बैतडीको मेलौलीमा मृत फेला परेकी महिलाको भेजाइनल स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको छ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामीकाँडे घर भएकी ३६ वर्षीया खेट्टी मल्ल यही साउन ८ गते बैतडीको मेलौली नगरपालिका–७ ल्वाथलीमा मृतावस्थामा फेला परेकी थिइन्।
महिलाको मृत्यु कसरी भयो भन्ने पुष्टि गर्नका लागि भेजाइनल स्वाब र भिसेरा केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।
भेजाइनल स्वाब र मुटु, कलेजो तथा फोक्सोको टुक्रा (भिसेरा) परीक्षणका लागि पठाइएको हो। स्वाब र भिसेरा पठाएको १० दिन भइसकेको छ, रिपोर्ट आउन बाँकी छ,’ उनले भने।
ती महिलाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको शव परीक्षण रिपोर्टमा भने हृदयाघातका कारण मृत्यु भएको देखाएको थियो। महिलाको शरीरमा बाहिर देखिने कुनै घाउ तथा चोट केही नभएको प्रहरीको भनाई छ।
प्रहरी निरीक्षक शाहीले भने, ‘हृदयाघातका कारण मृत्यु भएको रिपोर्ट आए पनि हामीले कलडिटेल, उक्त दिन उनी क–कसको सम्पर्कमा थिइन् लगायतका विषयमा थप अनुसन्धान गर्दैछौँ।’
साउन ७ गते घरबाट माइतीघर बैतडीको मेलौली–५ सेरी हिँडेकी उनको शव फेला परेको हो। उनी माइतीघर नपुग्दै बीच बाटोमै मृतावस्थामा फेला परेकी हुन्। मृतक महिलाको घरपरिवार तथा आफन्तले दाहसंस्कार गरिसकेका छन्। रासस
Shares

प्रतिक्रिया