ad ad

समाज


असोजसम्म आउँदैछ थप एक करोड खोप, कहाँबाट कति?

असोजसम्म आउँदैछ थप एक करोड खोप, कहाँबाट कति?

यज्ञराज जोशी
साउन ३२, २०७८ सोमबार ११:५, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार एक कार्यक्रममा आगामी असोजसम्म थप एक करोड डोज खोप आइपुग्ने दाबी दोहोर्याए। 

‘अहिले नेपालमा एक करोड आठ लाख खोपबाहेक आगामी असोजसम्म अर्को एक करोड खोप आउने भएको छ,’ उनले भने, ‘यसबाहेक आगामी चैतसम्म खोप लगाउन उपयुक्त सबै जनतालाई खोप लगाएर सक्ने प्रण सरकारले गरेको छ।’

शनिबारसम्म नेपालमा ३३ लाख ३ हजार ५७८ ले दुवै मात्रा र ४६ लाख ७४ हजार ३१८ ले पहिलो मात्रा मात्र खोप लगाएका छन। हालसम्म नेपालमा एस्ट्राजेनेका, भेरोसेल र जोनसन एन्ड जोनसनको खोप प्रयोगमा ल्याइएको छ। 

यसअघि प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पनि असोजसम्म १ करोड २ लाख खोप सुनिश्चित भइसकेको दाबी गरेका थिए।

‘सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने सरकारको पहिलो प्राथमिकता छ। त्यसका लागि असोजसम्म १ करोड २ लाख खोप सुनिश्चित गरिसकेका छौं,’ राज्यमन्त्री श्रेष्ठले दाबी गरेका थिए। 

श्रेष्ठले भनेको एक करोड २ लाख खोप चीन, भारत र जापानबाट आउने सुनिश्चित भएको हो। चीन र जापानको अनुदान तथा भारत र चीनसँग खरिदबाट उक्त परिमाणमा खोप आउने सुनिश्चित भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

जापानबाट एस्ट्राजेनेका र चीनबाट भेरोसेल १६–१६ लाख डोज अनुदानमा आउनेछ। त्यसबाहेक चीनबाट ६० लाख डोज खरिद गर्ने प्रक्रिया टुंगिएको र भारतबाट यसअघि खरिद गरेको १० लाख डोज खोप असोजसम्म आउने भन्दै सरकारले असोजसम्म १ करोड २ लाख खोप सुनिश्चित भइसकेको जनाएको हो। 

जापानले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई उक्त खोप दिन लागेको हो। जसमध्ये ८ लाख खोप आइपुगिसकेको छ भने बाँकी खोप एक सातापछि आउने मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए। 

जापान र भुटानले दिएको एस्ट्राजेनेका खोप यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई लगाइएको छ। बाँकी खोप आउनेबित्तिकै क्रमशः अन्य नागरिकलाई पनि लगाउँदै जाने पोखरेलले बताए।

भारतबाट कोभिसिल्डको खरिद गरेको खोप नआउँदा ६५ वर्षमाथिका १३ लाख ४८ हजार मानिसले दोस्रो डोज कुरिरहेका थिए।

चीन सरकारले अनुदानमा घोषणा गरेको १६ लाख डोज खोप भदौ पहिलो साता नेपाल भित्र्निे सचिव पोखरेलले बताए। त्यसपछि क्रमशः खरिद गरिएको ६० लाख डोज खोप भदौभित्र आइसक्ने उनको दाबी छ। 

‘चीनसँग नन–डिस्क्लोजर एग्रिमेन्टअनुसार उक्त खोपको भुक्तानी भइसकेको छ। विभिन्न चरणमा  भदौभित्र उक्त खोप ल्याइसक्ने योजना छ,’ पोखरेलले भने। 

यसअघि पनि सरकारले चीनबाट नन–डिस्क्लोजर एग्रिमेन्ट गरेर ४० लाख डोज खोप किनेको थियो। चीनले नेपाललाई सहुलियत मूल्यमा खोप दिएकाले खोपको रकम खुलाउन नचाहेको मन्त्रालयले दाबी गर्दै आएको छ। 

गतवर्ष फागुनमा नै नेपालले भारतस्थित सेरम इन्सिच्युट अफ इन्डियालाई २० लाख खोपका लागि ९३ करोड रुपैयाँ भुक्तानी गरेको थियो। दुई हप्ताभित्र १०–१० लाख गरी दुई पटकमा खोप पठाउने सहमति भए पनि भारतले हालसम्म १० लाख खोप मात्रै पठाएको छ। 

बाँकी १० लाख खोप पनि असोजभित्रै आउने मन्त्रालय आशा गरेको छ। तर सेरमले उक्त खोप आपूर्ति गर्ने सुनिश्चित गरिसकेको छैन। 

‘हामी निरन्तर सम्पर्कमा छौँ। भारतमा दोस्रो वेभ आएको र अदालतले पनि खोप निर्यातमा प्रतिबन्ध लगाएकाले समस्या भएको हो। अहिले केही सहज भएको छ। उक्त खोप केही समयमा आउनेमा विश्वस्त छौँ,’ सचिव पोखरेलले भने। 

माघसम्म ५ करोड २२ लाख डोज खोप आउने अनुमान 
सरकारले आगामी माघसम्म ५ करोड २२ लाख डोज खोप नेपाल भित्र्सिक्ने गरी कार्य गरिरहेको जनाएको छ। राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना महामारी नियन्त्रणका लागि सरकारले भौतिक क्षमता सुदृढ गर्नुका साथै खोप ल्याउने विषयलाई प्राथमिकतामा राखेको बताए। 

‘अनुदान, ऋण अथवा किनेरै भए पनि सबै नेपालीलाई खोप उपलब्ध गराइने लक्ष्य सरकारको छ,’ उनले भने, ‘कम्तीमा ६० प्रतिशत जनसंख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने र सामाजिक तथा आर्थिक गतिविधिहरू सुचारु गर्न सकिन्छ। हाम्रो ध्यान खोपसँगै भएका संरचनाको सुदृढ गर्नमा केन्द्रित छ।’

माघसम्म मोर्डनाको ४० लाख खोप नेपाल भित्र्निे निश्चित भइसकेको मन्त्री श्रेष्ठले जानकारी दिएका छन्। उक्त खोपको समेत भुक्तानी भइसकेको छ। उक्त खोप सन् २०२२ को मार्च महिनासम्म आइपुग्ने अपेक्षा गरिएको छ।

कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा उक्त खोप ल्याउन लागिएको हो। खोप साझेदार गाभीको सहकार्यमा उक्त खोप आउन लागेको हो। 

‘चुनौतीपूर्ण परिस्थितिका बाबजुद हामीले नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउन सम्झौता गर्न सफल भयौँ,’ श्रेष्ठले भने, ‘यसले नेपालको कोरोना रोकथाम तथा नियन्त्रणमा ठूलो भूमिका खेल्नेछ।’

त्यसबाहेक मोर्डनाकै थप १ करोड १० लाख खोप कोभ्याक्सको लागत सहभागितामा र बालबालिकालाई लक्षित गरेर फाइजरको ६० लाख खोप खरिदको प्रक्रिया अघि रहेको मन्त्रालयले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .