ad ad

प्रविधि


दोस्तबाट यसरी दुस्मन बन्न पुगे इलोन मस्क र साम अल्टम्यान

दोस्तबाट यसरी दुस्मन बन्न पुगे इलोन मस्क र साम अल्टम्यान

नेपालखबर
फागुन २६, २०८० शनिबार २१:१२,

ओपन एआई सुरु भएको भोलिपल्ट डिसेम्बर २०१५ मा यसका संस्थापक साम अल्टम्यान भ्यानिटी फेयर म्यागजिनसँग वार्ताका लागि बसे। त्यतिबेला सो म्यागजिनले ओपनएआईलाई ‘डिस्टोपियन भविष्यबाट संसारलाई जोगाउने गैरनाफामूलक कम्पनी’ भनेको थियो।

अल्टम्यानले आर्टिफिसियल इन्टेलिजेन्सलाई सुरक्षित राख्ने र यो प्रविधि सबैलाई उपलब्ध गराउने विषयमा आफ्नो विचार व्यक्त गरेका थिए। साथै ओपन एआईका सहअध्यक्ष तथा टेस्लाका सीईओ इलोन मस्कसँगको सम्बन्धबारे पनि उनी बोलेका थिए।

‘म उनलाई साँच्चै विश्वास गर्छु। यो यसमा संलग्न सबैका लागि महत्वपूर्ण छ,’ उनले भनेका थिए।

करिब एक दशकपछि मस्क र अल्टम्यान सार्वजनिक रुपमै एकअर्कासँग झगडा गरिरहेका छन्। उनीहरूबीच कानुनी लडाइँ पनि तेर्सिएको छ। ओपनएआईको नाफामूलक कम्पनीमा रुपान्तरण र यसको मूल्य ८० अर्ब डलर पुग्नु हो नै उनीहरूको यो झगडाको बिउ हो।

अल्टम्यान र अन्य प्रमुख कर्मचारीले ओपनएआईको संस्थापनकालीन सम्झौता तोडेको भन्दै मस्कले गत साता क्यालिफोर्नियामा मुद्दा हालेका छन्।

‘अल्टम्यानले आफ्नो सुरुवाती मिसनबाट ओपनआइलाई भिन्न दिशामा लगे,’ मस्कले दायर गरेको मुद्दामा भनिएको छ।

यो मुद्दाले एआईको दुनियाँका सबैभन्दा परिचित नामलाई विश्वका सबैभन्दा धनीमध्येका एक नामसँग भिडन्त गराएको छ। साथै मस्क र अल्टम्यानबीच वर्षौंदेखि चलिरहेको कलहलाई चर्काएको छ। अनि ओपनएआईले खेपिरहेको मुद्दाको संख्या पनि बढेको छ।

ओपनएआईको प्रविधि सार्वजनिक गर्ने र मानवजातिको भलाइमा सहयोग गर्ने सुरुवाती सम्झौता भएको मस्कको भनाइ छ। तर, माइक्रोसफ्टबाट अर्बौं डलर लगानी लिएपछि यो कम्पनी नाफामूलक बन्न पुग्यो। त्यस्तै ओपनएआईले आंशिक रुपमा आर्टिफिसियल जेनरल इन्टेलिजेन्स– अर्थात्, बोलीचालीको भाषामा झण्डै मानिससरहको एआई क्षमता हासिल गरिसकेको र त्यो मानिसका लागि अस्तित्वको संकट रहेको मस्कको आरोप छ।

‘ओपनएआई इंक विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी माइक्रोसफ्टको सहयोगी बन्न पुृगेको छ,’ मुद्दामा भनिएको छ।

बुधबार ओपनएआईले मस्कका आरोपहरूको खण्डन गर्दै आफ्नो वेबसाइटमा एउटा लामो ब्लग पोस्ट गरेको छ। २०१८ मा कम्पनीको बोर्ड छाड्नुअघि मस्कले ओपनएआईलाई नाफामूलक कम्पनीमा रुपान्तरण गर्ने निर्णयलाई समर्थन गरेको र ओपनएआईलाई टेस्लासँग मर्ज गरी दुवैको सीईओ बन्न खोजेको अल्टम्यान लगायतको आरोप छ। गत वर्ष मात्र च्याट जीपीटीजस्तै आफ्नै जेनेरेटिभ एआई कम्पनी सुरु गरेका मस्क इर्ष्याले जलेको उनीहरूको भनाइ छ।

‘हामीले निकै प्रशंसा गर्ने व्यक्तिसँग यस्तो स्थिति आइपर्दा हामी निकै दुःखी छौँ। जसले हामीलाई उच्च लक्ष्य राख्न प्रेरित गरे, त्यसपछि हामीलाई तिमीहरू असफल हुन्छौ भने अनि प्रतिस्पर्धी कम्पनी खोले। त्यसपछि जब हामीले उनीबिनै प्रगति गर्न थाल्यौँ, तब हामीलाई मुद्दा हाले,’ सो ब्लगमा लेखिएको छ।

मस्कको साथमा आदानप्रदान गरिएका कयौँ इमेल पनि ओपनएआईले त्यसैसाथ प्रकाशित गरेको छ। जसमा कम्पनीका प्रमुख वैज्ञानिक इल्या सुट्सकेवरले ‘विज्ञान नबाँड्दा पनि हुन्छ’ भन्ने इमेलमा मस्कको उत्तर छः हो।

ओपनएआईले सो ब्लग प्रकाशित गरेपछि मस्कले एक्समा विभिन्न मिम राख्दै अल्टम्यान र सो कम्पनीको मजाक उडाएका छन्। 

कानुनका विज्ञहरू मस्कका आरोपहरूको वैधानिकता रहनेमा शंका व्यक्त गर्छन्। त्यस्तै एआई विज्ञहरूको भनाइमा आर्टिफिसियल जेनरल इन्टेलिजेन्सको विकास अझै टाढा छ।

साथै, सुरुवातमा कानुनी मूल्य रहनेगरी कुनै सम्झौता गरिएको प्रमाण पनि देखिएको छैन। बरु, मस्कको मुद्दामा छलफलका विवरणहरू छन्। 

दुस्मनी सुरु हुनुअघि अल्टम्यानका लागि मस्क गुरुजस्ता व्यक्ति थिए। उनीहरूबीच २०१० को दशकको सुरुतिर भेट भएको थियो। त्यतिबेला वाईकम्बिनेटर नामक कम्पनीबाट अल्टम्यान सिलिकन भ्यालीमा बलिया बन्दै गएका थिए। त्यहीबेला अल्टम्यान मस्कको स्पेसएक्स कम्पनी घुम्न गए। त्यो क्षणलाई उनले पटकपटक प्रेरणादायी घडीका रुपमा उल्लेख गरेका छन्।

अल्टम्यान र मस्कबीच २०१४ मा एआई र यसका खतराबारे इमेल आदान–प्रदान हुन थाल्यो। यदि मानवताकै विनाश गर्नसक्ने यो प्रविधिको विकास अवश्यंभावी हो भने त्यसलाई मार्गनिर्देशन आफैँले गर्नुपर्ने उनीहरूको भनाइ थियो। 

त्यसपछि उनीहरूले एआई वैज्ञानिक इल्या सुट्सकेवर र ग्रेग ब्रोकम्यानलाई आमन्त्रित गरेर कम्पनीको सहसंस्थापक बनाए। अल्टम्यानले १० करोडको लगानी जुटाउने योजना बनाएका थिए। तर मस्कले एक अर्ब लगानीको घोषणा गर्न लगाए। नउठेको रकम आफूले बेहोर्ने उनको भनाइ थियो। कम्पनीले मस्कबाट ४ करोड ५० लाख डलर लियो।

यसरी मित्रवत् रुपमा सुरु भएको यो सम्बन्ध चाँडै कम्पनीभित्र कसले ज्यादा प्रभाव जमाउने भन्ने संघर्षमा बदलियो। मस्क धीमा प्रगतिबाट अधीर हुँदै गए र कम्पनीलाई टेस्लामा मिसाउने प्रस्ताव गरे। 

२०१८ मा उनले कम्पनी छाडे।

त्यसयता दुवैले बेलाबेला एकअर्काको प्रशंसा गर्न थालेका थिए। तर, डेढ वर्षअघि ओपनएआईले च्याटजीपीटी सार्वजनिक गरेयता उनीहरूबीच आलोचना बढ्न थाल्यो। 

गत मार्चमा अल्टम्यानले मस्कलाई अशिष्ट भन्दै उनको कार्यशैली नक्कल नगर्ने बताए। मस्कले पनि च्याटजीपीटीको बारम्बार आलोचना गर्दै रहे। उनले ग्रोक नामक उस्तै च्याटबट पनि सार्वजनिक गरेका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .