समाज


अमेरिकी पूर्वसिनेटरको सहयोगमा नेपाललाई १० हजार बोटल ‘डाइटरी सप्लिमेन्ट’

अमेरिकी पूर्वसिनेटरको सहयोगमा नेपाललाई १० हजार बोटल ‘डाइटरी सप्लिमेन्ट’

नेपालखबर
भदौ ३, २०७८ बिहिबार १५:४३, काठमाडौँ

टेक्सस राज्यका एक पूर्वसिनेटरको प्रयासमा एक वैज्ञानिकले निर्माण गरी अमेरिकामा प्रयोगमा रहेको कोभिड संक्रमितलाई गम्भीर हुन नदिने र अस्पताल जानुपर्ने अवस्थाबाट रोक्ने ‘डाइटरी सप्लिमेन्ट’को ठूलो मात्रा नेपाललाई सहयोगस्वरुप प्राप्त हुने भएको छ। 

बिहीबार एक कार्यक्रमका बीच अमेरिकी टेक्सस राज्यका पूर्वसिनेटर ड्यान शेलीले बसन्त चौधरी फाउन्डेसन र नर्भिक इनिसिएटिभ्स फर न्युट्रिसन एण्ड हेल्थको पहलमा कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट करिब ७ लाख ५० हजार अमेरिकी डलर मूल्यबराबरको १० हजार बोटल नेपाललाई प्रदान गर्ने घोषणा गरेका हुन्। 

यो डाइटरी सप्लिमेन्ट अमेरिकी वैज्ञानिक तथा खोजकर्ता डा. न्याथन ब्रायनले निर्माण गरेका हुन्। उनले तयार गरेको यो सप्लिमेन्ट अमेरिकी बजारमा विगत १० वर्षदेखि प्रयोगमा छ। 

कार्यक्रममा बोल्दै डा. न्याथनले यो सप्लिमेन्टीले कोभिड १९ मात्र नभई विभिन्न इन्फ्लूएञ्जाबाट बिरामीलाई गम्भीर हुनबाट रोक्नका लागि विशेष काम गर्ने दाबी गरे। 

‘अमेरिकामा १० वर्षदेखि बजारमा उपलब्ध नाइट्रिक अक्साइडको डाइटरी सप्लीमेन्टको प्रयोगले कोभिड १९ का बिरामीहरुमा सकारात्मक प्रभाव पारेको हामीले गरेको प्रयोगबाट देखिएको छ। यो डाइटरी सप्लिमेन्ट संक्रमण भएको ७२ घण्टाभित्र चुसेर सेवन गर्नुपर्ने हुन्छ। दैनिक २ पटक दरले सेवन गर्न थालेपछि यसले शरीरमा घटेको अक्सिजनको मात्रा बढाउँछ र संक्रमित गम्भीर भई अस्पताल भर्ना हुनबाट जोगाउने काम गर्छ’, डा. ब्रायनले भने, ‘यस्तो जीवनरक्षक डाइटरी सप्लिमेन्ट कोरोना भाइरसविरुद्धको भ्याक्सिनको कम उपलब्धता हुने नेपालजस्तो मुलुकका लागि वरदान सावित हुनसक्छ।’

कोभिड १९ का बिरामीहरुको शरीरभित्र नाइट्रिक अक्साइडको सामान्य अंश समेत उत्पादन नहुँदा समस्या देखिने गरेको आफ्नो खोजको क्रममा पत्ता लागेको उनले उल्लेख गरे। 

नाइट्रिक अक्साइड भनेको प्राकृतिक रुपमा शरीरभित्र उत्पादन हुने र शरीरलाई चाहिने एक महत्वपूर्ण पदार्थ हो । यस पदार्थले रक्तचापको व्यवस्थापनका साथै शरीरको अक्सिजन स्याचुरेशन व्यवस्थापन गर्न समेत मद्दत गर्दछ। 

यसका साथै  नाइट्रिक अक्साइडले इन्फ्लेमेसन घटाउने तथा कोरोना भाइरससहितका अन्य इन्फेक्सनविरुद्ध लड्ने प्रतिरोधात्मक भूमिकाको कार्य समेत गर्छ। 

डा. ब्रायनका अनुसार हालसम्मको प्रयोग र प्रमाणहरुमा उच्च रक्तचाप, मधुमेह, मोटोपना, धूमपान सेवनकर्ता, मिर्गौलासम्बन्धी रोगी, मुटुरोगबाट पीडितहरुको शरीरमा नाइट्रिक अक्साइड उत्पादन गर्नसक्ने क्षमताको कमी र त्यस्ता रोगीहरु कोभिड संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ भने उनीहरुलाई लागेको रोग समेत तीव्र गतिमा जटिल बन्नसक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad