नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउँमा जानकारी हुनेगरी न्यायिक संग्रहालयको निर्माण गरिएको छ।
सर्वोच्च अदालतले नेपालको न्याय क्षेत्रको समग्र इतिहास झल्कने संग्रहालय स्थापना गरेको हो। संग्रहालयको मंगलबार एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उद्घाटन गरेका छन्।
समारोहलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश राणाले न्याय र कानूनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्याय प्रणालीको विकास, अवस्था र परिवर्तनका विषय अध्ययन गर्न सहयोग मिल्ने बताए। प्रधानन्यायाधीश राणाले न्यायपालिकाका ऐतिहासिक वस्तु संकलन गरेर संग्रहालयलाई अझै बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन्।
यस्तै न्यायिक संग्रहालय स्थापनामा संयोजन गरेका न्यायाधीश सपना प्रधान मल्लले राज्यका निकायले ऐतिहासिक पुरातात्विक विषय संग्रहित गरेर राख्नुपर्ने बताइन्। उनले यो संग्रहालय नेपालको न्याय र कानून क्षेत्रको विकासको सजीव इतिहास बन्ने दाबी गरिन्।
न्याय सम्पादनका क्रममा विभिन्न समयमा भएका महत्वपूर्ण फैसलाहरू, न्यायाधीश तथा न्यायपालिकाले प्रयोग गरेका पुराना सामग्रीहरू, न्याय र कानूनी क्षेत्रका पुरातात्विक सामग्रीहरु संग्रहालयमा संग्रहित गरिएको छ।
संग्रहालयमा करिब ३ सय ५० सामग्री तयार पारिएको छ। प्रदर्शनी कक्षको अभावमा तत्काल १५ प्रकृतिका फरक सामग्री राखिएको छ। भौतिक संरचना स्थापनापछि सबै सामग्री र थप सामग्रीसमेत गरी डिजिटल संग्रहालयको स्थापना गरिने मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले बताए।
कार्यक्रममा संग्रहालय स्थापनामा सहयोग पुर्याउने पदाधिकारी तथा कर्मचारीलाई सम्मान गरिएको थियो।
Shares

प्रतिक्रिया