समाज


३४ देशका सेनालाई उछिन्दै बेलायतमा नेपाली सेनाले जित्यो स्वर्णपदक

३४ देशका सेनालाई उछिन्दै बेलायतमा नेपाली सेनाले जित्यो स्वर्णपदक

नेपालखबर
असोज २९, २०७६ बुधबार ८:४५,

बेलायतमा भएको एक सैन्य अभ्यासमूलक प्रतियोगितामा नेपाली सेनाले स्वर्णपदक जितेको छ। संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा यही २४ गतेबाट सञ्चालन भएको ‘एक्सरसाइज क्याम्ब्रियन प्याट्रोल २०१९’मा नेपाली सेनाले यस्तो सफलता हात पारेको हो।

उक्त प्रतियोगितामा नेपाली सैनिक टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

nepali sena 13

उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाबाट प्रमुख सेनानी अशिमदेव गुरुङको नेतृत्वमा १० जनाको सैनिक टोली असोज ६ गते बेलायत प्रस्थान गरेको थियो। युद्धकालीन विशेष परिस्थितिको कल्पना गरी शत्रुपक्षको गतिविधिसमेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मूल्यांकन गरिन्छ।

अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीले दुई दिनभित्रमा हतियार तथा करीब ५० पाउण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्ने गर्छन्। सो क्रममा सहभागी टोलीको लडाइँको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानसम्मको यात्रा, खबर सङ्कलन, घाईते–बिरामीको व्यवस्थापन, विष्फोटक पदार्थ पत्ता लगाउने क्षमतालगायत रसायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कतासमेत विभिन्न दक्षताको परीक्षण गरिन्छ।

उक्त अभ्यासमा बेलायती फौजका १०६ र नेपालसमेत अन्य ३४ देशका गरी कूल १४० सैन्य टोलीको सहभागिता रहेको निर्देशनालयले जनाएको छ। नेपाली सेनाको प्रतिनिधित्व श्री विशेष फौज बाहिनी, श्री पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मका टोलीले गरेको थियो।

प्रतियोगितामा नेपाली सेनाको पेशागत प्रतियोगिताको मर्यादा क्रमको आधारमा गण तथा गुल्मका फौज र बाहिनीबाट छानिएका व्यक्ति सम्मिलित टिम सहभागी हुने गर्दछन्। सन् १९६० बाट वार्षिकरुपमा बेलायतमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको यस्तो अभ्यास प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ बाट भाग लिँदै आइरहेको छ।

nepali sena 14सबै तस्बिर: नेपाली सेना/फेसबुक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad