ad ad

कोशी


सप्तकोसी अपडेट :  विस्थापित १५ सय परिवारलाई राहतको सकस, केही स्थानीयले घरै छाड्न मानेनन्

सप्तकोसी अपडेट :  विस्थापित १५ सय परिवारलाई राहतको सकस, केही स्थानीयले घरै छाड्न मानेनन्

नेपालखबर
साउन १८, २०७९ बुधबार २२:४२, काठमाडौँ

सप्तकोसी नदीमा बुधबार बिहानैदेखि आएको बाढीका कारण विस्थापित भएका करिब १५ सय परिवारलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका तर्फबाट प्रवक्ता डा। डिजन भट्टराईद्वारा बुधबार साँझ जारी प्रेस विज्ञप्तिमा केही स्थानीयबासीले घर छाड्न नमानेका मानवीय क्षतिको खतरा बढेको बताइएको छ।

प्राधिकरणको विज्ञप्तिमा स्थानीय प्रशासनलाई उद्धृत गर्दै भनिएको छ, ‘बाढी प्रभावित क्षेत्रका केही स्थानीयले घर छाड्न नमानेकाले मानवीय क्षति हुनसक्ने भएकाले जिल्ला तथा स्थानीय प्रशासनले सबै नागरिकलाई सुरक्षित स्थलतर्फ जान अनुरोध गरेको छ।’

कोसी नदीको भंगालो उदयपुर जिल्लाको बेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै दक्षिण–पश्चिम क्षेत्रमा पस्दा नगरपालिकाका १, २, ३, ८ र ९ वडाका करिब १५ सय घरपरिवार प्रभावित भएको प्राधिकरणले बताएको छ।

बुधबार साँझसम्म कुनै मानवीय क्षति नभए पनि धान, मकैलगायतका खेतीबालीमा क्षति पुगेको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘बाढीबाट प्रभावित करिव एक हजार घरपरिवारको उद्धार गरी सुरक्षित स्थलमा सारिएको छ।’

बाढी प्रभावितहरुको आश्रयस्थलका लागि वेलका नगरपालिकाको वडा नं; ९ धौरीमा ५ सय घरपरिवारलाई राखिने भएको छ। त्यस्तै,  वडा नं ८ को एकता, चिलिया, दुर्गा मन्दिर टोलमा ५सय घरपरिवार, वडा नं ३ बुधबारे, जणना, शुक्रबारेमा ५ सय घरपरिवार राखिने भएको छ। वडा नं ३ बानडाँडा, रामनगर, नारायणपुरमा, शिवालयमन्दिर, लालभित्ती, भागलपुरमा ८ सय घरधुरीका लागि आश्रयस्थल बनाइने भएको छ।

आवश्यकता अनुसार वडा नं १ को पुरन्दह, वडा नं ८ को डुडखोला सामुदायिक भवन, वडा नं ९ र ३ को खसीबोका संकलन केन्द्र, खानेपानी, क्याम्पस, मचुवा बजार, आदिवासी–जनजाति भवन, वडा नं; १ गलफडिया आधारभूत मावि, वडा नं २ को रेडक्रस भवन र जनता माविलाई पनि सुरक्षित आश्रयस्थल बनाउने निर्णय गरिएको नगरपालिका स्रोतले बताएको छ।

विपद व्यवस्थापन प्राधिकरणले दिएको जानकारीअनुसार बुधबार बिहान ४ बजेदेखि सप्तकोशी नदीको एउटा भंगालो बेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै सिसौली टप्पु भएर चिलिया बस्तीतर्फ पस्न शुरु गरेको हो।

उद्धार गरिएका नागरिकहरुको आवश्यक व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी रहेको प्राधिकरणले बताएको छ। सरकारी तथा गैरसरकारी संस्था र व्यवसायीलाई समेत सहयोगका लागि आह्वान गरिएको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ।

प्राधिकरणको समन्वयमा बेलायत सरकार र केयर नेपालले विस्थापितहरुलाई खाद्यान्न खरिद गर्न ६ लाख रुपैयाँ तथा सरसफाइका सामान, स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ। साथै आधारभूत सेल्टरका सामग्रीहरुका लागि ११ लाख रुपैयाँ राष्ट्रिय कृषक समूह महासंघ मार्फत् उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको प्राधिकरणले जनाएको छ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की एवं भौतिक पूर्वाधार मन्त्री हिमाल कार्कीको नेतृत्वमा प्रभावित क्षेत्रहरुको अनुगमन गरिएको थियो।  

नगरपालिकामा बैठक, राहतमा एकद्वार नीति अपनाइने
बुधबार नै बेलका नगरपालिका प्रमुख अशोक कार्कीको संयोजकत्वमा तीनै तहका सरकारका प्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाहरुबीच बैठक बसेको थियो। बैठकले बेलका र बराहक्षेत्र नगरपालिकाका नगर–प्रमुखहरुको संयोजकत्वमा खोज,उद्राहत, पुनर्स्थापना तथा विपद् व्यवस्थापन समिति गठन गरेको छ। समितिमा नेपाल रेडक्रस सोसाइटी, वडाध्यक्ष लगायत आवश्यता अनुसार पदाधिकारी सहभागी हुने बताइएको छ।

बैठकले नदीले पुर्याएको तथा पुर्याउन सक्ने थप क्षति आधिकारिक सूचना सम्प्रेषण गर्न सूचना संयन्त्र  निर्माण गर्ने निर्णय पनि गरेको  प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी सप्तरी जिल्लामा पर्ने सप्तकोशी र कञ्चनरुप नगरपालिकाका बासिन्दालाई पनि सतर्क गराइएको प्राधिकरणले जनाएको छ।

स्थानीय जनप्रतिनिधिसहितको बैठकले राहत सामग्रीहरु एकद्वार प्रणालीबाट संकलन गरी एकद्वार प्रणालीबाटै वितरण गर्ने निर्णय गरेको छ। राहत वितरण गर्दा उदयपुर–सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वा उनीहरुले तोकेका अधिकृत, दुवै नगरपालिकाका नगर प्रमुखहरुको संयोजनमा वितरण गर्ने बैठकले निर्णय गरेको प्राधिकरणका प्रवक्ता डा। भट्टराईले बताए।

बुधबार नै नेपाल रेडक्रस सोसाइटीले १०० थान त्रिपाल, १ थान रबर बोट, ६ थान हेलमेट उपलब्ध गराएको छ भने खाद्यान्न खरिदमा ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको भट्टराईले जानकारी दिए।

बुधबार नै गृहमन्त्री बालकृष्ण खाणले बाढीबाट प्रभावित नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्। मन्त्री खाणले अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .