स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई भोली र पर्सी (सोमबार र मंगलबार) दोस्रो मात्रा खोप दिने तयारी गरेको छ।
मन्त्रालयले कोभिशिल्डको पहिलो मात्रा लगाएका तोकिएको उमेर समूहका नागरिकलाई दोस्रो मात्रा अस्ट्राजेनेका खोप दिन लागेको हो।
जापानले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराएको ५ लाख डोज अस्ट्राजेनेका खोप शनिबार मात्रै काठमाडौं आइपुगेको थियो। जापान सरकारले नेपाललाई अनुदानमा १६ लाख डोज खोप दिने प्रतिवद्धता व्यक्त गरेको छ। त्यसमध्येको ५ लाख १३ हजार ४२० डोज खोप हिजो नेपाल आइपुगेको हो।
सोमवारदेखि हाल खोप उपलब्ध गराइरहेका खोप केन्द्रबाट कोभिशिल्ड लगाएका ६५ वर्षभन्दा माथिका नागरिकलाई दोस्रो मात्रा लगाउने निर्णय भएको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप केन्द्रका प्रमुख झलक शर्मा गौतमले जानकारी दिए।
सरकारले गतवर्ष फागुन २३ देखि चैत ३ गतेसमम ६५ वर्षमाथिका नागरिकलाई कोभिशिल्ड खोप दिएको थियो। अस्ट्राजेनेका र कोभिशिल्ड फरक ठाउँमा उत्पादन भएपनि दुवै खोप एकै प्रकृतिको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोभिशिल्ड पनि अस्ट्राजेनेकाकै सूत्रमा बनेको खोप भएको विज्ञहरुको भनाई छ। जापान सरकारले दिने भनेको खोपमध्ये आज (आइतबार) थप दुई लाख ८७ हजार डोज खोप नेपाल आइपुग्ने सरकारले जनाएको छ। बाँकी ८ लाख डोज खोप भने अर्को साता नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया