ad ad

म्यागेजिन


‘तिमी आफूचाहिँ आफूलाई कहिल्यै नारीवादी नभन्नु है!’

‘तिमी आफूचाहिँ आफूलाई कहिल्यै नारीवादी नभन्नु है!’

विभु लुइटेल
साउन ३०, २०७८ शनिबार ८:३८, काठमाडौँ

‘छोरीको कुमारित्वले स्याबासी पाउँछ, तर केटाहरूको हकमा त्यो कुरा लागू हुँदैन। यो कुरा देखेर म छक्क पर्छु। किनभने...’ 

सन् २०१२ को उत्तरार्द्धमा टेड एक्स युस्टनमा चिमामाण्डा ङ्गोजी आदिच्येले आफ्नो यो वाक्य पूरा गर्न नपाउँदै हाँसोको फोहरा छुट्यो। त्यसपछि तालीको गडगडाहट।

अपूरो वाक्यको सार बुझ्न त्यहाँ उपस्थित दर्शकलाई गाह्रो परेन। हाँसो र ताली केही कम हुँदै गएपछि उनी वाक्य पूरा गर्छिन्। ‘कुमारित्व गुमाउने प्रक्रियामा त प्रायः दुई व्यक्ति नै सामेल हुन्छन्।’

लगभग आधा घण्टाको उक्त टेड टकलाई नेपालीमा अनुवाद गरेकी छन् भृकुटी राईले।​

आदिच्येका नेपाली प्रशंसकका लागि यो पकेट किताब ट्रिट सिद्ध हुनसक्छ भने आदिच्येलाई नचिन्नेले पनि उनको यो मन्तव्यलाई सरल र सहज उल्थामा पढ्न पाउने भएका छन्।

मन्तव्यमा आदिच्ये आफ्ना अनुभव बाँड्छिन्। आफूले जीवनमा भेटेका विभिन्न पात्रसँगको अन्तर्क्रियालाई नारीवादी कोणबाट नियाल्छिन्।

आफ्ना नाइजेरियाली साथीका कथा सुनाएर लैंगिक हिंसाका अनेकौँ पाटा अगाडि ल्याउँछिन्। पढ्दै जाँदा हामीलाई उनले बाँडेका ती अनुभव आफ्नै वरिपरिका घटनाजस्ता लाग्छन्।

थोरै वा धेरै उत्कटतामा हामीले पनि भोगेका छौँ ती अनुभव। नभोगे पनि कम्तीमा देखेका छौँ, सुनेका छौँ। आदिच्येको कथा भन्ने आफ्नै पृथक् शैली छ। उनका सबैजसो कृति वा लेखमा यही प्रवृत्ति दोहोरिएको पाइन्छ।

उनी आफूवरिपरिका पात्र नियाल्छिन्। अधिकांश ती पात्र उनकै परिवारका सदस्य हुन्छन्, कि त साथीभाइ वा सहकर्मी हुन्छन्।

तिनै पात्रले बोलेका कुरा वा तिनले देखाएको आचरणलाई नारीवादी दृष्टिकोणबाट केलाउँदै कथा बुन्दै जान्छिन्।

गलत छन् भने किन गलत छन् भनी कारण दिन्छिन् र सही छन् भने तिनलाई हामीले कसरी आत्मसात् गर्न सक्छौँ भनी सिकाउँछिन्।

ती पात्रमा हामीले पनि आफ्ना आफन्त वा साथीभाइ देख्छौँ। वा, कहिलेकाहीँ आफैँलाई पनि देख्छौँ।

नारीवादी भएकै कारण आउने अनेकौँ आक्षेप पनि साझा गरेकी छन् आदिच्येले। मन खाएका केही उदाहरण यहाँ संक्षिप्तमा समाविष्ट गरिएको छ।

किशोरावस्थामा साथीसँग चर्केको भनाभनपश्चात् उसले भनेको ‘तिमी त नारीवादी रहिछौ!’ देखि लिएर उपन्यास प्रकाशित भएपश्चात् उनका प्रकाशकले ‘मानिसहरु तिम्रो उपन्यासलाई फेमिनिस्ट भन्दै छन्... तिमी आफूचाहिँ आफूलाई कहिल्यै नारीवादी नभन्नु है’ भनी दिएको सल्लाह उनले बाँडेकी छन्।

किनभने ती प्रकाशकका अनुसार नारीवादी महिला भनेका लोग्ने नपाएर दुःख पाएका महिला हुन् रे। यी सबै अनुभवलाई ‘हामी सबै नारीवादी हुनुपर्छ’ शीर्षक दिइएको उक्त लघु पुस्तकमा समावेश गरिएको छ।

पितृसत्ताले हामीमाथि लादेको जीवनशैलीका अनेकौँ आयामको पनि जिकिर छ यसमा। विवाह गर्ने निर्णयदेखि लिएर अरूका अगाडि कस्तो शृंगार गरेर प्रस्तुत हुने भन्नेसम्मका अभिव्यक्तिमा हामीले कहीँ कतै आफ्नै छवि देख्न सक्छौँ।

यसरी हामीमाथि लादिएका यस्ता खोक्रा आदर्श समयक्रममा कसरी सामान्यीकरण गरिए भनी प्रश्न गरेर श्रोता तथा पाठकलाई सोच्न बाध्य पारेकी छन् आदिच्येले।

यसबाहेक ‘वुमेन इन ट्रान्सलेसन मन्थ’को अवसर पारेर भृकुटीले चिमामाण्डाको अर्को पनि कृति नेपालीमा अनुवाद गरेकी छन्।

‘डियर इजियावेले, अर्थात् नारीवादी घोषणापत्रका लागि पन्ध्र सुझाव’ शीर्षक दिइएको उक्त पुस्तक चिमामाण्डाले आफ्नी साथीको सन्तानलाई फेमिनिस्ट कसरी बनाउने भनी दिएका सुझाव समेटेर तयार गरिएको हो। 

नारीवादमा विश्वास नगर्ने र यस्ता मुद्दा अगाडि आउनेबित्तिकै नाक खुम्च्याउनेदेखि घोचपेच गर्नेका लागि यी दुई पुस्तक अलिकति केही जान्ने तथा बुझ्ने माध्यम हुन सक्छन्।

यति हुँदाहुँदै पनि प्रस्तुत गरिएका केही दृष्टान्त पाठकलाई छुस्स बिझाउने खालका छन्। नेपाली ट्विटरमा बहुप्रचलित शब्दावली ‘दिज्जु फेमिनिस्ट’ जस्तै।

लेखकलाई ती तर्कले नारीवादको वकालत गरेजस्तो लाग्दो हो। तर, तिनले केही हदसम्म पितृसत्ताको पहरेदारी नै गरेको बुझिन्छ। 

उनले दिएको देवरानी र जेठानीको घरेलु द्वन्द्वको उदाहरण हेरौँ। ‘महिला नै महिलाका शत्रु’ भनी पितृसत्ताका पहरेदारले निर्माण गरेको भाष्यलाई आदिच्येले पनि केही हदसम्म समर्थन गरेको देखिन्छ।

यस्ता अनेकौँ उदाहरण पुस्तक पढ्दै जाँदा पाठकले भेट्दै जानेछन्। आलोचनात्मक चेत राखेर पढ्नेलाई बिझाउला नै।

हामीलाई पुराना घिसापिटा चालचलन अपनाउन बाध्य पार्न दिइने बहाना हुन्– परम्परा र संस्कृति। डियर इजियावेले पढ्दा लाग्छ, नाइजेरियाको इग्बो समाज पनि हाम्रोभन्दा फरक छैन।

परम्परा, संस्कृति, चालचलन भन्दै महिलाको स्वतन्त्रतामाथि नियन्त्रण गर्ने चलन तिनको पनि रहेछ भनी थाहा पाउँछौँ हामी।

समाजमा व्याप्त लैंगिक अधिक्रमका कारण उत्पन्न विभिन्न समस्याबारे छलफल गर्न राईले चलाउने पडकास्टसँग परिचित श्रोतालाई यी पुस्तकको अनुवाद पढ्दा अनुवादक स्वयंले आफ्नो पृथक् शैलीमा वाचन गरेजस्तो लाग्छ।

त्यति मात्र नभएर लैंगिक समानताको विषयलाई लिएर हाम्रा सार्वजनिक वृत्त तथा सामाजिक सञ्जालमा हुने गरेको बहस र त्यसको राजनीतिबारे आफ्नो भूमिकामा संक्षिप्त रुपमा उल्लेख गरेकी छन् अनुवादकले।

​हाम्रा वरिपरि भइरहेका अपाच्य घटनालाई हामीले सामान्यीकरण लग्दै गर्ने तरिका, परिवर्तनको आश मारेर त्यसका लागि आफूले सक्दो आवाज नउठाउने प्रवृत्ति र बाध्यतावश यस्ता दृष्टान्तसँग जुध्न कमजोर पर्दै गएका बेला अलिकति भए पनि प्रेरणा चाहिएका अवस्थामा यी अनुदित कृतिको अध्ययन एक सन्तोषजनक सुरुवात हुनसक्छ।

एकपछि अर्को प्रशंसाको फेहरिस्त मात्रै बाँधेर पुस्तकमा मात्र आधारित भई यिनको समीक्षा गरिरहँदा चिमामाण्डाका केही पारलैंगिकद्वेषी अभिव्यक्तिको चर्चा गरौँ।

च्यानल ४ न्युजमा उनीसँग लिइएको अन्तर्वार्तामा उनलाई पारलैंगिक महिलाबारे प्रश्न गरिन्छ। र, जवाफमा उनी भन्छिन्, ‘मानिसहरुले पारलैंगिक महिलाहरु महिला हुन् कि होइनन् भनी तर्क गरिरहँदा मलाई लाग्छ– उनीहरु महिला होइनन्, पारलैंगिक महिला हुन्।’

आदिच्येको उक्त भनाइमाथि संसारभरबाट हजारौँ प्रश्न बर्सिए। प्रश्नभन्दा पनि आलोचना बर्सिए। ह्यारी पोटर शृंखलाकी लेखक जेके रोलिङले पनि केही पारलैंगिकद्वेषी अभिव्यक्ति दिएको हामीलाई ज्ञात नै हुनुपर्छ।​

आदिच्येले अप्रत्यक्ष रुपमा रोलिङको समर्थन गरेको देखिन्छ। उनले पछि गएर आफ्नो मनसाय गलत नरहेको भन्दै लामो स्पष्टीकरण पोस्ट गरेकी थिइन्।

केही समयअघि मात्र भारतकी प्रतिष्ठित नारीवादी लेखक तथा अभियन्ता कमला भसिनले पनि एक अनलाइन कार्यशालामा पारलैंगिकद्वेषी अभिव्यक्ति दिएकी थिइन्। कसैले आफूलाई सम्बोधन गर्नका लागि निर्धारण गरेका सर्वनाम लगायतका कुरामा उनको आपत्ति थियो।

यो घटना भइरहँदा आदिच्ये, रोलिङका वक्तव्यले पनि इन्टरनेटमा पुनः स्थान पाएका थिए। नारीवादको कुरा गरिरहँदा आदिच्येका भनाइमा इन्टरसेक्सनालिटीको चर्चा भने विरलै पाइन्छ।​

औपनिवेशिकताको चेपमा परेका, छालाको रंगकै कारण समाज तथा कार्यक्षेत्रमा विभेद भोगिरहेका महिलाले उनका कृतिमा अपनत्वबोध गर्न नपाउलान्।

​उनको आफ्नै समाजका महिलाले पनि उनका भनाइमा अपनत्व नपाएको बताउँदै आएका छन्। कारण, सबै समुदायका महिलालाई एकै टोकरीमा हालेर विश्लेषण गरेकी छन् उनले।

नश्लवाद र लैंगिक विभेद दुवैबाट पीडितले चिमामाण्डाका कृति अध्ययन गर्नुअगाडि दुईपटक सोच्नुपर्ने बताएका छन्। यसबाहेक उनलाई अरुको स्थान ओगट्ने र आफ्ना तर्कलाई मात्र सही स्थापित गर्न अग्रसर रहिरहने आरोप पनि लाग्ने गरेको छ। 

दुवै पुस्तकका अनुवाद सरल छन्। नारीवादबारे प्रचलित शब्दावलीको नेपाली रुपान्तरण भेट्न हम्मेहम्मे परेको भृकुटी राईले पुस्तकको भूमिकामै स्पष्ट पारेकी छन्।

यति हुँदाहुँदै पनि त्यस्ता शब्दावलीको प्राविधिक शब्द खोजेर पठनलाई भारी बनाउनुको साटो तिनलाई अझै सरल ढंगले बुझाउने जमर्को गरेकी छन् अनुवादकले।

​अंग्रेजी र नेपाली दुवैमा यी पुस्तक पढेकाले यिनको अक्षरशः अनुवाद नभई भावानुवाद भएको अनुभूति गर्न सक्छन्। 

(कथासथा र किहोतेज कोवको आयोजनामा दुवै पुस्तकको अनलाइन विमोचन यही भदौ १२ गते हुँदै छ। दुवै पुस्तक यी लिंकबाट किन्न सकिन्छ : डियर इजियावेले | हामी सबै नारीवादी हुनुपर्छ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .