समाज


जोरबिजोर प्रणाली हटाइए पनि सडकमा बढेन सवारी चाप

जोरबिजोर प्रणाली हटाइए पनि सडकमा बढेन सवारी चाप

नेपालखबर
असार २२, २०७८ मंगलबार १५:४३,

काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमबारभन्दा बढी चहलपहल देखिएको छैन। सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखि नै काठमाडौं उपत्यका बाहिर गएकाले धेरै सवारी आजदेखि नै सञ्चालन हुन नसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।

 हाल काठमाडौं उपत्यकाभित्र मात्र सवारी साधन चलाउन दिएर उपत्यका बाहिर जान दिने निर्णय नभएकाले चहलपहल बढ्न अझै केही दिन लाग्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए। गत वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघि दुई दिनसम्म उपत्यका बाहिर जानेका लागि समय दिइएकाले चालक, परिचालकलगायत धेरै मानिस स्थायी निवासतिर लागेका थिए। विसं २०७६ चैत ११ गतेदेखि कोरोनाबाट बच्न जारी गरिएको बन्दाबन्दीका क्रममा बाहिर जाने समय नदिँदा धेरै मानिस अलपत्र बनेका थिए। काठमाडौँ उपत्यकामा मजदूरलाई जीवन धान्न पनि धौधौ परेको थियो।
 
आन्तरिक उडान खुला भइसक्दा पनि काठमाडौँ उपत्यका बाहिर जाने लामो दूरीका सार्वजनिक यातायात नखोल्नु ठीक नभएको बताउँदै महासंघले आपत्ति जनाउँदै आएको छ। लामो दूरीका सवारी नखोल्दा यात्रु महँगो भाडा तिरेर नाका नाकासम्म ओहोरदोहोर गर्ने गरेका छन्। यसरी यात्रा गर्न बाध्य बनाउँदा कोरोना सङ्क्रमण अझ बढ्ने महासंघको ठम्याइ छ। 

सरकारले सार्वजनिक यातायातले मात्र कोरोना सार्छ भन्ने जस्तो व्यवहार गरेको अध्यक्ष कर्माचार्य बताउँछन्। 

सोमबार कोरोना संक्रमितको सङ्ख्या बढेकाले मानिसले डराएर सवारी साधन नचलाएको हुन सक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।  महाशाखाका प्रवक्ता सञ्जीव सर्वदास बिहान अनुगमन गर्दा निकै कम सार्वजनिक सवारी सञ्चालन भएको पाइएको बताउँछन्। 

सार्वजनिक यातायातका तुलनामा निजी सवारी अझै कम चलेका छन्। आज सञ्चालन भएका सवारी साधनको वास्तविक तथ्यांक भने बुधबार बिहान १० बजेपछि मात्र सार्वजनिक हुने महाशाखाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad