भारतको राजधानी नयाँ दिल्लीमा आयोजित इन्डिया एआई इम्प्याक्ट समिट २०२६ मा एउटा लज्जास्पद घटना भएको छ। नोएडास्थित गलगोटिया युनिभर्सिटीले चीनमा निर्मित व्यावसायिक रोबोटिक कुकुरलाई आफ्नै आविष्कार भनेर प्रदर्शनीमा राखेको खुलासा भएपछि उक्त संस्थालाई समिटबाटै निष्कासन गरिएको छ।
सामाजिक सञ्जालबाट खुलासा
युनिभर्सिटीकी सञ्चार विभागकी प्रोफेसर नेहा सिंहले सरकारी टेलिभिजन डीडी न्युजसँगको अन्तर्वार्तामा 'ओरायन' नामक रोबोटिक कुकुर आफ्नो विश्वविद्यालयको सेन्टर अफ एक्सीलेन्सले विकास गरेको दाबी गरेकी थिइन् तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तत्काल त्यो रोबोट चीनको युनिट्री रोबोटिक्स कम्पनीको युनिट्री गो-२ मोडेल भएको पहिचान गरे।
उक्त रोबोट अन्तर्राष्ट्रिय बजारमा करिब १ हजार ६०० देखि २ हजार ८०० अमेरिकी डलरमा सहजै पाइन्छ।
नयाँ तथ्य सार्वजनिक भएसँगै भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले गलगोटिया युनिभर्सिटीको स्टल तत्काल हटाउन आदेश दियो। विवाद बढ्दै गएपछि स्टलको बिजुली पनि काटियो। त्यहाँबाट विश्वविद्यालयका कर्मचारीहरूलाई समिट परिसर छाड्न निर्देशन दिइयो।
घटनाको बारेमा सूचना प्रविधि सचिव एस. कृष्णनले विश्व स्तरको आविष्कार प्रदर्शन गर्ने मञ्चमा यस्तो बौद्धिक चोरी र भ्रामक दाबी स्वीकार्य नहुने बताएका छन्।
ड्रोनमाथि पनि प्रश्न
आलोचना चर्किएपछि गलगोटिया युनिभर्सिटीले सार्वजनिक रूपमा माफी मागेको छ। युनिभर्सिटीका रजिस्ट्रार नितिनकुमार गौरले यो घटनालाई 'डेभलप' र 'डेभलपमेन्ट' शब्दबीचको अन्योल मात्र भएको बताउँदै रोबोट विद्यार्थीहरूलाई अनुसन्धानमा प्रेरित गर्न किनिएको स्पष्ट पारेका छन्। प्रोफेसर नेहा सिंह रोबटबारे कम जानकार भएको र उत्साहमा गलत जानकारी दिएको युनिभर्सिटीले दाबी गरेको छ।
रोबोटिक कुकुरको विवाद मात्रमा सीमित नरही, युनिभर्सिटीले पूर्णतः स्वदेशी भनेर प्रदर्शन गरेको सकर ड्रोनमा थि पनि प्रश्न उठेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त ड्रोन दक्षिण कोरियाली कम्पनी हेल्सेल ग्रुपको स्ट्राइकर भी-३ मोडेल भएको दाबी गरेका छन्, जसको मूल्य करिब ४० हजार भारतीय रुपैयाँ पर्छ।
राजनीतिक प्रतिक्रिया
भारतीय विपक्षी नेता राहुल गान्धीले यस घटनालाई 'अव्यवस्थित पीआर तमासा'को संज्ञा दिएका छन्। भारतको प्रतिभा र डेटाको सट्टा चिनियाँ उत्पादन प्रदर्शन हुनु लज्जास्पद भएको टिप्पणी गरेका छन्।
यो पनि: एआई उद्योगका लागि भारतले आकर्षित गर्यो नेपालको वार्षिक बजेटभन्दा १२ गुणा बढी रकम- हामी के गर्दैछौँ?
Shares

प्रतिक्रिया