ad ad

समाज


ठूला सरकारी अस्पतालमा बेथितिका चाङ (सूचीसहित)

ठूला सरकारी अस्पतालमा बेथितिका चाङ (सूचीसहित)

यज्ञराज जोशी
भदौ ८, २०७८ मंगलबार १२:२८, काठमाडौँ

महालेखापरीक्षकको ५८ औँ प्रतिवेदनले संघीय सरकारले सञ्चालन गरिरहेका ठूला अस्पतालमा चरम अनियमितता, भष्ट्रचार र बेथिति रहेको औँल्याएको छ। 

ती अस्पतालमा खरिद योजनाअनुसार खरिद नगरेको, तेस्रो चौमासिक तथा आषाढ महिनामा बढी खर्च गरेको, विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुसार मेडिकल अडिट नगराएको, अस्पताल विकास समितितर्फको कार्य सञ्चालन कोष र विविध खातातर्फको आय–व्यय समावेश गरी केन्द्रीय आर्थिक विवरण तयार नगरेको पाइएको छ।

त्यस्तै, पूर्वनिर्धारित क्षतिपूर्ति असुल नगरेको, बिल भरपाइभन्दा बढी भुक्तानी गरेको, सोझै खरिद गरेको, भुक्तानीमा कर कट्टी नगरेको, पारिश्रमिक कर कट्टी नभएको लगायतका अनियमितता तथा बेथिति पनि देखिएका छन्।

महालेखाले कुन अस्पतालमा कस्ता बेथिति देखाएको छ त?

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)
–अस्पतालमा रहेको १६ स्लाइसको सिटी स्क्यान मेसिन १, पल्मोनरी फंंक्सन मेसिन १, ग्यास्ट्रो इन्डोस्कोपी मेसिन ४ बिग्रेर उपयोगविहीन। 

–गत वर्ष एक गैरसरकारी संस्थाबाट प्राप्त २ करोड ५३ लाख मूल्यको फाइब्रोस्क्यान मेसिन जडान नगरी राखेको। 

–अस्पतालको स्वीकृत दरबन्दी १ हजार २३७ मध्ये ८७४ पदपूर्ति भएको। सोमध्ये चिकित्सकतर्फ २२० दरबन्दीमध्ये १९१ पदपूर्ति भएको। अस्पतालले २९ चिकित्सकलाई अन्यत्रबाट काजमा ल्याएको। अस्पतालले संगठन तथा व्यवस्थापन सर्वेक्षण कार्य गरेको।

–स्वीकृत दरबन्दीभन्दा ९६ बढी कर्मचारी नियुक्त गरी यो वर्ष तलब मात्र ५ करोड २१ लाख १३ हजार खर्च लेखेको। स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी भर्ना गरेर थप व्ययभार गराइरहेको। 

–यो वर्ष विभिन्न निकायमा दरबन्दी रहेका ४५ चिकित्सक तथा स्वास्थ्यकर्मी लाई काजमा ल्याई ४ करोड ३८ लाख ३१ हजार तलब भत्ता तथा सुविधा खर्च गरेको।

–अस्पतालको समितिले नियुक्त गरेका कर्मचारीको पारिश्रमिक एवं अन्य सुविधाबापत नेपाल सरकारको अनुदानबाट १६ करोड ११ लाख २९ हजार खर्च गरेको। त्यस्ता कर्मचारी नियुक्ति गर्दा नेपाल सरकारको स्वीकृति नलिएको। 

–उपचारसम्बन्धी उपकरण दुरुस्त नहुने, बिरामीको चापको कारण सामान्य उपचारको लागि लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने, समयमै सेवा उपलब्ध नहुने अवस्था रहेको।

–अस्पताल परिसरभित्र निजी औषधि पसल सञ्चालन नगर्ने सरकारको नीति तथा सर्वोच्च अदालतको फैसला कार्यान्वयन नभएको।

–आवश्यक स्थान अभावको कारण यो वर्ष खरिद भएको मेसिन र शय्या उपयोग नभई सर्जिकल भवनको पार्किङ प्यासेजमा शिलबन्दी अवस्थामा नै राखेको। 

–अस्पतालले क्यान्सर रोगको उपचारको लागि २०७५ मा खरिद गरेको ४७ करोड ९० लाख ६० हजारको सीटी सिमुलेटर मेसिन र टोमोथेरापी मेसिन ३ वर्षभन्दा बढी समय बितिसक्दा पनि जडान नगरी सशस्त्र प्रहरी बल, हल्चोकमा राखेको।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल
–अत्यावश्यक तथा निशुल्क प्रदान गरिने ३० प्रकारका औषधि तथा औषधिजन्य सामग्रीको मौज्दात शून्य। फेनिरामाइन, थियोसोललगायत ३१ प्रकारका औषधि तोकिएको न्यूनतम मौज्दातभन्दा कम।

–ब्रोमोक्रप्टिन, डानाजोल क्पाप्सुल, पान्टाप्राजोल, प्रोजेस्टोरोन जेल लगायतका विभिन्न औषधि बिरामीबाट माग हुने गरेकोमा अस्पतालको फार्मेसीमा नराखी बाहिरबाट किन्न बाध्य पारिएको।  

–अस्पतालले एमआरआई मेसिनको अभावमा ५ हजारभन्दा बढी बिरामीलाई अन्यत्र रिफर गरेको। 

–अस्पतालमा कम क्षमताको धेरै वर्ष पुरानो दुईवटा मात्र मेसिन रहेकोले उक्त मेसिनबाट फेटल एनोमली स्क्यान गर्न कठिनाइ भइरहेको, गर्भवती महिलाले ५–६ घण्टासम्म प्रतीक्षा गर्नुपरेको, पुरानो क्षमताको मेसिनबाट धेरै संख्यामा स्क्यान गर्नु पर्दा पेटभित्र रहेको बच्चाको समग्र अवस्था पत्ता लगाउन कठिनाइ हुने गरेको।  

–सामान्य अल्ट्रासाउन्डका लागि बिरामीले ४–५ घण्टासम्म प्रतीक्षा गर्नुपरेको, एउटै मेसिनबाट धेरै संख्यामा स्क्यान गर्नुपर्दा नतिजा फरक पर्नसक्ने लगायतको अवस्था। आवश्यक मेसिन तथा जनशक्तिको अभावले प्रतिदिन ६० भन्दा बढी बिरामीलाई सेवा उपलब्ध हुन नसकेको स्थिति।

भरतपुर अस्पताल
–अस्पतालले यो वर्ष खर्च गरेको ८२ करोड ७० लाख ५४ हजारमध्ये कर्मचारीको तलब भत्ता र सविधामा मात्र ३० करोड ८३ लाख ७१ हजार खर्च गरेको। 

–स्वास्थ्य मन्त्रालयबाट २०७४ जेठमा स्वीकृत अस्पतालको गुरुयोजनाअनुसार १ हजार शय्याको शैक्षिक प्रतिष्ठान, इमर्जेन्सी भवन, मेटरनिटी, पेड्रियाटिक, क्यान्सर, साइक्याट्रिक ब्लक, कर्मचारी आवास भवन निर्माण गर्ने उल्लेख भएकोमा उक्त कार्य आरम्भ नगरेको। 

–नियमानुसार जग्गाको लिज १ करोड १३ लाख ४० हजार शुल्क प्राप्त हुने अवस्था रहेकोमा ९ लाखमात्र प्राप्त गर्नेगरी लिजमा दिएकोले अस्पतालले १ करोड ४ लाख ४० हजार गुमाइहेको। 

–चिकित्सकको सेवा लिन बिहान ६ बजेदेखि नै अस्पताल पुगिसक्नुपर्ने र कम्तीमा ४ देखि ६ घण्टासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था। शल्य चिकित्सातर्फ पत्थरीको अप्रेसन गर्न ३ देखि ६ महिना, पाठेघर खस्ने रोग तथा ट्युमरको अप्रेसन गर्न १ देखि २ महिनासम्म प्रतीक्षा गर्नुपर्ने स्थिति।

–अस्पताललाई विशिष्टिकृत विशेषज्ञ सेवा सहितको अस्पतालमा स्तरोन्नति गरे तापनि मुटु रोगको सघन उपचार कक्ष, गम्भीर बिरामीलाई राखिने सर्जिकल आईसीयू कक्ष, ट्रमा सेन्टर, एमआरआई मेसिन, गर्भमा रहेको बच्चाको समग्र अवस्था पहिचान गर्ने फेटल एनोमली स्क्यान मेसिनलगायतका उपकरण अस्पतालमा उपलब्ध नभएको। 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
–प्रतिष्ठानको आन्तरिक आयभन्दा ४८ करोड ५५ लाख बढी खर्च भएको। प्रतिष्ठानको कुल खर्चमध्ये तलब भत्ता तथा ज्यालामा २०७४–७५ मा ६८.२३, २०७५–७६ मा ६२.०८ र २०७६–७७ मा ७४.५८ प्रतिशत खर्च गरेको। 

–डेन्टल, नर्सिङ, ल्याबोरेटरी, एकेडेमिक (कलेजतर्फ), मेडिकल उपकरण विभागलगायतका प्रत्येक विभागको आम्दानी खर्च र त्यसबाट हुने बचत तथा नोक्सान स्थिति यकिन हुने विवरण तयार नगरेको। 

–प्रतिष्ठानमा विभिन्न ७ कोषमा गत वर्षको समेत ५ करोड ८५ लाख २३ हजार आयमध्ये यो वर्ष २ करोड ६० लाख ६१ हजार खर्च भई ३ करोड २४ लाख ६२ हजार मौज्दात रहेको तर उक्त रकम मूल कोषमा जम्मा नगरेको। 

–अप्रेसन कक्ष, दक्ष जनशक्ति र उपकरणलगायत समस्याको कारण देखाई शल्यचिकित्सा तर्फ नाक, कान, घाँटी, न्युरो सर्जरी, डेन्डल सर्जरी र ग्यास्ट्रोलोजीमा १ महिना, जनरल सर्जरीमा डेढ महिना, स्त्री तथा प्रसूतिमा २ महिना, आर्थोपेडिकमा ३ महिना र पेडियाट्रिकमा ५ महिना बिरामीले प्रतीक्षा गर्नुपरेको। 

–प्रतिष्ठानले २४ व्यक्ति एवं फर्मसँग जग्गा एवं घर भाडामा दिने गरी सम्झौता भएकोमा विगतको समेत १ करोड ७१ लाख भाडा प्राप्त गर्नुपर्नेमा यो वर्ष ६५ लाख मात्र प्राप्त भएको। बाँकी १ करोड ६ लाख सम्झौता बमोजिम आवश्यक कारबाही गरी असुल नगरेको। 

–प्रतिष्ठानमा रहेका ९ करोड ७२ हजारमा खरिद गरेको फोटोथेरापी, सीटी स्क्यान, भेन्टिलेटर, सिरिन्ज पम्पलगायतका १९ उपकरण तथा मेसिनरीहरू बिगारेपनि बनाउन चासो नदेखाएको।

–प्रतिष्ठानको थाइराइड ल्याबमा प्रयोग हुने ५ प्रकारका ४६ हजार ३५० थान रिएजेन्ट किट उपयोग भए तापनि ८१ लाख २६ हजारमा खरिद गरेका २७ हजार ८२४ थान रिएजेन्ट किटको आम्दानी मात्र प्रतिष्ठानको सफ्टवेयरमा प्रविष्टि। 

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
–नेपाल सरकारबाट सशर्त अनुदानबापत प्राप्त रकम खर्च हुन नसकेमा फिर्ता गर्नुपर्नेमा अस्पतालको खातामा नै मौज्दात राखेको।

– अस्पतालले यो वर्ष ६२ करोड ७० लाख आन्तरिक आय हुने अनुमान गरेकोमा ३५ करोड ३७ लाख २८ हजार ९५६ (४२ प्रतिशत मात्र) आम्दानी गरेको। 

– कर्मचारीको तलब भत्ता र सुविधामा ४४ करोड २४ लाख ४८ हजार बजेट खर्च देखिएकोले आन्तरिक आयबाट कर्मचारी खर्चसमेत धान्न नसकेको अवस्था। 

– बिरामीले सीटी स्क्यान, एमआरआई, भिडियो एक्सरेलगायतको सेवाका लागि रकम जम्मा गरे तापनि बिरामीले सेवा लिन नचाहेको जनाई यो वर्ष ४१ लाख १६ हजार फिर्ता गरेको। 

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र
–यो वर्ष केन्द्रको कुल आय २ अर्ब ९८ लाख १६ हजारमध्ये नेपाल सरकारको अनुदान ८२ करोड १० लाख र आन्तरिक आय १ अर्ब १८ करोड ८८ लाख रहेको। कुल खर्च १ अर्ब ८८ करोड ५० लाख ४० हजारमध्ये तलब भत्तामा मात्रै ३९ करोड ६३ लाख ८३ हजार खर्च भएको। 

–गत वर्षको तुलनामा आम्दानी घटेको कारण पहिचान गरी सुधार गर्नुपर्ने।

कान्ति बाल अस्पताल
–यो वर्ष अस्पतालको कुल खर्च ४४ करोड २८ लाख ६ हजारमध्ये कर्मचारीको तलब भत्ता र सुविधामा २२ करोड ७६ लाख ५० हजार खर्च भएको। 

–अस्पतालमा ५२ शय्याको आईसीयू सेवा सञ्चालन गर्ने क्षमता रहेकोमा ४२ शय्या मात्र सञ्चालनमा रहेकोले शय्याको अभावमा बिरामीलाई अन्यत्र अस्पतालमा रिफर गर्नु परेको अवस्था।

–बिहान ६ बजे नै टिकटको लाइन बसी ४ देखि ७ घण्टा प्रतीक्षा गर्नुपर्ने र शल्यचिकित्सा सेवा लिन बिरामीले ६ महिनाभन्दा बढी समय प्रतीक्षा गर्नुपर्ने स्थिति।

–रोग परीक्षणको लागि अत्यावश्यक पर्ने एमआरआई मेसिन अस्पतालमा नभएकोले नाक, कान, घाँटी, हाडजोर्नीका बिरामी अन्यत्र रिफर गर्नु परेको। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .