चिनियाँ लङ मार्च टूएफ रकेटको टुप्पोमा रहेको सेन्झाउ–१२ नामको यात्रुवाहक यानमार्फत् उनीहरू अन्तरिक्षमा प्रस्थान गरेका हुन्।
अन्तरिक्षयात्रीहरु निह हाइसङ, लिउ बोमिङ र थङ होङ्बोले पृथ्वीबाट ३८० किलोमिटरमाथि रहेको तियन्गोङ स्पेस स्टेसनमा तीन महिना बिताउनेछन्।
पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि यात्री पठाएको भने यो पहिलो पटक हो।
बीबीसीका अनुसार यो कार्यलाई चीनको बढ्दो अन्तरिक्ष क्षमताको रूपमा हेरिएको छ।
गएको छ महिनामा चीनले चन्द्रमाबाट चट्टान र माटोको नमुना ल्याएको छ र मङ्गल ग्रहमा ६ पाङ्ग्रे यान उतारेको छ। यी दुवै काम जटिल र चुनौतीपूर्ण थियो।
हाल अन्तरिक्षयात्रीलाई स्पेस स्टेसनमा पठाउनुको उद्देश्य निर्माणाधीन अन्तरिक्ष स्टेसनलाई सक्रिय बनाउने रहेको छ। उनीहरुले त्यहाँ रहँदा अन्तरिक्ष केन्द्रमा निर्माण र मर्मतका साथै वैज्ञानिक अनुसन्धान गर्नेछन्।
यस अन्तरिक्ष केन्द्रको मुख्य खण्ड गत अप्रिल २९ मा अन्तरिक्षमा पठाइएको थियो भने गत महिना अन्तरिक्ष यात्रीका लागि आवश्यक इन्धन, खाद्यान्न र उपकरण बोकेको कार्गो रकेट पठाइएको थियो।
हालसम्म संयुक्तराज्य अमेरिका र रुसले अन्तरिक्षमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र बनाएका छन्।
यी केन्द्रमा अमेरिका र रुस समेत अन्य देशका अन्तरिक्ष यात्रीलाई अवसर दिइए पनि चीनलाई भने सुरक्षा खतरा भन्दै संयुक्तराज्य अमेरिकाले सहभागी गराइ रहेको छैन।
जसका कारण चीनले आफैंले अन्तरिक्ष केन्द्र बनाइरहेको हो।
प्रतिक्रिया