तालिबान लडाकुले अफगानिस्तानको मुख्य मानिएका शहरहरु कब्जा गर्न आक्रमण गरिरहेको समयमा त्यहाँको रक्षामन्त्री निवासमै आक्रमण भएको छ।
रक्षामन्त्री निवासमा सशस्त्र विद्रोहीले आक्रमण गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ। आक्रमणको समयमा रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी घरबाहिर भएकाले बच्न सफल भएको बताइएको छ।
बन्दुकधारीहरूले मङ्गलवार काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्रीको निवासमा कार बम हमला गरेका थिए।
साथसाथै उनीहरूले गोली पनि चलाएका थिए। रक्षामन्त्रीको परिवारका सदस्यहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको जनाइएको छ।
उक्त हमलामा संलग्न आक्रमणकारीहरू पनि सुरक्षाकर्मीद्वारा मारिएका छन्। यस्तै त्यहाँको राष्ट्रपति भवन नजिकै पनि विस्फोटन भएको बीबीसीले जनाएको छ।
रोयटर्सका अनुसार राष्ट्रपति भवन नजिकै कयौं दूतावास, सरकारी भवन तथा अन्तर्राष्ट्रिय संचारमाध्यमका कार्यालयहरु छन्। हालसम्म यो आक्रमणको जिम्मा कसैले नलिएको बताइएको छ।
मुख्य अफगान सहरहरूमा तालिबान विद्रोही र सरकारी फौजबीच लडाइँ जारी रहेको तथा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदले तत्कालै हिंसा अन्त्य गर्न आह्वान गरेका बेला उक्त आक्रमण भएको हो।
अमेरिकी विदेश मन्त्रालयले उक्त आक्रमण तालिबानले गराएको देखिने सबै लक्षणहरू भएको बताएको छ।
Shares

प्रतिक्रिया