समाज


अफगानिस्तानबाट नेपाली फर्काउने सरकारको छैन कुनै योजना

अफगानिस्तानबाट नेपाली फर्काउने सरकारको छैन कुनै योजना

काबुलको ग्रिन जोन, जहाँ करिब एक सय नेपाली कार्यरत रहेको परराष्ट्रले जनाएको छ


नेपालखबर
साउन २९, २०७८ शुक्रबार २१:४२, काठमाडौँ

कट्टरपन्थी लडाकु समूह तालिबानले अफगानिस्तानको भूभाग कब्जा गर्ने क्रम तीव्र बनाएसँगै विभिन्न देशले आफ्ना नागरिकलाई त्यहाँबाट फिर्ता लैजान सुरु गरेका छन्। तर, नेपालले भने आफ्ना नागरिक ल्याउन कुनै तयारी गरेको छैन।

परराष्ट्र मन्त्रालयका अधिकारीहरुले अफगानिस्तानमा कार्यरत नेपालीले उद्धार वा समस्याको विषयमा जानकारी नगराएको बताएका छन्। 

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अफगानिस्तानमा रहेका नेपाली वा नेपालमा रहेका तिनका परिवारका सदस्य कसैले पनि हालसम्म उद्धारका लागि आग्रह नगरेको जानकारी दिइन्।

‘यो विषय दिल्लीस्थित नेपाली दूतावासले हेर्दै आएको छ। करिब एक सय जना नेपाली अहिले काबुलको ग्रिन जोनमा कार्यरत रहेको जानकारी आएको छ,’ लम्सालले भनिन्, ‘अफगानिस्तानमा रहेका नेपाली वा नेपालमा रहनु भएका परिवारका सदस्यले कुनै समस्या परेको र उद्धारका लागि आग्रह हालसम्म गर्नु भएको छैन।’

अफगानिस्तानबाट अमेरिकीसहित उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)का सैनिकहरु फर्किएपछि तालिबानले एकपछि अर्को ठूला सहर कब्जा गर्दै गएको छ। पछिल्लो समय सो समूहले हेरात र कान्दाहार सहर कब्जा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। 

‘करारको काममा जानुभएका व्यक्तिहरु हुनुहुन्छ सबै जना। राष्ट्र संघसहित विभिन्न कूटनीतिक नियोगहरुमा कार्यरत हुनुहुन्छ,’ लम्सालले अफगानिस्तानमा कार्यरत नेपालीबारे भनिन्, ‘उहाँहरुलाई जिम्मेवार निकायले काम लगाइराखेको छ। नेपालबाट म्यानपावर कम्पनीहरुले लगेका केही आफ्नो तरिकाले काम गरिरहनु भएको होला।’

कोभिड १९ को महामारी सुरु भएपछि नै ३ सय ३० नेपाली वैदेशिक रोजगारीका लागि अफगानिस्तान गएको वैदेशिक रोजागर विभागले जनाएको छ। 

जसमध्ये ३१ जना म्यानपावर कम्पनीमार्फत र अन्य व्यक्तिगत स्वीकृतिमा गएको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्ण दवाडीले बताए। 

‘उद्धारको विषयमा के भइरहेको छ, विभागले हेर्दैन। वैदेशिक रोजगार बोर्ड, श्रम मन्त्रालय र परराष्ट्रले हेर्ने गर्छ,’ दवाडीले भने।

आर्थिक वर्ष २०७७/७८ मा मात्र अफगानिस्तान जान १ हजार ७३ जनाले श्रम स्वीकृति लिएका थिए। २०७६/७७ मा ९२४ जना, २०७५/७६ मा १ हजार ८ सय ३० र २०७४/७५ मा १ हजार ४ सय ४२ जना नेपालीले वैदेशिक रोजगारीको सिलसिलामा अफगानिस्तान जान वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिएका थिए। 

राजधानी काबुल कब्जा गर्न सफल भए तालिबान लडाकुले कूटनीतिक नियोगहरुमा आक्रमण नगर्ने निश्चित छैन। त्यसैले अन्य मुलुकले आफ्ना नागरिक फिर्ता लैजान थालेका हुन्। अहिलेकै गतिमा तालिबानले आक्रमण जारी राखे एक महिनामै काबुल उनीहरुको कब्जामा पुग्ने अनुमान गरिएको छ। 

अमेरिकी वार्ताकारहरुले तालिबानले काबुल नियन्त्रण गरेको अवस्थामा पनि अमेरिकी दूतावासमाथि आक्रमण नहुने आश्वासनका लागि कतारको राजधानी दोहामा छलफल सुरु गरेको  न्युयोर्क टाइम्सले जनाएको छ। अमेरिकाले अफगानिस्तानबाट आफ्नो सैनिक अगस्ट अन्त्यसम्ममा फिर्ता गर्ने जनाएको छ। अमेरिकी सरकारका लागि काम गर्नेबाहेकका अन्य अमेरिकी नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेको छ। 

भारतले आफ्नो नागरिकहरुलाई अफगानिस्तान छाड्न भनिसकेको छ। उसले उद्धारको कार्यक्रम पनि सञ्चालन गरेको छ। अफगानिस्तानमा तालिबानको सफलतासँगै विस्थापित हुनेहरुको संख्या पनि बढिरहेको छ। राष्ट्र संघले अफगानिस्तानका छिमेकी देशहरुलाई सीमा खुला गर्न आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad