ad ad

समाज


एक हप्तामै २५ हजार बढी संक्रमित, २२३ को मृत्यु

एक हप्तामै २५ हजार बढी संक्रमित, २२३ को मृत्यु

यज्ञराज जोशी
साउन २८, २०७८ बिहिबार १८:४२, काठमाडौँ

नेपालमा कोरोना संक्रमण पुनः तीव्र गतिमा बढ्न थालेको छ। पछिल्लो एक हप्तामा मात्रै २५ हजार ४५९ जना संक्रमित भएका छन्। यो गत साताको भन्दा ६ प्रतिशत बढी हो। यो साता संक्रमितमध्ये २२३ जनाको मृत्यु भएको छ। 

चिकित्सक तथा जनस्वास्थ्यविज्ञले संक्रमणको यो स्थितिले जोखिम कायम रहेको देखाएको बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि जोखिम झनै बढिरहेकाले सतकर्ता अपनाउन आग्रह गरेको छ। 

साउन २१ गते ३९३८ संक्रमित र ३७ जनाको मृत्यु, साउन २२ गते ३७२९ जना संक्रमित र २५ जनाको मृत्यु, साउन साउन २३ गते ३२१८ जना संक्रमित र १९ जनाको मृत्यु, साउन २४ गते २५४८ जना संक्रमित र ५५ जनाको मृत्यु, साउन २५ गते ३६५१ संक्रमित र २२ जनाको मृत्यु, साउन २६ गते ४९०४ जना संक्रमित र ३५ जनाको मृत्यु भएको थियो। बुधबार ३४८१ जनामा कोभिड पुष्टि भएको थियो भने ३० जनाको मृत्यु भएको थियो। 

यो एक हप्तामा १ लाख १२ हजार ४०७ जनाको कोरोना परीक्षण भएकोमा २५ हजार ४६९ जनालाई संक्रमण पुष्टि भएको हो। 

नेपालमा हालसम्म ३७ लाख १८ हजार ३०३ जनाको पीसीआर विधिबाट परिक्षण भएको छ। जसमध्ये  हालसम्म ७ लाख २३ हजार २९६ सङ्क्रमित भेटिएका छन। यस्तै एन्टिजेन परीक्षण समेत जोडेर हालसम्म कुल ७ लाख ९५ हजार  ३९१ जनामा सङ्क्रमण पुस्टि भएको छ।

हालसम्म कुल जनसंख्याको १३ प्रतिशतको परीक्षण हुँदा २.६ प्रतिशतमा संक्रमण देखिएको हो। नेपालमा औसत संक्रमण दर १९.४ छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ छ। नेपालमा संक्रमितमध्ये मृत्युदर १.५ प्रतिशत छ। हालसम्म १० हजार १८० जनाको निधन भइसकेको छ। 

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले साउन लागेपछि दैनिक १० हजारको हाराहारी कोभिड परीक्षण भइरहँदा संक्रमण दर पनि उच्च देखिएको बताए। उनका अनुसार दैनिक परीक्षणको २० देखि २५ प्रतिशतमा संक्रमण देखिने गरेको छ। 

‘२५ प्रतिशतमा संक्रमण पुष्टि हुनु भनेको हाइ पोजिटिभिटी रेट हो। ४ जनामा एक जना पोजेटिभ भेटिएको अवस्था हो,’ डा. पौडेलले भने, ‘निषेधाज्ञा खुला भइरहेको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गरिएन भने संक्रमण झनै बढ्ने देखिन्छ। त्यसकारण हामी सतर्क हुनु आवश्यक छ।’

दक्षिण एसियामा बंगलादेश र नेपालमा कोभिड संक्रमितको मृत्युदर उच्च रहेको मन्त्रालयले जनाएको छ। अफगानिस्थान, भारत र भुटानमा नेपालको तुलनामा मृत्युदर कम छ। मन्त्रालयको तथ्यांकअनुसार नेपालमा प्रतिदस लाखमा ३४३ को मृत्यु भएको छ।  

मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपाल्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बाग्लुङ, गोरखा, स्याङ्जा, तनहुँ, रुपन्देही र सुर्खेतमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।

यस्तै धनकुटा, धनुषा, बारा, सप्तरी, सिरहा, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, लमजुङ, पर्वत, पाल्पा, दाङ, बाँके, बर्दिया, जुम्ला, कैलाली र कञ्चनपुरमा दुई सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

संक्रमण दर बढेसँगै अस्पतालका शय्या पनि भरिन थालेका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका आईसीयू र भेन्टिलेटर भरिएको र जनरल बेडमा पनि चाप बढेको चिकित्सक अनुप बास्तोलाले बताए। 

‘पछिल्ला दिनहरुमा संक्रमित संख्या बढ्दै गएको छ। आइसीयू र भेन्टिलेटरले प्याक नै छ,’ उनले भने, ‘जनरल बेडमा पनि बिरामी संख्या बढेका बढ्यै छन्। सतर्कता अपनाउनुपर्ने बेला भएको छ।’

अस्पतालमा रहेका २८ आईसीयूमध्ये २२ मा र २२ भेन्टिलेटरमध्ये २० जनामा बिरामी रहेको उनले बताए। त्यसबाहेक १०० जनरल बेड रहेको अस्पतालमा ५२ जना बिरामी उपचाररत छन्। 

संक्रमण बढेको भन्दै काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूहरुको संयुक्त बैठकले बिहीबारबाट काठमाडौंमा निषेधाज्ञा थप कडा पार्ने निर्णय गरेको छ। काठमाडौं उपत्यकामा आजदेखि भदौ ८ गतेसम्मलाई निषेधाज्ञा लम्ब्याइएको छ। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले संक्रमण बढ्दै गएका बेला रातिको समयमा थप कडाइ गरिएको बताए। 

‘७ बजेपछि पसल खोल्न नपाइने नियम त थियो तर बाहिरको ढोका बन्द गरेर भित्रभित्रै मध्यरातसम्म होटल, दोहोरी साँझ र डान्सबार चलाइएको पाइयो,’ पराजुलीले भने, ‘८ बजेपछि सवारीसाधन नै बन्द गरेपछि कोरोना फैलाउन सघाउ पुग्ने यस्ता क्रियाकलाप नियन्त्रणमा आउँछन् भनेर यो व्यवस्था गरिएको हो।’

मन्त्रालयले कोरोनाविरुद्धको प्रतिकार्यका लागि साउनदेखि जारी गरेको पाँच महिने द्रुत कार्ययोजनामा आगामी असोज १५ देखि तेस्रो लहर आउनसक्ने आकलन गरेको छ। अबको ५ महिनामा थप १ लाख ९३ हजार संक्रमित हुनसक्ने मन्त्रालयको प्रक्षेपण छ। त्यसमध्ये ३८ हजार ७ सय ७१ जना संक्रमितलाई अस्पताल भर्ना गर्नुपर्ने तीमध्ये ९ हजार ७ सय ९३ जनालाई आईसीयूमा उपचार गर्नुपर्ने आकलन मन्त्रालयले गरेको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .