
त्यस बाहेक खोला तथा नदी नजिकको जमिन अतिक्रमण हुँदा पनि पुललाई क्षति पुग्ने गरेको छ। खोला साँघुरिदा पनि गहिराइ पनि बढेको श्रेष्ठको भनाइ छ। 

‘नदी नियन्त्रणको लागि पुल माथि वाल हालिएको रहेछ। वालबाट पानी सिधै पुलको जगमा ठोकिएको छ’ उनले भने ‘नदीलाई मिच्ने, अतिक्रमण गर्ने, पुलको छेउबाट खन्ने गर्दा राजमार्गका पुलहरू जोखिममा परेका छन्। 

भौगोलिक बनावट र जलवायुमा आएको परिवर्तनले खोलाको सतह गहिरिँदा र माटो, बालुवा थुप्रिँदा पुलहरू कमजोर हुने गरेका छन्। केही प्राकृतिक कारण भएपनि मुख्यत मानवीय कारणले यस्ता समस्या आएको श्रेष्ठको भनाई छ। 

रुपन्देहीका नदी र  खोलाबाट नदीजन्य पदार्थको उत्खनन् निकै हुने गरेको छ। देवदह क्षेत्रका सामाजिक अगुवा तथा पुराना पत्रकार सिद्धिचरण भट्टराई नदीहरुमा अप्राकृतिक तरिकाले दोहन भइरहेको बताउँछन्। 

‘घोडाहा खोला नदीजन्य पदार्थको मुख्य आम्दानीको थलो हो। टिपरहरु खोलामा पस्ने ठाउँ बनाएका छन्। सयौं टिपर आउने जाने गर्थे त्यहीँको भागलाई खोलेर पुलको भागलाई हानेको छ’ उनले भने ‘नदीजन्य पदार्थ निकाल्न मापदण्ड त बनाइएको छ। तर मापदण्ड विपरित अप्राकृतिक तरिकाले नै दोहन भएको छ। जनप्रतिनिधि अर्थात अरु कोहीले कुरा उठायो भने घेराबन्दी गरिहाल्छन्।’

नदीजन्य पदार्थ बाहेक पनि ठूला ठूला भारवहन सहितको गाडीले पनि पुल कमजोर हुने गरेको भट्टराई बताउँछन्। 

‘पुल र बाटोको क्षमता एक प्रकारको छ। तर भारतबाट ठूला भारबहन सहित आएका गाडी निर्वाध गुडिरहेका छन्।’ उनले भने ‘त्यसले पनि पुललाई कमजोर गराएको छ। सरकारले जसरी समय समयमा मर्मत गर्नुपर्ने हो त्यस्तो भएको पाइँदैन।’

बुटवल नारायणगढ सडकका पुलहरू बेलाबेलामा भासिने र धसिने गरेका छन्। सन् १९७० मा बनेका कतिपय पुलहरू निकै कमजोर छन्। जंगल क्षेत्र भन्दा मानव बस्ती नजिकका पुलहरू बढी जोखिममा रहेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनी बताउँछन्।

अहिले पूर्व-पश्चिम राजमार्ग बजार भएको भएको ठाउँमा ६ लेन र बस्ती नभएको ठाउँमा ४ लेनमा विस्तार गर्ने काम भइरहेको छ। सडक विस्तारका क्रममा २० मिटर भन्दा साना पुल भत्काएर नयाँ पुल बनाइँदै छ। त्यो भन्दा लामा पुलको लागि भने अर्को ठाउँबाट २ लेनको पुल बनाउने योजना छ। 

बुटवल बर्दघाट सडक सुचारु हुन केही दिन लाग्ने 
रुपन्देहीको घोडाहा खोला र नवलपरासी पश्चिमको तुरीया खोलाको पुल भासिँदा यातायात सुचारु हुन सकेको छैन। घोडाहा पुल भएको नजिक डाइभर्सन बनाएर सडक सुचारु गर्ने प्रयास भइरहेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए। 

‘पानी पर्न रोकिएपछि डाइभर्सन बनाउँछौं। त्यसको एक हप्तामा सडक सुचारु हुन्छ’ उनले भने। 

तुरीया खोलामा भने बेलिब्रिज राखीने मरासिनीले बताए। अहिले भासिएको पुलभन्दा एक किलोमिटर तल अर्को पुल छ। साना गाडीहरु अहिले त्यहीबाट पार भइरहेका छन्। 

यी दुई ठाउँ बाहेक साना नयाँ पुल निर्माणका लागि ठाउँ ठाउँमा डाइभर्सन बनाइएको छ। ति डाइभर्सन पनि वर्षाले बगाएको छ। वर्षाका कारण नयाँ डाइभर्सन बनाउन कठिन भएको छ। सडक अवरुद्ध हुँदा अहिले केही गाडीहरु बुटवलबाट भैरहवा परासी हुँदै भुमही निस्केर पूर्वतिर गएका छन्।    
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .