ad ad

समाज


यसरी टाँगिए रिठ्ठे भिरमा हजारौँ ऐना

यसरी टाँगिए रिठ्ठे भिरमा हजारौँ ऐना

जनार्दन पोखरेल
असार २३, २०७८ बुधबार १३:२७,

बिपी राजमार्गको घुमाउरो सडक। बनेपा-सिन्धुली-बर्दिबास सडकको नामलेसमेत चिनिने यो राजमार्ग भएर दैनिक हजारौँ सवारी साधन आवतजावत गर्ने गर्छन्। यो राजमार्ग सञ्चालनमा आएपछि पूर्वी तथा मध्य तराई र पहाडका जिल्लाका यात्रुलाई राजधानी काठमाडौं आवतजावतमा निकै सहज भएको छ। 

पहिलोपटक यात्रा गर्नेका लागि बिपी राजमार्गको आकर्षक सडकले निकै लोभ्याउँछ, कौतुहलतासमेत सिर्जना गर्छ। त्यो कौतुहलतालाई अझ बढवा गर्ने काम गरेको छ- रिठ्ठे भिरमा राखिएका हजारौँ ऐनाले। 

सुनकोसी गाउँपालिका-६ मा पर्ने रिठ्ठे भिरमा नागबेली हुँदै बिपी राजमार्ग निर्माण भएको छ। रिठ्ठे भिरबाट तल छ, मुल्कोट बजार। सुनकोसी किनारको मुल्कोट बजारबाटै झलल्ल देखिन्छन् रिठ्ठे भिरका ऐना।

रिठ्ठे भिरमा किन राखिए यतिधेरै ऐना? स्थानीयबासीसमेत रहेकी सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा १० वर्ष अघिको घटना सम्झिन्छिन्। उनी भन्छिन्, ‘त्यतिबेला बिपी राजमार्ग पूर्णरुपमा सञ्चालमा आएकै थिएन।  त्यहाँ धेरै सवारी साधन दुर्घटनामा परे। अब त्यस्ता दुर्घटना नहोस् भन्ने कामनासहित कुनै चालकले सुरुमा त्यहाँ रहेको सेती देवी मन्दिरमा एउटा ऐना चढाएछन्। त्यसपछि एक/दुई गर्दै हजारौँले ऐना चढाइसके। जुन क्रम अहिलेसम्म पनि जारी छ।’ 

बिपी राजमार्ग भर्खरै सञ्चालनमा आएको थियो। सडक पूर्णरुपमा कालोपत्रेसमेत भएको थिएन। २६ असोज ०६८ मा रिठ्ठे भिरमा ठूलो दुर्घटना भयो। दसैंका यात्रु चढेको बस रिठ्ठे भिरबाट सुनकोसी नदीमा खस्दा ४२ जनाले ज्यान गुमाए। कयौँ यात्रु अंगभंग भए। त्यसअघि २० वैशाख ०६८ मा पनि त्यहाँ भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो। त्यसयता पनि त्यहाँ साना ठूला दर्जनौँ दुर्घटना भइसकेका छन्।

सेतीदेवी मन्दिरका पुजारी निलप्रसाद आचार्य भन्छन्, ‘सुरुका भएका दुई ठूला दुर्घटनाले मान्छेलाई यो राजमार्ग भएर यात्रा गर्न निकै भय सिर्जना गर्यो। त्यसपछि दुर्घटना नहोस् भनेर हामीले सेतीदेवी मन्दिरमा पुराण लगायौँ। त्यही बेलादेखि यहाँ ऐना चढाउने क्रम सुरु भएको हो।’

सुरुमा मन्थली घर भएका एकजना सवारी चालकले रिठ्ठे भिरमा एउटा ऐना चढाएका थिए। त्यसपछि सवारी चालक र यात्रुले मन्दिरमा ऐना चढाउने क्रम सुरु भएको आचार्य बताउँछन्। अहिले रिठ्ठे भिरमा ऐनाको संख्या कति पुग्यो होला? पुजारी निलप्रसादले नेपालखबरसँग भने, ‘यकिन तथ्यांक त हामीले राखेका छैनौँ, तर अहिले यहाँ ऐनाको संख्या झण्डै एक लाख पुगिसक्यो होला। हेर्नुस् न, झण्डै दुई सय मिटर लामो सडकको भित्ताभरी ऐनैऐना छन्।’

रिठ्ठे भिरमा अवस्थित सेती देवी मन्दिर साँघुरो ठाउँमा छ। जहाँ राम्रोसँग सवारी पार्किङ गर्ने ठाउँकोसमेत अभाव छ। तर, यो बर्खामा पनि सवारी चालक त्यही साँघुरो ठाउँमा जोखिम मोल्दै सवारी साधन रोकेर मन्दिरको दर्शन गर्छन, भाकल अनुसार ऐना चढाउँछन्। चढाइएका धेरै ऐनामा चालकले आफ्नो गाडी नम्बर, नाम र ठेगानासमेत लेखेका छन्। कतिपय व्यापारीले आफ्नो कम्पनीको नाम लेखेरसमेत ऐना चढाएका छन्।

रिठ्ठे भिरमा ऐना चढाउन थालेपछि पनि यहाँ धेरैपटक सवारी दुर्घटना भइसकेका छन्, तर सवारी चालकले ऐना चढाउने क्रम भने रोकिएको छैन। सुनकोसी गाउँपालिकाकी अध्यक्ष दाहालले भनिन्, ‘यहाँ ऐना चढाए दुर्घटना हुँदैन भन्ने धार्मिक विश्वास चालक र यात्रुमा देखिन्छ। त्यसैले यहाँ अहिले पनि दैनिक सयौँले ऐना चढाइरहेका छन्। यो मानिसहरुको धार्मिक आस्थासँग जोडिएको विषय हो।’

आचार्य सेतीदेवी मन्दिरमा चार वर्षदेखि पुजारी छन्। दिनहुँ बिहानदेखि साँझसम्म मन्दिरमा बस्छन्। मन्दिरको दर्शन गर्न रोकिने सवारी चालक र यात्रुले दिने दक्षिणाले उनको घर व्यवहार मज्जाले चलेको छ। धेरैजसो मोटरसाइकल चालक यहाँ रोकिन्छन्। ‘त्यस्ता यात्रुबाट दैनिक पाँच सयदेखि दुई हजार रुपैयाँसम्म आम्दानी हुन्छ,’ आचार्यले भने, ‘त्यही दक्षिणाकै रकमले मन्दिरमा पुलपाती, अक्षता,धुपवत्तीको व्यवस्था गरेको छु, घर व्ययवहार पनि मज्जैले चलाइरहेको छु।’

अहिलेसम्म गाउँपालिकाले मन्दिरको आम्दानीलाई व्यवस्थित गर्ने सोच बनाएको छैन। ‘मन्दिरमा पुजारी छन्, मन्दिर व्यवस्थापन समिति पनि छ। त्यसको आम्दानी खर्चको हरहिसाव उहाँहरुले नै राख्नु भएको होला,’ अध्यक्ष दाहालले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .