राजनीति


जसपा आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले इजलास बनाउने

जसपा आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले इजलास बनाउने

नेपालखबर
असार २२, २०७८ मंगलबार १५:३८,

जनता समाजवादी पार्टी, नेपाल आधिकारिक रुपमा विभाजन हुने भएको छ। मंगलबार निर्वाचन आयोगमा जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षबीच भएको छलफलमा जसपाको विभाजन सम्बन्धी प्रक्रियामा अगाडि बढ्न दुवै पक्ष सहमत भएका हुन्। 

जसपाको उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन अयोगमा निवेदन पेश गरेको थियो। सोही निवेदनको आधारमा निर्वाचन आयोगले दुवै पक्षलाई सहमती जुटाउनको लागि भन्दै छलफलमा राखेको थियो। 

तर जसपाको दुवै पक्ष पार्टी एक गराउनको निम्ति सहमत नभएपछि निर्वाचन आयोगको प्रक्रिया अनुरुप आ–आफ्नो बाटो लाग्न तयार भएका हुन्। छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपा विवादको समाधान सहमतिबाट हुन नसकेको बताए। 

अब नियमानुसार जसपा आधिकारिकताको विवाद टुंग्याउन निर्वाचन आयोगमा एउटा इजलास गठन हुने इजलासले सुनुवाईको प्रक्रिया अगाडि बढाएर विवादको निरुपण गर्ने उनले बताए। 

जसपा उपेन्द्र यादव पक्षका नेता महेन्द्र राय यादवले महन्थ ठाकुर पक्षीय नेताहरुले गल्ती गरेको र गल्ती सच्याएर आएमा एकता हुनसक्ने बताए।

पार्टीमा चैत्र ६ गते प्रधानमन्त्र केपी शर्मा ओलीको कदमलाई प्रतिगमन लेखिएको र पार्टीको उक्त डकुमेन्टलाई स्वीकार गर्नुपर्ने, राष्ट्रपतिलाई बुझाइएको ३२ जना सांसदको नाम फिर्ता गर्नुपर्ने, पाँचदलीय गठबन्धनमा सहभागी हुनुपर्ने र कार्यकारिणी समितिको बहुमतको निर्णय मानेमा एकता हुनसक्ने कुरा आफुहरुले छलफलका क्रममा राखेको उनले बताए। 

पार्टी एकता हुने कि नहुने भन्नेमा महन्थ ठाकुर पक्षको हात रहेको र पार्टीको आधिकारिकता भने निर्वाचन आयोगले आफूहरुलाई दिने नेता यादवले दाबी गरे। 

जसपा महन्थ ठाकुर पक्षका नेता अनिल कुमार झाले आफुहरुले कुनै पनि गल्ती र असंवैधानिक काम नगरेकाले क्षमा माग्नुपर्ने अथवा आत्मआलोचना गर्नु आवश्यक नरहेको बताए। 

उपेन्द्र यादवले पार्टी विभाजन चाहेको भन्दै अब पार्टी विभाजनकै दिशातर्फ आगाडि बढेको उनले बताए। 

आजको छलफलबाट दुवै पक्ष मिल्न सहमत नभएका कारण नियमानुसार अगाडि बढ्ने भन्ने निर्णय भएको पनि उनले जानकारी दिए। 

निर्वाचन आयोगमा भएको छलफलमा उपेन्द्र यादव पक्षबाट यादवसहित महेन्द्र राय, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी र मृगेन्द्र सिंह उपस्थित थिए भने महन्थ ठाकुर पक्षबाट ठाकुरसहित राजेन्द्र महतो, शरद सिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, केशव झा र सुरेन्द्र झा सहभागी थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad