अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सामाजिक सञ्जाल फेसबुकले लगाएको प्रतिबन्ध अहिलेसम्म हटेको छैन।
सन् २०२१ को जनवरीमा ६ मा अमेरिकी संसद्मा आक्रमण भएको पक्षमा बोलेसँगै फेसबुकले ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो। त्यसयता उनी फेसबुकमा निस्क्रिय छन्।
त्यसो त ट्वीटरले पनि ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो। अर्बपति इलोन मस्कले ट्वीटर खरिद गरेसँगै ट्रम्पमाथिको प्रतिबन्ध हटेको थियो। यद्यपि आफ्नै सामाजिक सञ्जाल ‘ट्रूथ’ अघि सारेका ट्रम्पले ट्वीटरमा प्रतिबन्ध हटे पनि अहिलेसम्म कुनै पनि पोस्ट भने गरेका छैनन्। ट्वीटरले गत नोभेम्बरमा ट्रम्पमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो।
ट्वीटरमा फर्किने वा नफर्किने भन्ने विषयमा सोधिएको प्रश्नमा ट्रम्पले ट्वीटरमा फर्किनुपर्ने कुनै कारण नरहेको उल्लेख गरेका थिए।
यस्तोमा ट्रम्प फेसबुकमा पनि फर्किने सम्भावना कम देखिएको छ। फेसबुकले भने ट्रम्पको प्रतिबन्ध फुकुवा गर्ने वा नगर्ने भन्ने विषयमा छलफल थालेको छ। फाइनान्सियल टाइम्सले आइतबार उल्लेख गरेअनुसार मेटा कम्पनी अहिले फेसबुक र इन्स्टाग्राममा ट्रम्पलाई लगाइएको प्रतिबन्धको विषयमा छलफल गरिरहेको छ।
यसअघि नै सामाजिक सञ्जाल कम्पनी मेटाले यस विषयमा जनवरी ७ सम्ममा निर्णय लिइने बताएको थियो। यद्यपि यो निर्णय जनवरीको अन्तिमसम्म आउन सक्ने समाचारमा उल्लेख गरिएको छ।
मेटाको यस विषयसँग जानकार स्रोतले दिएको जानकारीअनुसार मेटाले यस विषयमा थप तदारुकताका साथ काम गर्न एक समूह बनाएको छ। यो समूहमा कम्पनीका सार्वजनिक नीति र सञ्चार टोलीका कर्मचारी पनि रहनेछन्।
यस विषयमा मेटाले भने आधिकारिकरुपमा कुनै धारणा सार्वजनिक गरेको छैन।
प्रतिक्रिया