नयाँ दिल्लीमा जारी इन्डिया एआई इम्प्याक्ट समिटले दक्षिण एसियाकै आर्थिक परिदृश्यमा नयाँ तरंग पैदा गरेको छ। समिटको तेस्रो दिनसम्म आइपुग्दा प्रमुख टेक कम्पनीहरूबाट १६७ अर्ब अमेरिकी डलरको लगानी प्रतिबद्धता आएको छ— यो रकम नेपालको वार्षिक बजेटभन्दा १२ गुणा बढी हो।
नेपाल सरकारले चालू अव, २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँ अर्थात् १३ अर्ब ५६ करोड ६१ लाख अमेरिकी डलरको बजेट ल्याएको थियो। यसको अर्थ, भारतले केवल एआई क्षेत्रका लागि आकर्षित गरेको यो रकमले नेपालजस्ता १२ वटा देशको वार्षिक अर्थतन्त्रलाई धान्न हैसियत राख्छ।
समिटमा भारतको अडानी समूहले सबैभन्दा ठूलो घोषणा गर्दै सन् २०३५ सम्ममा एआई डेटा सेन्टरहरूमा १०० अर्ब डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ। रकमको ठूलो हिस्सा प्रारम्भिक तत्कालै लगानी हुनेछ। परियोजना विकास गर्न अडानीले जग्गा खोजिरहेछ।
माइक्रोसफ्ट, अम्याजन, गुगलले अहिले घोषणा गरेको पैसा सन् २०२५ डिसेम्बरमा बाचा गरेअनुसारको रकम हो।
विश्व एआई राजनीतिको नयाँ अध्याय
समिटमा गुगलका सीईओ सुन्दर पिचाई पनि सहभागी छन्। भारतमा डेटा सेन्टर र एआई मोडलहरूका लागि गुगलले १५ अर्ब डलर लगानी गर्ने र सरकारी सेवाहरूमा एआई जोड्ने उनले प्रतिबद्धता जनाएका छन्। 'हामीले गर्ने यो लगानीले भारतलाई मात्र होइन, विश्वकै एआई समाधानमा नयाँ दिशा दिनेछ', उनले भने।
भारतीय कम्पनी योत्ताले एनभिडियाको अत्याधुनिक चिप्स र सुपर कम्प्युटरका लागि २ अर्ब डलर लगानी गर्दैछ।
एउटै समिटमा एकैपटक यति ठूलो एआई लगानी प्रतिबद्धता यसअघि कुनै एशियाली देशमा भएको थिएन।
यो समिट केवल लगानीको घोषणा मात्र होइन — विश्व एआई राजनीतिको नयाँ अध्याय सुरू गरेको भारतीय भारतीय मिडियाहरूको विश्लेषण छ।
सरकारले स्टार्टअपलाई सस्तो ग्राफिक्स प्रोसेर युनिट र स्थानीय डेटासेन्टरमा पहुँच दिने नीति लागू गर्दैछ— यो चीनको मोडलसँग मेल खाने तर अमेरिकाको 'निजी क्षेत्र नेतृत्व' मोडलभन्दा फरक रणनीति हो।
अनि नेपाललाई के फाइदा त?
अमेरिकाले एआईमा तीन ट्रिलियन अमेरिकी डलर र चीनले एक ट्रिलियनभन्दा बढी लगानी गरिसकेका छन्। भारत तेस्रो छ। नेपालको दक्षिणी छिमेकीको सबैभन्दा बलियो पक्ष भनेको दक्ष एआई जनशक्ति हो।
दक्षिणतिर भइरहेको एआई क्रान्ति नेपालका लागि ठूलो अवसर पनि हो। व्यवसायिक सेवा उपलब्ध गराउने विश्वव्यापी सञ्जाल भएको कम्पनी प्राइस वाटर हाउस कप्र्स (पीडब्लुसी) को प्रतिवेदनअनुसार भारतको अर्थव्यवस्थामा एआईले सन् २०३५ सम्ममा करिब ६ सय ७ अर्ब अमेरिकी डलर थप गर्न सक्छ। त्यसको छाहरीमा नेपालले कसरी लाभ लिनसक्छ?
नेपाल–भारत भाैगोलिक स्थिति र सम्बन्धका केही सवल पक्षहरु छन्। भारतका डेटा सेन्टरहरुका लागि नेपालले उर्जा निर्यात गरेर पैसा कमाउन सक्छ। एआई उद्योगमा नेपाली युवाले रोजगारीको अवसर पाउन सक्छन्। नेपालीले भारतीय एआई उद्योगमा काम गर्दा बहुभाषिक डेटा उत्पादन सम्भव हुन्छ।
Shares

प्रतिक्रिया