नेपाल विद्युत प्राधिकरणले प्रविधिको विकाससँगै प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी रुपमा अघि बढाउन ‘एई साथी’ एप ल्याउन लागेको छ।
प्राधिकरणले प्रविधिमैत्री, सरल, सक्षम र भविष्य उन्मुख बनाउने दीर्घकालीन रणनीति अनुसार ‘एनईए एई साथी’ एप प्रयोगमा ल्याउने तयारी गरेको हो। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिका रूपमा मात्र नभई संस्थागत साथीका रूपमा आत्मसाथ गर्ने नवीन अवधारणासहित ‘एनईए एई साथी’ एप प्रयोगमा ल्याउन लागेको प्राधिकरणले जानकारी दिएको छ।
यसका लागि आयोजना गरेको ‘ह्याकाथन इभेन्ट-२०८२’ मा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘एई साथी नाम आफैंमा एक आकर्षक र जनमैत्री अवधारणा हो। यसले प्रविधिलाई जटिल नभई आत्मीय, सहज र प्रयोगमैत्री रूपमा प्रस्तुत गर्ने लक्ष्य हामीले राखेका छौँ।’
संस्थाको ‘सहयोगी साथी’का रुपमा एई साथीले सेवाग्राही आवश्यक सेवामा सहयोग गर्ने उनले बताए। ‘एआईलाई जटिल र टाढाको प्रविधि होइन आवश्यक परेका बेला सम्झिने र सहयोग लिने साथी बनाउनुपर्छ भन्ने सोँचका साथ यो कार्यक्रम अघि बढाएका हौँ,’ शाक्यले भने।
एआईलाई संस्थागत रूपमा आत्मसाथ गर्ने उद्देश्यले सुरु गरिएको ‘ह्याकाथन’ मा संस्थाभित्रकै कर्मचारीबाट २७ वटा प्रस्तावका विषयमा प्रस्तुत भएको र ती प्रस्ताव ग्राहक सेवा सुधार, प्रशासनिक कार्यप्रवाह सरलीकरण, डेटा विश्लेषण, नीतिगत तथा कानुनी सहजीकरण लगायतका विषयमा केन्द्रित रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले दीर्घकालीन रणनीतिका साथ ‘एई साथी’ को अवधारणा विकास गरिएको जनाएको छ। ‘एई साथी’ प्रणालीलाई प्राधिकरणले प्रारम्भिक चरणमा ग्राहक सेवा र सूचना प्रवाहमा केन्द्रित गर्ने र विस्तारै प्राविधिक विश्लेषण, लोड व्यवस्थापन, पूर्वानुमान र डेटा-आधारित निर्णय प्रक्रियासम्म विस्तार गर्ने योजना बनाएको छ।
Shares

प्रतिक्रिया