ललितपुर। प्रधानमन्त्री शेरबहादुर देउवाले कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन गरेका छन्।
वि.सं. २०७२ सालको शक्तिशाली भूकम्पले क्षतिग्रस्त मन्दिर परिसरमा कुम्भेश्वर महादेव र मन्दिरको गजुरको पूजा गरी मन्दिरको उद्घाटन गरेका छन्।
पाँचतले सो मन्दिरको कुम्भेश्वर महादेवका पुजारी माधव श्याम शर्माले मन्त्रोच्चारण गरेका थिए।
बिहान ११ बजेको शुभ साइतमा प्रधानमन्त्री र पत्नी आरजु देउवा राणाले पूजा अर्चना गरेका थिए।
वैशाख १२ र २९ गते आएको भूकम्पले मन्दिरको तीन तला क्षतिग्रस्त भएको थियो।
यसअघि नेपाली काग्रेसका सभापतिको हैसियतमा वि.सं. २०७४ वैशाख ३० गते प्रम देउवाले नै मन्दिरको क्षमा पूजा गरेका थिए।
क्षमापूजा गरी जीर्णोद्धार सुरु गरेको ४ वर्षपछि मन्दिरको पुनर्निर्माण सम्पन्न भएको हो । मन्दिर जीर्णोद्धार समितिका संयोजक एवं कुम्भेश्वर टोल सुधार समितिका संयोजक अरोजकुमार खड्गीले करिब २ करोड ८२ लाख रुपैयाँ लागतमा जीर्णोद्धार सम्पन्न भएको जानकारी दिए।
उनले भने, ‘लकडाउन र निर्माण सामग्रीको अभावको कारण जीर्णोद्धारमा ढिलाइ भएको बताए।
समितिको निरन्तर सहयोगको कारण ठेकेदार कम्पनीले समयमै काम सम्पन्न गरेको संयोजक खड्गीको भनाइ छ।
पुरातत्व विभागले धर्मएस तुल्सी ड्रामा जेभी ललितपुरलाई ठेक्का दिएको थियो। मन्दिर जीर्णोद्धार समितिको संयोजकहरुमा टोल सुधार समितिका अरोजकुमार अध्यक्ष खड्गी, कुम्भेश्वर मन्दिरका पुजारी माधव श्याम शर्मा र बंगलामुखी मन्दिरका द्योपाला पुष्प कपाली रहेका थिए।
उद्घाटन समारोह अवधिभर कार्यक्रममा मन्दिरका भजन मण्डलले परम्परागत बाजा बजाएका थिए।
मन्दिर उद्घाटनलगत्तै प्रम देउवा र प्रम पत्नी आरजु देउवाले लगायत कुम्भेश्वर मन्दिर परिसरमा रहेको बंगलामुखीलगायत मठ मन्दिरको दर्शन गरेका थिए।
पूजापछि प्रम देउवाले निर्माण समितिले तयार गरेको शिलापत्र अनावरण गरेका थिए।
Shares

प्रतिक्रिया